यहूदी-विरोधी आतंकको कहर : बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब
काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको आक्रमणपछि इजरायल र अरब देशहरूबाट कडा प्रतिक्रिया आएको छ । यो आक्रमण यहूदी समुदायको एक कार्यक्रमको दौरान भएको थियो, जसमा १५ जनाको मृत्यु भएको छ । अष्ट्रेलियाली प्रहरीले यसलाई यहूदी समुदायलाई लक्षित गरेर गरिएको ‘आतंकवादी हमला’ भनेको छ । न्यू साउथ वेल्सका प्रहरी कमिसनर मेल ल्यान्यानले बताएअनुसार दुबै बन्दुकधारी ५० वर्षीय बुवा र उनका २४ वर्षीय छोरा थिए । स्थानीय मिडियामा उनीहरूको नाम साजिद र नवीद अकरम भनिएको छ । इजरायली अखबार ‘हारेट्स’ का अनुसार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस आक्रमणलाई लिएर अष्ट्रेलियाका नीतिहरूले ‘यहूदी–विरोधी आगोमा घ्यू हाल्ने’ काम गरिरहेको आरोप लगाएका छन् । नेतन्याहूले भनेका छन्, ‘यहूदी–विरोध एक क्यान्सर हो, जुन फैलिन्छ जब नेताहरू मौन बस्छन् ।’ ‘केही महिना अघि मैले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई पत्र लेखेको थिएँ । मैले उनलाई लेखेको थिएँ कि तपाईंको नीति यहूदी–विरोधी आगोमा घ्यू हाल्छ, जसले तपाईंको सडकमा यहूदीहरू प्रतिको घृणा बढाउँछ,’ उनले थपे । यहूदी–विरोधीहरू विरुद्ध कमजोर दृष्टिकोणको सट्टा उनीहरूलाई कडाइका साथ सम्हाल्नुपर्ने उनको भनाइ छ । त्यसैगरी, इजरायलका राष्ट्रपति इसाक हरजोगले यस आक्रमणलाई ‘क्रूर’ भनेका छन् । उनले भनेका छन्, ‘हामीले बारम्बार अष्ट्रेलियाली सरकारलाई कारवाही गर्न र अष्ट्रेलियाली समाजमा फैलिएको यहूदी(विरोधी भावनासँग लड्न आग्रह गरेका छौं ।’ इजरायली मिडियाले बोन्डी बीच आक्रमणलाई व्यापक रूपमा रिपोर्ट गरेको छ र अष्ट्रेलियाको कडा आलोचना गरेको छ । इजरायली मिडियाले के भने ? ‘द यरूशलम पोस्ट’ र ‘हारेट्स’ जस्ता इजरायली अखबारहरूले यहूदी समुदायमा भएको आक्रमणको विषयमा अष्ट्रेलियाको आलोचना गरेका छन् । ‘द यरूशलम पोस्ट’ले सोमबार आफ्नो सम्पादकीयमा यो लेखेको छ, शीर्षक ः ‘बोन्डी आक्रमणले बढ्दो यहूदी–विरोधको सामना गर्न अष्ट्रेलियाको असफलता देखाउँछ ।’ अखबारले लेखेको छ, ‘बोन्डी बीचमा हनुक्का फेस्टिभलको दौरान भएको भयानक आतंकवादी आक्रमणले यो भ्रम हटाउनु पर्छ कि अष्ट्रेलिया लोकतान्त्रिक विश्वमा फैलिरहेको हिंसात्मक भावनाबाट अछुतो छ ।’ ‘यो अचानक घटेको घटना वा आन्तरिक ‘यहूदी मुद्दा’ थिएन । यो सार्वजनिक सुरक्षा र सामाजिक एकतालाई लक्षित गरेको हमला हो । जब यहूदीहरूलाई सार्वजनिक स्थलमा आफ्नो धार्मिक उत्सव मनाउन निशाना बनाइन्छ, समस्या विदेश नीति होइन । समस्या हो देशको आफ्नै आधारभूत जिम्मेवारी पूरा नगर्नू,’ अखबारले थपेको छ । अखबारका अनुसार गत एक वर्षमा अष्ट्रेलियामा १ हजार ६०० भन्दा बढी यहूदी–विरोधी घटनाहरू दर्ता भएका थिए, जसमा दर्जनौं आक्रमण र तोडफोड र सयौं अन्य अपमानजनक वा धम्कीपूर्ण घटना समावेश छन् । साथै, ‘द यरूशलम पोस्ट’ले बोन्डी बीच आक्रमणसँग सम्बन्धित सामाजिक सञ्जालमा फैलिरहेको ‘गलत जानकारी’ को विषयमा अर्को रिपोर्ट पनि प्रकाशित गरेको छ । ‘हारेट्स’ले ‘अष्ट्रेलियामा यहूदीहरूविरुद्ध पहिलो घातक हमला दुई वर्षको अभूतपूर्व यहूदी–विरोध पछि’ शीर्षकमा रिपोर्ट प्रकाशित गरेको छ । अखबारले लेखेको छ, ‘बोन्डी बीच हमला त्यस ठूलो रिपोर्ट आएको एक हप्ता पछि भएको हो, जसमा इजरायलमा ७ अक्टोबरको हमलापछि दुई वर्षमा अष्ट्रेलियामा यहूदी–विरोधी घटनाहरू बढेको तथ्य उल्लेख गरिएको थियो ।’ अरब–मुस्लिम देशहरूमा प्रतिक्रिया साउदी अरबले बोन्डी बीचमा भएको ‘आतंकवादी हमला’को कडा निन्दा गरेको छ । यस आक्रमणमा प्रतिक्रिया दिँदै साउदी विदेश मन्त्रालयले आइतबार बयान जारी गरेको छ । साउदी अरबले आफ्नो बयानमा हिंसा, आतंकवाद र अतिवादको कडा विरोध गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश मन्त्रालयले बोन्डी बीच आक्रमणको कडा निन्दा गर्दै भनेका छन्, ‘हिंसा र आतंकवादका सबै रूपहरूलाई हामी अस्वीकार गर्छौं ।’ मुस्लिम वल्र्ड लीगले पनि सिड्नीमा भएको यस आक्रमणको निन्दा गरेको छ । इस्लामी संगठनले आफ्नो महासचिव मोहम्मद बिन अब्दुलकरीम अल–ईशाको हवाला दिँदै मुस्लिमहरू आतंकवाद र हिंसाका सबै रूपहरू अस्वीकार गर्ने बताएको छ । जोर्डनले अष्ट्रेलियालाई ‘मैत्रीपूर्ण देश’ भन्दै बोन्डी बीच आक्रमणको निन्दा गरेको छ । जोर्डनको विदेश मन्त्रालयका प्रवक्ता फुआद अल–मजालीले हिंसा र आतंकवादका सबै कृत्यहरू अस्वीकार रहेको बताएका छन् । कतारको विदेश मन्त्रालयले आक्रमणको निन्दा गरेको छ र प्रभावित परिवारप्रति संवेदना व्यक्त गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बोन्डी बीच आक्रमणको निन्दा गर्दै भनेको छ, ‘आतंकवादी हिंसा र सामूहिक हत्या अस्वीकार्य छन्, चाहे यो जहाँसुकै भए पनि । यी गैरकानुनी र अपराधजन्य कृत्य हुन् ।’ अरब र मुस्लिम देशहरूको मिडियामा फरक–फरक रिपोर्टिङ देखिएको छ । यूएईका ‘खलीज टाइम्स’, ‘गल्फ न्यूज’ र साउदी अरबको ‘साउदी गजट’ जस्ता अखबारहरूले बोन्डी बीच घटनाको सामान्य रिपोर्ट गरेका छन् । साउदी अरबको ‘अरब न्यूज’ले पनि बोन्डी बीच आक्रमणको रिपोर्ट प्रकाशित गरेको छ । अखबारले लेखेको छ, ‘आधिकारिक तथ्याङ्कअनुसार साउदी अरबमा २८ मिलियन मानिस बस्छन्, जसमा १ लाख १७ हजार यहूदी छन् । सरकारले जुलाईमा विशेष दूत जिलियन सेगलमार्फत् जानकारी दिँदै ७ अक्टोबर २०२३ मा इजरायलमाथि हमासको हमला भएपछिका दिनहरूमा अष्ट्रेलियामा यहूदीहरूविरुद्ध आक्रमण, तोडफोड र धम्की दिने घटनाहरू तीन गुणासम्म बढेको बताएको थियो ।’ ‘गत वर्ष सिड्नी र मेलबर्नमा यहूदीहरूविरुद्ध भएका आक्रमणले देशलाई हल्लायो । यी सहरमा अष्ट्रेलियाका ८५ प्रतिशत यहूदी बस्छन्,’ अखबारले लेखेको छ । ‘अरब न्यूज’ले लेखेको छ, ‘अगस्टमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजले तीमध्ये दुई आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराए र कूटनीतिक सम्बन्ध तोडिदिए ।’ कतारको ‘अल जजिरा’ले पनि बोन्डी बीच आक्रमणको रिपोर्ट प्रकाशित गरेको छ । अखबारले अर्को रिपोर्टमा यस आक्रमणमा धेरै देशहरूको प्रतिक्रिया पनि समावेश गरेको छ । (बीबीसीबाट अनूदित तथा सम्पादित)
हलिउड निर्देशक रब राइनर र उनकी पत्नी मिशेल मृत फेला
काठमाडौं । हलिउडका प्रख्यात फिल्म निर्माता, निर्देशक र अभिनेता रब राइनर र उनकी पत्नी मिशेल आफ्नै लस एन्जेलिसस्थित घरमा मृत फेला परेका छन् । यो सम्भावित हत्या भएको आशंकमा घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ । लस एन्जेलिसको प्रतिष्ठित ब्रेन्टवुड क्षेत्रमा रहेको उनीहरूको घर थियो । प्रहरीका अनुसार घरभित्र ७८ वर्षका पुरुष र ६८ वर्षकी महिला मृत फेला परे । दुवैलाई त्यही स्थानमा मृत घोषणा गरिएको थियो । अधिकारिहरूले हालसम्म मृतकहरूको औपचारिक पहिचान वा उनीहरूको मृत्युका परिस्थितिबारे कुनै जानकारी सार्वजनिक गरेका छैनन्। रब राइनर ‘द प्रिन्सेस ब्राइड’, ‘दिस इज स्पाइनल ट्याप’, ‘ह्वेन ह्यारी मेट सेली’ र ‘अ फ्यू गुड म्यान’, ‘स्ट्यान्ड बाई मी’, ‘मिसरी’ जस्ता चर्चित फिल्महरूको निर्देशनका लागि परिचित छन् । दिस इज स्पाइनल ट्यापमार्फत उनले निर्देशकको रूपमा डेब्यू गरेका थिए ।
सुन र चाँदी झैं चम्किँदै तामा, मूल्य नयाँ शिखरमा
काठमाडौं । यस वर्ष तामाको मूल्य तीव्र गतिमा वृद्धि भएको छ । आपूर्ति अवरोध र अमेरिकी भन्सार शुल्क (ट्यारिफ) सम्बन्धी चिन्ताले माग बढाउँदा तामाले धेरैपटक नयाँ कीर्तिमान बनाइसकेको छ । यो उछाल २०२६ सम्म पनि जारी रहने संकेत देखिन्छ । सिटीका विश्लेषकहरूका अनुसार ऊर्जा रूपान्तरण र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रबाट आएको बलियो मागका कारण रातो धातु भनेर चिनिने तामाको मूल्य झन् आकाशिन सक्छ । विद्युतीकरण, ग्रिड विस्तार तथा डेटा–सेन्टर निर्माणका लागि तारजोड, विद्युत् प्रसारण र कूलिङ संरचनामा ठूलो मात्रामा तामाको आवश्यकता पर्छ । सिटीका अनुसार खानी आपूर्ति सीमित हुँदा हुने अनुमानित तामाको अभाव र आर्बिट्राज (एउटै वस्तु, सेयर, मुद्रा वा सम्पत्तिको फरक–फरक बजारमा रहेको मूल्य अन्तरबाट नाफा कमाउने प्रक्रिया) को अवसरका कारण अमेरिकामा तामाको निरन्तर ‘होर्डिङ’ ले मूल्य बढाउन योगदान पुर्याउने अपेक्षा छ । सिटीले भनेको छ, ‘हामी अमेरिकाले विश्वव्यापी तामाको भण्डार होर्डिङ गर्ने अपेक्षा गर्छौं र बुल केसमा अमेरिका बाहिरका घट्दै गएका स्टकबाट थप तानिनेछ ।’ ब्रोकरेजका अनुसार २०२६ को सुरुआतमा तामाको मूल्य प्रति टन १३ हजार डलरसम्म पुग्न सक्छ र आगामी वर्षको दोस्रो त्रैमासिकसम्म १५ हजार डलरसम्म पनि पुग्ने सम्भावना छ । त्यसैगरी, अवतार कमोडिटिजका सीईओ एन्ड्र्यु ग्लासले पनि तामाको मूल्य ‘स्ट्राटोस्फेरिक नयाँ उच्चस्तर’मा पुग्न सक्ने बताएका छन् । उनका अनुसार हालको उछाल परम्परागत आपूर्ति मागका आधारभन्दा बढी ट्यारिफको अपेक्षाबाट सञ्चालित ‘अत्यन्तै असामान्य विकृति’ हो । उनले पछिल्ला महिनाहरूमा चीनको तामा माग अपेक्षाभन्दा कमजोर देखिएको पनि बताए । आईएनजीकी कमोडिटिज रणनीतिकार इवा मान्थेले आगामी वर्षको दोस्रो त्रैमासिकमा तामाको मूल्य प्रति टन १२ हजार डलरसम्म पुग्ने अपेक्षा व्यक्त गर्दै उच्चमूल्यले स्टिल्स, सिमेन्ट लगायतको उद्योगको नाफा दबाबमा पार्ने बताइन् । विश्व अर्थतन्त्रको स्वास्थ्य सूचकका रूपमा हेरिने तामाको स्पट मूल्य शुक्रबार लन्डन मेटल्स एक्सचेन्ज (एलएमई) मा प्रति टन ११ हजार ८१६ डलरको अर्को उच्चस्तरमा पुगेको थियो, जबकि ३ महिनाको फ्युचर्स ११ हजार ५१५ डलरमा बन्द भयो । विश्वव्यापी बेन्चमार्क मानिने एलएमईको तामा स्पट मूल्य यस वर्ष अहिलेसम्म करिब ३६ प्रतिशत बढिसकेको छ र पछिल्लो एक महिनामा ९ प्रतिशतले उक्लिएको छ । विशेषज्ञहरूले सीएनबीसीलाई बताएअनुसार हालको उछाल ट्यारिफसम्बन्धी चिन्ताले थप तीव्र बनेको हो । २०२७ देखि अमेरिकाले प्रशोधित तामाको आयातमा शुल्क लगाउन सक्ने आशंकाले माग एकाएक बढेको छ । स्टोनएक्सकी वरिष्ठ धातु विश्लेषक नाटाली स्कट–ग्रेले भनिन्, ‘आपूर्तिमा देखिएको कडाइको ठूलो हिस्सा अमेरिकामा प्रशोधित तामाको आयातसम्बन्धी ट्यारिफ चिन्तासँग जोडिएको छ।’ वैश्विक वित्तीय सेवा कम्पनीले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्ष अमेरिकामा प्रशोधित तामाको आयात करिब ६ लाख ५० हजार टनले बढेको छ, जसले देशको भण्डार करिब ७ लाख ५० हजार टनमा पुर्याएको छ । अमेरिकामा तामाको मूल्य अन्यत्रभन्दा उच्च भएकाले व्यापारीहरूलाई ठूलो मात्रामा तामा अमेरिका पठाउन बलियो प्रोत्साहन मिलेको स्कट–ग्रेले बताइन् । लन्डन मेटल्स एक्सचेन्जमा तामा ३ महिनापछि डेलिभरीका लागि प्रति मेट्रिक टन करिब ११ हजार ५१५ डलरमा कारोबार भइरहेको थियो भने अमेरिकी कमेक्समा मार्च डेलिभरीका लागि तामा फ्युचर्स करिब ११ हजार ८१४ डलरमा थियो, जसले आर्बिट्राजको अवसर सिर्जना गरेको छ । तामाको उछाललाई खानी क्षेत्रमा जारी अवरोधहरूले पनि टेवा दिएका छन्, जसले भविष्यको आपूर्ति वृद्धि अपेक्षालाई कमजोर बनाएको छ । बुधबार सार्वजनिक नोटमा डोइचे बैंकले २०२५ लाई ‘अत्यन्तै अवरोधग्रस्त वर्ष’ भनेर वर्णन गर्दै उत्पादनमा आएको झट्काले ठूला खानी कम्पनीहरूलाई उत्पादन अनुमान घटाउन बाध्य बनाएको जनाएको छ । डोइचे बैंकले संकलन गरेको तथ्यांकअनुसार पछिल्लो एक सातामा प्रमुख तामा उत्पादकहरूले २०२६ को तामा उत्पादन अनुमान करिब ३ लाख टनले घटाएका छन्। कमोडिटिज व्यापार दिग्गज ग्लेनकोरले चिलीको प्रमुख खानी कोलाहुआसी (एङ्लो अमेरिकनसँग सहस्वामित्व) बाट कम आपूर्ति भएकाले २०२६ को उत्पादन पूर्वानुमान घटाएर ८ लाख १० हजारदेखि ८ लाख ७० हजार टनको दायरामा ल्याएको छ । खनन समूह रियो टिन्टोले पनि रोयटर्सका अनुसार आगामी वर्ष तामाको उत्पादन ८ लाखदेखि ८ लाख ७० हजार टनबीच रहने अपेक्षा गरेको छ, जुन यस वर्षको ८ लाख ६० हजारदेखि ८ लाख ७५ हजार टनको अनुमानभन्दा कम हो ।