अमेरिकाले व्यापार युद्ध हार्ने युरोपेली बैंककाे घाेषणा, अमेरिकनको जीवनस्तर घट्ने र रोजगारी गुम्ने
फ्रान्कफर्ट । संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएका छन् । इसीबीका अध्यक्ष मारिओ ड्रागी र विश्व व्यापार संगठनका प्रमुख रोबर्टो आज्भेडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिका प्रथम” नीतिले विश्व अर्थतन्त्रमा संरक्षणवादको विजारोपण गरेको चेतावनी दिएपछि इसीबीको यस्तो प्रक्षेपण सार्वजनिक भएको हो । अमेरिका बाहेक सबैलाई समान रुपमा व्यापार युद्धमा राखिएको अवस्थामा सिर्जना हुने आर्थिक ढाँचाका बारेमा फ्रान्कफर्टस्थित इसीबीका विज्ञहरुले अध्ययन गरेका छन् । उनीहरुले वासिङ्टनले सबै आयातमा १० प्रतिशत करवृद्धि गर्ने र त्यसको जवाफमा अमेरिकासँगका व्यापारिक साझेदारले पनि त्यही शैली पछ्याउने हो भने अर्थ व्यवस्थामा नकारात्मक असर पर्ने बताएका छन् । कर वृद्धिको प्रत्यक्ष असर व्यापारमा पर्ने अवस्थामा ती अर्थशास्त्रीले सार्वजनिक तथा वित्तीय बजारको आत्मविश्वासमा देखिने प्रभावको अध्ययन गर्ने कोशिस गरेका थिए । यो विषम परिस्थितिमा विश्वको सेयर बजारमा कमी आउने र अमेरिकी बजारमा १६ प्रतिशतसम्मले गिरावट आउने छ । उनीहरुले तीन वर्षपछि कूल गार्हस्थ्य उत्पादनमा पनि एक प्रतिशतले कमी आउने प्रक्षेपण गरेका छन् । एउटा अर्थतन्त्रले करवृद्धि गर्दछ र अर्कोले प्रतिशोध राखेर करवृद्धि गर्दछ भने त्यहाँ परिस्थिति नाजुक हुनुबाहेक अर्को विकल्प छैन, अर्थशास्त्रीहरुको निचोड छ – “अमेरिकी मानिसको जीवनस्तर घट्छ र रोजगारी पनि गुम्छ ।” व्यापारमा, अमेरिकी उपभोक्ता र फर्महरुले महङ्गोमा पाइने विदेशी सामानको साटो अमेरिकी सामान नै किन्नेतर्फ लाग्छन् भएकाले अमेरिकी सामानको पनि निर्यातमा स्वाभाविक रुपमै कमी आउँछ । अमेरिकी व्यापारिक साझेदार मुलुकहरुले खरिद पनि कटौती गर्नेछन् । कम्पनीहरुले पनि लगानीमा कमी ल्याउनेछन् र कम कामदारलाई रोजगारी दिनेछन् । यहीबीच यस व्यापार युद्धमा पहिलो चरणमा चीनले जित्ने सम्भावना पनि देखिन्छ । अमेरिकासँगको व्यापारमा असर पर्ने अवस्थामा अरु मुलुकले अमेरिकी सामानको साटो चिनीया सामान खरिद गर्न सक्ने सम्भावना रहन्छ । “व्यापार युद्धको पछिल्लो परिदृश्यले नाटकीय असर अवश्य पर्नेछ,” विश्व व्यापार संगठनका प्रमुख आज्भेडोले बर्लिनमा आयोजित कार्यक्रममा भने । उनले अन्तर्राष्ट्रिय व्यापारका आधारभूत सिद्धान्तमाथि नै अमेरिकाले चुनौती निम्त्याइरहेको बताए । रासस
माल्दीभ्समा सत्ता पल्टियो, चीन समर्थकलाई हराए भारतीय लबिका उम्मेदवारले
माले । माल्दीभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित भएका हुन् । निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गरेका छन् । निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दीभियन डेमोक्रेटिक पार्टी (एमडीपी)का समर्थकहरुले सडकमा खुशीयाली मनाउँदै नाचगान शुरु गरेका छन् । चुनावी नतिजाप्रति राष्ट्रपति यामीनले कुनै प्रतिक्रिया दिएका छैनन् । सोलिहको पक्षमा विपक्षीहरुले गठबन्धन निर्माण गरी चुनावी प्रचारमा उत्रिएका थिए । राष्ट्रपति यामीनले सञ्चार माध्यममाथि लगाएका प्रतिबन्धहरुले चुनावमा धाँधली हुने आशंका व्यक्त गरिएको थियो । आइतबार सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिह बाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन् । निर्वाचनमा विजयी घोषित नवनिर्वाचित राष्ट्रपति सोलिहले एक टेलिभिजन अन्तर्वार्तामा भने, “म जनताको इच्छालाई सम्मान गर्न राष्ट्रपति यामीनसँग आग्रह गर्दछु र सत्ताको शान्तिपूर्ण, सहज हस्तान्तरणका हुने अपेक्षा गर्दछु ।” उनले राजनीतिक बन्दीहरुलाई तत्काल जेलमुक्त गर्न पनि आग्रह गरे । चुनाव हुनुअघि एमडीपी समेत विपक्षी दलहरुका कार्यालयमा प्रहरीले छापा मारेको थियो, तर कसैलाई पक्राउ गरिएको थिएन । पूर्व राष्ट्रपति समेत रहेका एमडीपीका अध्यक्ष मोहमद नसीदले यो मतदानले मुलुकलाई लोकतान्त्रिक मार्गमा पुनः ल्याउने विश्वास व्यक्त गरे । राष्ट्रपति यामीनले हार स्वीकार्नुबाहेक अर्को विकल्प नरहेको पनि उनले बताए । मोहमद नसीद हाल निर्वासनमा छन् । यो निर्वाचनलाई चीन र भारतले महत्वका साथ हेरिरहेका छन् । संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न नभए आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । माल्दीभ्समा यस चुनावमा २ लाख ६२ हजार मतदाता रहेका थिए । माल्दीभ्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले सन् १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो । भारतले चुनावी नतिजाले लोकतान्त्रिक मूल्यमान्यतालाई पुनर्वहाली गर्ने विश्वास लिएको छ । पछिल्ला वर्षहरुमा राष्ट्रपति यामीनमाथि चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो । माल्दीभ्सका ठूला पूर्वाधार परियोजनाका लागि चीनले करोडौं डलर ऋण प्राप्त गरेका थिए । रासस
विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम “मोदीकेयर” लागु, १६ अर्ब अमेरिकी डलरमा ५० कराेड जनाकाे बीमा
नयाँदिल्ली । भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन । “मोदीकेयर” उपाधि दिइएको यो कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख बराबरको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ । यो कार्यक्रमका लागि केन्द्र र २९ वटा राज्य सरकारलाई प्रतिवर्ष १६ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । माग बमोजिम लगानीलाई बिस्तारै थप गर्दै लगिने केन्द्र सरकारको योजना छ । प्रधानमन्त्री मोदीले झारखण्ड राज्यको राजधानी राँचीमा आयोजित समारोहमा पहिलो मेडिकल कार्ड आइतबार हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री मोदीले स्वास्थ्य क्षेत्रमा भारतको यो पहिलो ऐतिहासिक दिन भएको बताए । उनले यो बीमा कार्यक्रम भारतका गरिब परिवारका लागि स्वास्थ्य सेवाको पहुँच र गुणस्तर कायम गर्न ठूलो कदम भएको बताउँदै यसबाट बर्सेनि १० करोडभन्दा बढी परिवारले लाभ लिन सक्ने बताए । भारतमा अस्पताल र चिकित्सकको अभावका कारण अधिकांश भारतीयले निजी स्वास्थ्य क्लिनिक र अस्पतालबाट उपचार लिइरहेको पाइन्छ । तर निजी क्लिनिकमा उपचार गर्न चाहने व्यक्तिले चिकित्सकको शुल्कबापत भारु १००० तिर्नु पर्दछ । दैनिक २ डलरभन्दा कम आम्दानी हुने यहाँका गरिब परिवारका लागि यो रकम ज्यादै बढी हो । सरकारी अनुमान अनुसार भारतमा आम्दानीको ६० प्रतिशतभन्दा बढी रकम स्वास्थ्य उपचारमा खर्च हुने गरेको छ । विज्ञहरुले सरकारको पछिल्लो अभियानलाई स्वागतयोग्य भनी प्रशंसा गरेका छन् । तर उनीहरुले यो सेवा सामान्य र दैनिक उपचार सेवामा पनि उपलब्ध हुनुपर्ने बताएका छन् । एजेन्सी