काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु हुँदैछ । सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्दसत्रबाट पारित भएपछि मनोनयन दर्ताको प्रक्रिया अघि बढ्नेछ ।
मतदाता नामावली प्रकाशन, नामावलीउपर दाबी-विरोध, दाबी-विरोधउपर जाँचबुझ तथा अन्तिम मतदाता नामावली प्रकाशनको काम सोमबार नै सम्पन्न भएको थियो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ । अपरान्ह ४:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, ४:३० देखि साँझ ५:३० बजेसम्म उम्मेदवारीउपर दाबी-विरोध र बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन दिनभर प्रचारप्रसार गर्न पाइनेछ ।
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ ।
बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृह तथा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि प्रज्ञा भवनमा मतदानको व्यवस्था गरिएको छ । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चलाई मतदान स्थल तोकिएको छ ।
खुलामञ्चमै भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले पनि मतदान गर्नेछन् । मतदान सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग नगरिने कांग्रेसका एक पदाधिकारीले बताए ।
सोमबारको बन्दसत्रबाट पारित संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।
त्यस्तै, महामन्त्री तीन जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्री १५ जना रहनेछन् । कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट एक जना चयन हुनेछन् । प्रवक्ता र सहप्रवक्ता एक-एक जना रहने व्यवस्था गरिएको छ ।
केन्द्रीय सदस्यतर्फ खुला समूहबाट ४५ र महिला खुलाबाट १५ जना रहनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना चयन हुनेछन् । उपत्यकाबाट एक महिलासहित दुई जना रहने व्यवस्था गरिएको छ ।
दलिततर्फ पाँच महिलासहित १४, जनजातितर्फ आठ महिलासहित २० र खस आर्यतर्फ आठ महिलासहित १८ जना केन्द्रीय सदस्य रहनेछन् । मधेसीतर्फ पाँच महिलासहित १३, जनसम्पर्क समितिबाट दुई महिलासहित सात र पिछडिएको वर्गबाट तीन जना रहनेछन् ।
त्यस्तै, थारूतर्फ दुई महिलासहित छ, श्रमिकतर्फ एक महिलासहित तीन र पेशागत विज्ञतर्फ दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहने व्यवस्था छ ।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य रहनेछन् । अपाङ्गता भएका व्यक्तिबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना रहनेछन् ।
केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनीत गर्ने व्यवस्था पनि संशोधित विधानमा गरिएको छ ।