काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधि श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टी सञ्चालन र नेतृत्वका लागि आफूलाई योग्य ठानेर सभापतिमा दाबी पेस गरेको जानकारी दिएका हुन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट ४० वर्षअघि आफ्नो राजनीतिक यात्रा सुरु गरेको उल्लेख गर्दै खड्गीले आफू अनवरत रूपमा पार्टीको निष्ठावान् कार्यकर्ताका रूपमा क्रियाशील रहेको दाबी गरे ।
उनले देशमा लोकतन्त्रको सुदृढीकरण, विधिको शासन स्थापना र पार्टीभित्र नयाँ सोच तथा ऊर्जा थप्नका लागि आफूले सभापति पदमा उम्मेदवारी दिने निर्णय लिएको बताएका छन् ।