बेलायतमा उद्योगीले कटौति गरे एक लाख ५० हजारको रोजगारी, किन बन्द भए २० हजार पसल तथा रेष्टुरेण्ट ?
लण्डन, बेलायत । संयुक्त अधिराज्य (यूके) मा समस्याग्रस्त अवस्थामा रहेका फुटकर व्यवसायीद्वारा सन् २०१८ मा एक लाख ५० हजार रोजगारका अबसरको कटौति गरेका छन् । व्यवसायिक सम्पत्तिमाथि लगाइएको उच्च कर, फुटपाथ व्यवसायको विकास र बढ्दो अनलाइन कारोबारका कारण रोजगारीका अबसरलाई कटौति गर्नुपरेको सोमबार सार्वजनिक एक अध्ययनले देखाएको छ । बेलायतमा करिब २० हजार पसल तथा रेष्टुरेण्ट बन्द भएपछि एक लाख ४८ हजार १३२ जनाको जागिरमा कटौति गरिएको बेलायतको प्रेस एसोसिएसन न्यूज एजेन्सीले सेन्टर फर रिटेल रिसर्च (सिसिअनर)जनाएको छ । बेलायतको यूरोपेली यूनियनबाट हुन लागेको बहिर्गमनले पार्ने प्रभाबबारे विभिन्न प्रक्षेपणहरू भइरहँदा फुटकर व्यवसायको भविष्य थप अन्धकारतर्फ धकेलिइरहेको बताइएको छ । “बेलायती संसदमा बहिर्गमनका प्रभावबारे छलफलहरू चलिरहेका समय व्यापार दर र निम्न वृद्धिदरका कारण फुटकर र महङ्गा पसलहरूमा निकै नकारात्मक प्रभाव परिरहेको छ,” सीआरआरका निर्देशक प्राध्यापक जोसुवा बामफिल्डले बताए । “हामीलाई के कुराको महशुस भएको छ भने यदि सरकारबाट अनलाइन व्यापारी र ‘आइ स्ट्रिट’ कुनै प्रभावकारी कदम चालिएन भने सन् २०१९ मा पनि व्यापकरूपमा रोजगारका अवसर कटौति हुने खतरा देखिएको छ ।” यो बर्ष व्यवसायिक करमा गरिएको वृद्धि तथा घरभाडामा बजेट विस्तारका कारण बेलायती फुटकर व्यापारीहरूले अनलाइन व्यापारीसँगको प्रतिस्पर्धामा पीडित बन्नुपरेको छ र यी सबै घटना ब्रेक्जिटबारे अन्यौल देखिइरहेका समय भएका छन् । रासस\एएफपी
अमेरिकाका केही सरकारी कार्यालय तीन दिन देखि बन्द, कर्मचारीले तलब पाएनन्
वासिङ्टन । इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरु विदामा गएका हुन् । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका केही सरकारी कार्यालय तीन दिन देखि बन्द रहेका छन् । बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित भएको हो । सोमबार तेस्रो दिन पनि कर्मचारीले तलब नपाएपछि कार्यालय बन्द भएको अधिकारीहरुले जनाएका छन् । संघीय सरकार अन्तर्गतका झण्डै चार लाख कर्मचारीहरु यसबाट मर्कामा परेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालका लागि छुट्याइनु पर्नेमा जोड दिएपछि समस्या भएको हो । ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानूनी रुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने बाचा गर्नु भएको थियो । तर त्यो काम अहिलेसम्म शुरु हुन सकेको छैन । ट्रम्पले आफ्नो चुनावी वाचा पूरा गर्नका लागि सरकारी खर्चको कोषबाट रकम जुटाउन खोज्नुभएको हो । ट्रम्पले पर्खालका लागि पाँच अर्ब ७० करोड अमेरिकी डलर छुट्याउनु पर्ने बताउँदै आउनुभएको छ । तर यसमा सिनेट तथा हाउसका सदस्य खुशी भएका छैनन् । नयाँ सहमति नभएसम्म अमेरिका सरकारका एक चौथाई सङ्घीय कार्यालयको दैनिक कार्यसञ्चालका लागि चाहिने रकम अभाव भएको छ । यसका कारण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभागअन्तर्गतका कार्यालयको काम बन्द भएको छ । खर्च अभावमा राष्ट्रिय निकुञ्ज तथा जङ्गलसँग सम्बन्धित कार्यालयका काम पनि रोकिनेछन् । सन् २०१८ मा सरकारी कार्यालयमा बजेट अभावका कारण आंशिक रुपमा काम रोकिएको घटना यो पहिलो भने होइन । यसै वर्षमा अमेरिकी सरकारी कार्यालयमा कामकाज ठप्प भएको यो तेस्रो पटक हो । रासस\एएफपी
मोबाइल एप्प प्रयाेगमा भारतीय उपभाेक्ता अगाडि, एउटै माेवाइलमा २०७ एप्स प्रयोग
नयाँ दिल्ली : भारतीय नागरिकहरूमध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ वटासम्म एप्सको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ । एआरसी डिजिट प्राबिधिक कम्पनीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा भारतीय नागरिकले आफ्ना मोबाइलमा उनीहरूले प्रयोग गर्नेभन्दा धेरै एप्स प्रयोग गर्ने गरेको पाइएको देखिइएको छ । सर्वेक्षणमा औषत ५१ एप्सको प्रयो भारतीयहरूले प्रयोग गर्ने गरेका छन् । अधिकांश भारतीयले आफ्ना मोबाइलमा भएका एप्समध्ये २४ एप्सको प्रयोग गर्ने गरेका छन् । धेरै भारतीयहरूले एप्सलाई प्रयोग गर्ने नभएपनि मोबाइलमा ती सफ्टवेयरलाई प्रयोग गर्ने गरेका र जसका कारण उनीहरूका फोन सेट नै खतरामा पर्ने देखिएको प्रतिवेदनमा देखिएको छ । हरेक ३८ प्रतिशत स्मार्ट फोन प्रयोगकर्ताले दैनिक ६–१० एप्सको उपयोग गर्छन् । यसमध्ये सबैभन्दा बढी व्यक्ति अर्थात् ७६ प्रतिशत मोबाइल प्रयोगकर्ताले फेसबुक, यु–टुवजस्ता सामाजिक सञ्जालका लागि एप्सको प्रयोग गर्ने देखिएको छ । यस्तै ७० प्रतिशत एप्स मोबाइलमा खेल खेल्न चलाइने गरेको अध्ययनले देखाएको छ । झण्डै ४७ प्रतिशत स्मार्ट फोन प्रयोग गर्ने व्यक्तिले बैंकिङ, वित्तीय तथा ‘वालेट’ एप्सलाई प्रयोग गर्ने गरेका र यिनीहरूको प्रयोग आफ्नो आर्थिक कारोबार गर्न वा कारोबारबारे जानकारी लिन प्रयोग हुने गर्छन् । यसबाहेक केही एप्सलाई भिडियो तथा तस्वीर ‘डाउनलोड’ गर्न र टेलिभिजन हेर्न एवम् रेडियो सुन्न प्रयोग गर्ने भेटिएको छ । एजेन्सी