धनको खेल : गुगल जोडीले एलिसनलाई चौंथो स्थानमा धकेले

काठमाडौं । विश्वका अर्बपतिहरूको सूचीमा यतिबेला तीव्र उतार–चढाव देखिँदैछ । गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिनको नेटवर्थमा आएको उल्लेख्य वृद्धिपछि ओरेकलका ल्यारी एलिसन शीर्ष ३ बाट बाहिरिएका छन्।  ब्लूमबर्ग बिलियनियर इन्डेक्सअनुसार एलिसनको नेटवर्थ घटेपछि उनी चौथो स्थानमा झर्नुपरेको हो, जबकि पेज र ब्रिन क्रमशः दोस्रो र तेस्रो स्थानमा उक्लिएका छन् । विश्वका शीर्ष १० धनीमध्ये दुई जनाको नेटवर्थमा गिरावट आएको हो जसमध्ये एलिसन र एनभीडीयाका संस्थापक जेनसन हुवाङ परेका छन् । एलिसनको नेटवर्थमा २.९२ अर्ब डलरको कमी आएको छ र उनी २५४ अर्ब डलरसहित धनीहरूको सूचीमा चौथो स्थानमा पुगेका छन् । अर्कोतर्फ ब्रिनको नेटवर्थ ३.९२ अर्ब डलरले बढेर २५८ अर्ब डलर पुगेको छ, जसले उनलाई तेस्रो स्थानमा पुर्‍यायाएको हो । यो वर्ष मात्रै ब्रिनको नेटवर्थमा ९९.३ अर्ब डलरको वृद्धि भएको छ । एलन मस्क हाल ४४२ अर्ब डलरका साथ सूचीमा पहिलो स्थानमा छन् भने ल्यारी पेज २७६ अर्ब डलरसहित दोस्रो स्थानमा । यो वर्ष पेजको सम्पत्ति सबैभन्दा धेरै १०८ अर्ब डलरले बढेको हो । अमेजनका संस्थापक जेफ बेजोस २५१ अर्ब डलरसहित पाँचौं; फेसबुकका मार्क जुकरबर्ग (२२५ अर्ब) छैटौं; फ्रान्सका बर्नार्ड अरनोल्ट (१९६ अर्ब) सातौं; स्टीभ बाल्मर (१६६ अर्ब) आठौं; माइकल डेल (१५५ अर्ब) नवौं र जेनसन ह्वाङ (१५५ अर्ब) दशौं स्थानमा छन् । अमेरिकी लगानीकर्ता वारेन बफेट (१५३ अर्ब) सूचीमा अहिले ११औं स्थानमा छन् । भारतका मुकेश अम्बानी (१०७ अर्ब) १८औं र गौतम अदानी (८६.५ अर्ब) २०औं स्थानमा परेका छन् । विश्वका अर्बपतिहरूको नेटवर्थ परिवर्तन भइरहनुका कैयौं कारण छन् । प्रमुख रूपमा कम्पनीका सेयर मूल्यमा उतार–चढाव, टेक सेक्टरको तीव्र मन्दी र वैश्विक आर्थिक वातावरणले सूचीको क्रम प्रभावित गर्छ । सेयर बजार घटेमा अर्बपतिहरूको नेटवर्थ तुरुन्तै संकुचित हुन्छ र उछाल आएमा उनीहरूको नेटवर्थ बढेर स्थानसमेत माथि चढ्छ । त्यस्तै, कम्पनीको कमाइ, त्रैमासिक रिपोर्ट, नयाँ प्रोजेक्ट वा इनोभेसन, तथा सरकारी नीति–निर्देश, ब्याजदर र डलरको मूल्य जस्ता कारकहरूले पनि उनीहरूको नेटवर्थमा प्रत्यक्ष असर पार्छ । धेरै अर्बपतिहरूको नेटवर्थ सेयरमा आधारित भएकाले बजारका साना–साना हलचलले पनि सूचीमा ठूलो फेरबदल देखिन्छ ।

हङकङको आवासीय कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु, सयौं बेपत्ता

काठमाडौं । हङकङको एक आवासीय कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तीमा ४४ जनाको ज्यान गएको छ भने करिब ३०० जना बेपत्ता भएका छन् । मर्मतसम्भारको काममा प्रयोग गरिएको असुरक्षित बाँसको स्काफोल्डिङ र फोम पदार्थका कारण झनै फैलिएको हुनसक्ने प्रहरीको भनाइ छ । बुधबार दिउँसो लागेको आगोको अत्यधिक तापक्रम र बाक्लो धुवाँका कारण वाङ फुक कोर्ट आवासीय परिसरको माथिल्ला तल्लामा फसेका मानिससम्म पुग्न दमकलकर्मीहरू रातभर संघर्षरत थिए । उत्तरी ताई पो जिल्लामा रहेको यो बाक्लो बसोबास भएको परिसरमा ८ वटा ब्लकमा २ हजार फ्ल्याट छन्, जहाँ ४ हजार ६०० भन्दा बढी मानिस बस्छन् । हङकङमा किफायती आवासको पुरानो समस्या चलिरहेको अवस्थामा यो गम्भीर दुर्घटना भएको हो । बिहीबार बिहानसम्म अधिकारीहरूले ४ वटा ब्लकमा आगो नियन्त्रणमा आएको बताएका छन् भने बाँकी ३ वटामा काम जारी छ । घटनास्थलका भिडियोहरूमा ३२ तले दुईवटा टावरमा बाँसको स्काफोल्डिङ र हरियो जालीले ढाकिएको ठाउँबाट अझै आगोका ज्वाला निस्किरहेको देखिन्थ्यो र बाक्लो धुवाँ आकाशमा उडिरहेको थियो । प्रहरीको भनाइ अनुसार सुरक्षामापदण्ड नपुगेका प्लास्टिक र मेस सिटले भवन ढाकिएको थियो । साथै मर्मत कार्य गरिरहेको निर्माण कम्पनीले एउटा ब्लकका केही झ्यालहरू फोम पदार्थले बन्द गरेको पाइयो । ‘हामीसँग यो दुर्घटना निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरूको गम्भीर लापरबाहीका कारण भएको भन्ने ठोस कारण छ, जसले आगो नियन्त्रण बाहिर फैलियो र विशाल जनहानि भयो,’ हङकङ प्रहरीकी सुपरिन्टेन्डेन्ट आइलीन चुंगले भनिन् । निर्माण कम्पनीका दुई निर्देशक र एक इन्जिनियरिङ सल्लाहकारलाई आगलागीसम्बन्धी ‘हत्या जस्तै अपराध’ को आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँसको स्काफोल्डिङ र हरियो कन्स्ट्रक्सन मेस परम्परागत चिनियाँ निर्माणमा प्रचलित भए पनि सुरक्षा कारण हङकङमा यसलाई यो वर्ष मार्चदेखि क्रमशः हटाइँदै आएको छ । प्रहरीका अनुसार मृतकमध्ये एक दमकलकर्मी पनि छन् । ४५ जना अस्पतालमा गम्भीर अवस्थामा छन् । हङकङका प्रमुख कार्यकारी जोन लीले भने, ‘पहिलो प्राथमिकता आगो निभाउने र फसेका बासिन्दालाई बचाउने हो । दोस्रो– घाइतेको उपचार । तेस्रो– प्रभावित परिवारलाई सहयोग । त्यसपछि पूर्ण छानबिन सुरु हुनेछ।’ करिब २७९ जना बेपत्ता छन् र ९०० जना आठवटा अस्थायी आश्रयमा बसेका छन् । यो मृत्यु संख्या १९४८ पछि हङकङमा आगलागीबाट भएको सबैभन्दा ठूलो जनहानि हो, जब एक गोदाममा आगलागी हुँदा १७६ जनाको मृत्यु भएको थियो । यो आगलागीलाई २०१७ मा लन्डनको ग्रेनफेल टावरको आगलागीसँग तुलना गरिएको छ, जहाँ ७२ जनाको मृत्यु भएको थियो । त्यो दुर्घटना भवनमा ज्वलनशील बाहिरी प्यानल प्रयोग गरिएको कारण भएको ठहर गरिएको थियो । ग्रेनफेल युनाइटेड समूहले लेखेको छ— ‘हङकङका पीडित सबैप्रति हाम्रो हार्दिक संवेदना । तपाईंहरू एक्लो हुनुहुन्न ।’ धेरै बासिन्दाहरूले सोशल मिडियामा लापरबाही र लागत कटौतीका कारण आगो लागेको दाबी गरेका छन् । एक भिडियोमा मर्मत कार्य गर्दै रहेका मजदूरहरू स्काफोल्डिङमाथि चुरोट सेवन गरिरहेको देखिन्थ्यो । चीनका राष्ट्रपति सी जिनपिङले मुख्यभूमिबाट ‘पूर्ण प्रयास गरेर आगो निभाउन र मानवीय क्षति कम गर्न’ निर्देशन दिएको चिनियाँ राज्य प्रसारक सिसिटिभीले जनाएको छ । हङकङको यातायात विभागले बिहीबार बिहान क्षेत्रका केही सडक बन्द हुने र ३९ वटा बस रुटहरू परिवर्तन गरिएको बतायो । कम्तीमा ६ विद्यालय बिहीबारका लागि बन्द गरिएको छ । बुधबार आगो लागिरहेका ब्लकहरूबाट स्काफोल्डिङका फ्रेम तल खसिरहेका देखिन्थे, र सयौं दमकल र एम्बुलेन्सहरू परिसर बाहिर लाइन लागेका थिए । हङकङ सरकारले २०१९–२०२४ बीच बाँस स्काफोल्डिङसँग सम्बन्धित २२ जनाको मृत्यु भएको कारण मार्चदेखि क्रमिक रूपमा बाँस स्काफोल्डिङ हटाउने घोषणा गरेको थियो । भविष्यमा ५० प्रतिशत सार्वजनिक निर्माणकाममा धातुको फ्रेम अनिवार्य गरिएको छ । यद्यपि बाँस स्काफोल्डिङ हटाउने निर्णय आगलागी जोखिमका कारण नभए पनि यस वर्ष कम्तीमा ३ वटा आगलागी बाँस स्काफोल्डिङसम्बन्धी भएको, औद्योगिक दुर्घटना पीडित अधिकार समूहले जनाएको छ । हङकङको अत्यधिक मूल्यवान आवास प्रणाली धेरै वर्षदेखि सामाजिक असन्तुष्टिको मुख्य कारण बनेको छ । यो दुर्घटनाले आगामी डिसेम्बरमा हुने विधान परिषद् चुनावअघि जनआक्रोश झनै बढाउन सक्छ । वाङ फुक कोर्ट हङकङका धेरै उच्चतले सरकारी आवासहरूमध्ये एक हो । ताई पो ३ लाख मानिस बसोबास गर्ने घना क्षेत्र हो । १९८३ देखि आबाद यो परिसर सरकारी अनुदानमा चलने घरस्वामित्व योजनाअन्तर्गत पर्ने बताइन्छ । अनलाइन विवरणअनुसार कम्प्लेक्समा ३३० करोड हङकङ डलर (४२.४३ मिलियन डलर) को लागतमा एक वर्षदेखि मर्मत भइरहेको थियो, जहाँ प्रत्येक युनिटले १.६ देखि १.८ लाख हङकङ डलर तिरेका छन् । (सीएनबीसीबाट अनूदित तथा सम्पादित)

ग्रीसले जनसङ्ख्या मुद्दाका लागि करिब २ अर्ब डलर खर्च गर्ने

काठमाडौं । एथेन्सले सन् २०२६ मा  जनसांख्यिकीय मुद्दाहरूको लागि १.७६ अर्ब युरो (२ अर्ब डलर) विनियोजन गर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् । प्रतिहजार बासिन्दामा जन्मदरको आधारमा गणना गरिएको ग्रीस युरोपेली सङ्घको सबैभन्दा कम जन्मदर भएको राष्ट्रमध्ये एक हो । प्रति हजार स्पेनको ६.९ र इटाली ६.७ जनाभन्दा सामान्य बढी ग्रीसको जन्मदर ७.३ जना रहेको छ।  दक्षिणपन्थी दैनिक इलेफ्थेरोस टाइपोसले आयोजना गरेको एक गोष्ठीमा बोल्दै मित्सोटाकिसले परिवारको सुरक्षाको महत्त्वमा जोड दिँदै र बालबालिका भएका परिवारलाई फाइदा पुर्याउने सरकारले गरेको कर सुधारको बारेमा प्रकाश पारे । ‘हाम्रो देशमा पहिलो पटक, हामीसँग जनसाङ्ख्यिकीय मुद्दाहरूमा एक विस्तृत रणनीति छ । जति धेरै बच्चाहरू जन्मायो करहरूमा त्यति नै धेरै छुट दिइने छ,’ उनले भने । प्रधानमन्त्रीले मित्सोटाकिसले भने, ‘अन्य कारणहरू औंल्याउँदै यदि हामी तिनीहरूलाई समाधान गर्न चाहन्छौं भने हामीले अझ गहिरो विश्लेषण गर्न आवश्यक छ। जनसाङ्ख्यिकीय मुद्दाहरू केवल आर्थिक रूपमा मात्र होइनन् ।’ श्रम बजार र जनसाङ्ख्यिकीय मुद्दाहरूलाई सम्बोधन गर्न आप्रवासी र शरणार्थीहरूलाई प्रयोग गर्ने बारेमा सोधिएको प्रश्नमा, मित्सोटाकिसले आफ्नो सरकारको ‘कठोर’ आप्रवासन नीतिको बचाउ गरे । ‘हाम्रो देशमा गैरकानुनी रूपमा प्रवेश गर्नबाट कसैलाई रोक्नका लागि हामी आफ्नो शक्तिले भ्याएसम्म सबै गर्नेछौँ । ग्रीसलाई नियमित रूपमा आउने आप्रवासीहरूबाट डराउनु पर्दैन, देश रोजगारीको आवश्यकतालाई सम्बोधन गर्न र नियमित आप्रवासीलाई ग्रीक समाजमा एकीकृत गर्न सक्षम छ,’ उनले भने ।  ग्रीसमा हालसालै सीमित सङ्ख्यामा सुडानी शरणार्थीहरू आएका छन् जो कृषिमा काम गर्न तयार छन् ।