अमेरिकाले लगातार आफ्ना प्रतिबद्धता तोडेकाले सम्झौता संकटमा : इरान

काठमाडौं । इरानले अमेरिका लगातार आफ्ना प्रतिबद्धता उल्लंघन गरिरहेको आरोप लगाउँदै दुई देशबीचको सम्झौता संकटमा परेको जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी दबाबका कारण इरान स्ट्रेट अफ होर्मुजमा यातायात व्यवस्थासम्बन्धी विषयमा ओमानसँग सहमतिमा पुग्न नसकेको बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा बकाईले गत शनिबार इरान र ओमानका विदेशमन्त्रीबीच बैठक भएको जानकारी दिए ।

उनका अनुसार मस्कटमा भएको वार्तामा हर्मुजसँग सम्बन्धित विषय, विशेषगरी सम्झौतापत्रको धारा ५ मा केन्द्रित छलफल भएको थियो ।

बकाईले भने, ‘ओमानमाथि अमेरिकाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दिएको दबाबका कारण मस्कटमा अपेक्षित प्रगति हुन सकेन, जसप्रति हामी दुःखी छौं ।’

उनले अमेरिकाले सम्झौता ज्ञापनका १४ वटा धारालाई तोडमोड गरेर प्रस्तुत गरेको आरोप लगाउँदै भने, ‘अब यो दस्तावेज संकटको चरणमा प्रवेश गरिसकेकोमा कुनै शंका छैन । इरानले कहिल्यै आफ्ना प्रतिबद्धता उल्लंघन गर्ने पहल गरेको छैन। लगातार आफ्ना वाचा तोड्ने देश अमेरिका हो ।’

बकाईका अनुसार अमेरिका आफ्नो प्रतिबद्धता तोड्न यति हतारिएको थियो कि सम्झौता ज्ञापनको धारा ५ मा उल्लेख गरिएको एक महिनाको समयसीमा पनि पूरा हुन दिएन ।

उनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशकलाई इरानका आणविक केन्द्रहरूमा पहुँच दिन गरिएको अनुरोध पनि स्वीकार नगर्ने स्पष्ट पारे ।

Share News