ट्यारिफको मार अमेरिकी उपभोक्तामा, उत्पादन सुस्त हुँदा अर्थतन्त्रमा खतरा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष राष्ट्रपति चुनावका क्रममा अमेरिकालाई महान बनाउने वाचा गरेका थिए । चुनाव जितेपछि उनले विश्वका अधिकांश देशमाथि उच्च ट्यारिफ (शुल्क) लगाइदिए । तर अब यसको असर अमेरिकामै परिरहेको देखिन्छ । नोभेम्बर महिनामा अमेरिकाको म्यान्युफ्याक्चरिङ क्षेत्र (सामान उत्पादन) सुस्त भयो । यो पछिल्ला चार महिनामध्ये सबैभन्दा कम हो । यसको मुख्य कारण बढ्दो ट्यारिफ हो, जसले वस्तुहरू महंगा बनायो र उपभोक्ताले खरीद कम गरे । यसले अमेरिकामा मन्दीजस्तै अवस्था निम्त्याएको छ ।  रोयटर्सका अनुसार यस अवस्थाकै कारण बजारमा नबिकेका वस्तुको थुप्रो लाग्दै गएको छ, जसले देशको समग्र आर्थिक वृद्धि सुस्त हुने डर बढाएको छ । एसएन्डपी ग्लोबलका अनुसार अमेरिकाको म्यान्युफ्याक्चरिङ पीएमआई (पर्चेजिङ मेनेजर्स इन्डेक्स) अक्टोबरमा ५२.५ बाट घटेर नोभेम्बरमा ५१.९ पुगेको छ । नयाँ अर्डरमा ठूलो गिरावट आएको छ भने तयार वस्तुको स्टक ऐतिहासिक स्तरमा पुगेको छ । एसएन्डपी ग्लोबल इन्टेलिजेन्सका क्रिस विलियमसनका अनुसार म्यान्युफ्याक्चररहरू नयाँ अर्डरको सुस्त वृद्धि र स्टक बढ्दो स्तरका कारण चिन्तामा छन् । उनले यदि माग फेरि बढेन भने उत्पादन झनै कमजोर हुनसक्ने चेतावनी दिए । रोयटर्सका अनुसार उपभोक्ताहरू अब लामो समय चल्ने म्यान्युफ्याक्चरिङ वस्तु किन्न हिच्किचाइरहेका छन् । युनिभर्सिटी अफ मिशिगनले गरेको सर्वेक्षणमा खरीद गर्ने क्षमतामा ठूलो गिरावट देखिएको छ । सर्भेले उपभोक्ताहरू महँंगो मूल्य र घट्दो आम्दानीबाट निरन्तर दबाबमा रहेको बतायो । ट्यारिफले आयात खर्च बढाएकाले न्यून र मध्यम आय भएका परिवारमाथि थप बोझ परिरहेको उल्लेख छ । हालै सेयर बजारमा आएको गिरावटले खर्चमा अगाडि रहने धनी अमेरिकीहरूको भरोसामा पनि धक्का पुगेको छ । अर्थशास्त्री सुंग वोन सोनका अनुसार कम आय वर्गले खर्च बढाउने सम्भावना छैन । साथै बजारको अनिश्चितताले धनी वर्गको खर्च पनि घटाउनेछ, विशेष गरी अवकाशप्राप्त नागरिकहरूको । फ्याक्ट्री क्षेत्र सुस्त भए पनि समग्र व्यवसायिक गतिविधि भने बलियो देखिएको छ । अमेरिकाको कम्पोजिट पीएमआई आउटपुट इन्डेक्स ५४.८ मा पुगेको छ, जसलाई सेवा क्षेत्रले मजबुत बनाएको हो । सेवा क्षेत्रको पीएमआई ५५.० मा पुगेको रोयटर्सले जनाएको छ ।

१ ट्रिलियनको नयाँ प्याकेज होइन, २०१८ को पे डिलले टेस्ला संकटमा

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कका लागि प्रस्ताव गरिएको १ ट्रिलियन डलरको कार्यकारी–क्षतिपूर्ति प्याकेजले एउटा अझै महत्त्वपूर्ण चिन्तालाई छायामा पारिदिएको छ । मस्कको २०१८ को पे प्याकेज जुन अहिले पनि अदालतमा अड्किएको छ, जसले विद्युतीय सवारीसाधन (ईभी) निर्माता टेस्लाको आगामी वर्षौंको नाफा खाइदिन सक्छ । डेलावेयर सुप्रीम कोर्टले चाँडै नै तल्लो अदालतको फैसला उल्ट्याउने वा नउल्ट्याउने निर्णय गर्नेछ, जसले मस्कको अघिल्लो चर्चित क्षतिपूर्ति प्याकेज रद्द गरेको थियो ।  अदालतको फैसला उल्टिएन भने मस्कलाई दिनुपर्ने सेयर बोनसको हिसाबले टेस्लाले दुई वर्षसम्म कमाएको नाफा करिब सकिन सक्छ । तुलनाका लागि २६ अर्ब डलर टेस्लाले २०१९ मा नाफामा आएकोदेखि अहिलेसम्म कमाएको कुल शुद्ध नाफाको आधाभन्दा धेरै बराबर छ । अदालतमा टेस्ला जिते पनि मस्कले ट्रिलियन–डलरको प्याकेजअन्तर्गत राखिएका प्रदर्शन लक्ष्यहरू पूरा गर्दै गएमा प्रत्येक लक्ष्य पूरा हुँदा अर्बौं डलरका भुक्तानी र लेखाखर्च हुने भएकाले टेस्लाको नाफामा एक दशकसम्म दबाब पर्न सक्छ । यो असामान्य नाफा–जोखिमले मस्कको ‘सुपर–साइज’  क्षतिपूर्तिका चुनौतीहरू देखाउँछ । विश्वका सबैभन्दा ठूला सार्वजनिक कम्पनीहरूमा पनि सीईओको पारिश्रमिकले कम्पनीको अन्तिम नाफामा यति ठूलो प्रभाव पार्नु दुर्लभ हो । ठूला प्याकेजहरू प्रायः सयौँ मिलियन डलरमा मापन हुन्छन्, अर्बौंमा होइन । मस्कको अत्यधिक ठूलो क्षतिपूर्तिले यस्तो समय टेस्लालाई थप अनिश्चित नाफा जोखिममा राखेको छ । कारबिक्रीमा गिरावट, विद्युतीय–सवारी अनुदान घट्नु, र रोबोट जस्ता उच्च–खर्चीलगानी परियोजनाको बढ्दो खर्चका कारण कम्पनीको आम्दानी घट्दो क्रममा छ । ‘स्टक क्षतिपूर्ति खर्चले नगद प्रवाहमा असर पार्दैन र चिन्तालाई ‘सिर्फ लेखाजोखा’   भनेर धेरै सेयरधनीले हेला गर्न सक्छन्,’  कोर्नेल यूनिभर्सिटीका ब्रायन डन भन्छन् । ‘तर सीईओ क्षतिपूर्तिका कारण नाफामा ठूलो गिरावट आउनु भनेको टेस्लाको बोर्डले ‘​​बौद्धिक र विश्वस्तकारी दायित्व’  पूरा नगरेको संकेत हो,’  उनी थप्छन् । ब्रायन डनका अनुसार उनीहरूले सेयरधनीबाट सबैभन्दा ठूलो सेयरधनी (मस्क) तर्फ विशाल सम्पत्ति ट्रान्सफर गरिरहेका छन् । टेस्लाको बोर्डले भने मस्कको नयाँ प्याकेजले उनलाई त्यतिखेरमात्र केही दिन्छ जब कम्पनीले ‘​​उच्चस्तरका लक्ष्य’  पूरा गर्छ, जसमा अत्यधिक नाफा लक्ष्य पनि छन् । ती उच्च नाफा लक्ष्य पूरा भएमा मस्कका पारिश्रमिक खर्चले नाफामा कम असर पार्ने बोर्डको तर्क छ । तर प्याकेजका सजिला लक्ष्यहरू पूरा हुँदा पनि टेस्लाको व्यवसाय परिवर्तन नगरी नै मस्कलाई दशौं अर्ब डलरका भुक्तानी आउने अवस्था बन्न सक्छ । अधिकतम भुक्तानीको मूल्य ८७८ अर्ब डलर हुन्छ किनकि १ ट्रिलियन डलर बराबर स्टकबाट प्याकेज स्वीकृत गर्नेबेला रहेको सेयरमूल्य घटाइन्छ । नजिकिँदै अदालतको ठूलो निर्णय सबैभन्दा तत्काल जोखिम २०१८ को क्षतिपूर्ति विवादसँग जोडिएको छ । गत वर्ष डेलावेयरको न्यायाधीशले प्याकेज रद्द गर्दै निर्णय गरे । अदालतका अनुसार मस्कको पारिश्रमिक सम्बन्धी वार्ता बोर्ड सदस्यहरूको अत्यधिक पारिश्रमिक र उनीहरूसँग मस्कको अत्यन्त नजिकको सम्बन्धका कारण निष्पक्ष थिएन । यदि सुप्रीम कोर्टले टेस्लाको पक्ष लिन्छ भने मस्कले २०१८ को प्याकेजका स्टक विकल्प जोगाइराख्न सक्छन् र कम्पनीलाई थप लेखाखर्च लाग्दैन । २०२२ सम्म लक्ष्य पूरा हुँदा ती विकल्पको मूल्य ५६ अर्ब डलर पुगेको थियो— आजको मूल्य ११६ अर्ब डलर छ । तर प्रारम्भिक फैसला कायम रहेमा प्रतिस्थापन प्याकेजअन्तर्गत मस्कले कम सेयर पाउनेछन् तर कम्पनीका लागि खर्च धेरै हुने— किनकि टेस्लाको सेयरमूल्य अहिले धेरै उच्च छ । नयाँ प्याकेजको मूल्यांकन अगस्तको मूल्य (जब बोर्डले स्वीकृत गर्‍यो) अनुसार २६ अर्ब हुन्छ। टेस्लाले यो खर्च २०२७ अगस्टसम्म लेखामा राखिसक्नुपर्ने हुन्छ, जब मस्कले ती सेयर पाउन योग्य हुन्छन् । २६ अर्ब डलरलाई ८ त्रैमासिकमा बाँड्दा प्रत्येकमा ३.२५ अर्ब डलर नाफा घट्नेछ— जुन २०१९ देखि पछिल्ला २५ त्रैमासिकमध्ये ४ बाहेक प्रत्येक त्रैमासिकको नाफाभन्दा बढी हो । कम्पनीले फाइलिङमा लेखेको छ— अपील असफल भएमा ‘हाम्रा व्यवसाय र प्रतिवेदित नाफामा गम्भीर प्रतिकूल असर’  पर्न सक्छ । बोर्डले २०१८ को प्याकेज प्रतिस्थापन नभए मस्क टेस्ला छाड्न सक्छन् भन्ने तर्क गरेको छ । टेस्लाले यसका लागि नगद तिर्नु पर्दैन, नयाँ सेयर जारी गर्न सक्छ । तर लेखा–नियमअनुसार कम्पनीले ती शेयर बजारमा बेच्न सक्ने भएकाले स्टक–क्षतिपूर्तिलाई खर्चका रूपमा देखाउनुपर्ने विशेषज्ञहरूको भनाइ छ । यस्ता सेयर जारी हुँदा कुल सेयर संख्या बढ्ने भएकाले अन्य सेयरधनीको मतदान शक्ति र स्वामित्व कमजोर हुन्छ— किनकि बढी हिस्सा सीईओतर्फ सर्छ । ‘निश्चित रूपमा तपाईं सेयरधनीलाई चोट पुर्‍याउँदै हुनुहुन्छ,’  ग्रिनबर्ग ग्लुसकरका कर्पोरेट वित्तकर विशेषज्ञले भने । एकै दिनमा ६ प्रतिशत ! क्रिप्टोकरेन्सी बजारमा वर्षकै सबैभन्दा ठूलो गिरावट दक्षिण अमेरिकामा वर्चस्व राख्दै चिनियाँ ईभी इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल

ट्रम्पले युक्रेनलाई दिए अमेरिकी शान्ति योजना स्वीकार गर्न अल्टिमेटम

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रतिक्रिया प्राप्त गर्न नोभेम्बर २७ को कडा समयसीमा तोकेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले देश अत्यन्त कठिन निर्णयको मोडमा पुगेको र ‘गरिमा गुमाउने वा प्रमुख साझेदार गुमाउने जोखिम’ जस्ता चुनौतीपूर्ण विकल्प सामना गर्नुपर्ने बताएको केही घण्टामै ट्रम्पको यस्तो कदम सार्वजनिक भएको हो । शुक्रबार फक्स न्युज रेडियोसँग दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले वार्तामा सार्थक प्रगति देखिए मात्र समयसीमा केही लचिलो हुन सक्ने सम्भावना रहेको बताए । ‘मेरो धेरैजसो विषयमा समयसीमा हुन्छ र यदि कामहरू सकारात्मक रूपमा अघि बढिरहेका छन् भने विस्तार गर्न सकिन्छ । तर नोभेम्बर २७ हामीलाई उपयुक्त समयजस्तै लागेको छ,’ ट्रम्पले भनेका छन् । ट्रम्पले प्रभावकारी रूपमा राष्ट्रपति जेलेन्स्कीलाई पाँच दिनभित्र निर्णय गर्न बाध्य पारिएको संकेत पनि गरे । उनका अनुसार, युक्रेनले आफ्नो गरिमा बचाउने कि प्रमुख सहयोगीको समर्थन गुमाउने भन्ने दुवै कठोर विकल्पबीच छ । साथै, उनले चेतावनी दिँदै युक्रेनले आफ्नो केही भूभाग तत्काल गुमाउने सम्भावना अझै कायम रहेको बताए । यसैबीच, अमेरिकी उपराष्ट्रपति जे. डी. भान्ससँगको फोन वार्तापछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत किएभ अमेरिकी तथा युरोपेली पक्षसँग राष्ट्रिय सुरक्षा सल्लाहकार तहमा सहकार्य गर्दै शान्तिको मार्ग खोज्न सहमत भएको जानकारी दिएका छन् । यसअघि टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले देश ‘सङ्कटको नयाँ चरण’ मा प्रवेश गरिरहेको उल्लेख गर्दै अत्यन्त कठिन विकल्पसहितको जटिल परिस्थितिको चेतावनी दिएका थिए । ‘युक्रेन अब अत्यन्तै चुनौतीपूर्ण निर्णयको घडीमा छ—या त गरिमा गुमाउने जोखिम, वा प्रमुख साझेदार गुमाउने भय । या त २८ बुँदे कठोर प्रस्ताव स्वीकार्ने, वा अर्को कठोर जाडो सहने,’ उनले भने । ओभल अफिसमा पत्रकारहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले शान्तिको यथार्थवादी बाटो पहिचान भइसकेको दाबी गर्दै यो योजना अघि बढ्न जेलेन्स्कीको स्वीकृति अनिवार्य हुने पुन: दोहोर्‍याए । सिएनएनद्वारा उद्धृत उनका कथन अनुसार, ‘हामीसँग शान्ति हासिल गर्ने बाटो छ भन्नेमा विश्वास छ, तर युक्रेनी पक्षले यसलाई अनुमोदन गर्नुपर्छ । उनीहरू नजिकै आइरहेका छन् जस्तो लाग्छ, तर म अहिले नै भविष्यवाणी गर्न चाहन्नँ ।’ ट्रम्पद्वारा पुनरावलोकन भई समर्थन प्राप्त २८–बुँदे शान्ति प्रस्ताव वासिङ्टनले गत तीन वर्षदेखि अवरुद्ध भइरहेको शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने उद्देश्यले अघि सारेको पछिल्लो पहल हो । यसअघि रुसले पूर्ण कब्जा नजमाएका क्षेत्रमा क्षेत्रीय छुट दिनुपर्ने जस्ता केही प्रस्ताव किएभले अस्वीकार गरिदिएको थियो । यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अमेरिकी योजनाबारे टिप्पणी गर्दै उक्त प्रस्ताव आफूले अलास्कामा ट्रम्पसँग भएको भेटमा छलफल गरेको पुरानो प्रारूपकै परिमार्जित संस्करण जस्तो देखिएको बताए । सुरक्षा परिषद्को बैठकमा उनले भने, ‘अमेरिकी पक्षले केही सम्झौतामा सहमत हुन आग्रह गरेको थियो ।’ पुटिनका अनुसार मस्कोले एन्कोरेजमा प्रस्तुत गरिएका पहलहरू स्वीकार गरेको थियो, तर किएभले प्रस्ताव अस्वीकार गरेपछि प्रक्रिया रोकिएको थियो । रुसी पक्षले अद्यावधिक २८–बुँदे प्रस्तावको पाठ प्राप्त गरेको र त्यसलाई ‘विस्तृत रूपमा’ अध्ययन गर्न बाँकी रहेको समेत पुटिनले बताए । ‘मलाई विश्वास छ, यसले अन्तिम शान्ति सम्झौताको आधार बन्न सक्छ’, पुटिनले भनेका छन् । रासस