काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनी-जोमसोम-कोरला सडकको पुनःनिर्माण तथा मर्मतका लागि ड्रोनमार्फत डिजेल ढुवानी गरिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार नेपाली सेनाको सहयोगमा म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ स्थित बैसरी (कुनौटो) बाट बेगखोलासम्म करिब ४०० लिटर डिजेल ड्रोनमार्फत पुर्याइएको हो ।
सडक अवरुद्ध भएपछि निर्माण तथा मर्मत कार्यमा प्रयोग हुने उपकरणका लागि इन्धन आपूर्तिमा समस्या देखिएको थियो ।
ड्रोनमार्फत इन्धन पुर्याएपछि महभीर, भीरकाटे र पोखरेबगर क्षेत्रमा सञ्चालित सडक निर्माण तथा मर्मतको कामलाई निरन्तरता दिन सहज भएको मन्त्री लम्सालले जानकारी दिए ।
बाढीबाट क्षतिग्रस्त सडक खण्डमा पुनःनिर्माण तथा मर्मतको काम जारी रहे पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी रहेको जनाइएको छ ।