डोनाल्ड ट्रम्पले पोर्न स्टार मार्फत चुनावमा पैसा बाँडेको पुष्टि, महाअभियोगको सम्भावना
न्यूयोर्क । अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उनका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका छन् । अमेरिकाकै दुई सहरमा सन् २०१६ को चुनावताका भएका रकम दुरुपयोगका विषयमा अदालतले सुनुवाई गरिरहेका छन् । ट्रम्पका लामो समयदेखिका कानुन व्यवसायी माइकल कोहेनले चुनावी प्रचारको रकमको दुरुपयोग भएको स्वीकारेका कारण न्यूयोर्कको अदालतले उनीमाथि आठवटा मुद्दामा दोषी ठहर गरेको छ । कोहेनले पोर्नस्टार स्टोर्मी ड्यानियल्स र प्लेब्वाय मोडेल कारेन म्याकडगललाई कानुन विपरीत चुनावी प्रचारको रकम भुक्तान गरेको अदालत समक्ष जानकारी गराएका छन् । भुक्तानी गरिएका दुवैसँग ट्रम्पको नाजायज सम्बन्ध रहेको बताइन्छ । विगतदेखि नै चर्चामा रहेको यो मुद्दाको राजनीतिक र कानुनी महत्व रहिआएको छ । यस खुलासाले ट्रम्पमाथि चर्को दबाब सिर्जना हुने अड्कलबाजी गरिएको छ । कोहेनले राष्ट्रपति ट्रम्पमाथि नै औंला ठड्याएका छन् । राष्ट्रपति ट्रम्पकै आदेश र संयोजनमा आफूले रकम भुक्तानी गरेको कोहेनको भनाई छ । “यो रकम भुक्तानी गर्दा चुनावलाई प्रभावित पार्ने नै उद्देश्य थियो,” न्यायाधीश समक्ष कोहेनले भने । खचाखच भरिएको अदालतको इजलासमा बयान दिँदा कोहेन थरथर काँपेका थिए । यो स्वीकारोक्तीले राष्ट्रपति ट्रम्पमाथि कानुनी जोखिम उत्पन्न गराएको छ । ट्रम्पका कानुनी सल्लाहकार रुडी जिउलियानीले अमेरिकी सञ्चार माध्यममा पठाएको वक्तव्यमा भनिएको छ, “राष्ट्रपतिका विरुद्धमा कोहेनले कुनै गलत आरोप लगाएका छैनन् ।” कोहेनको नाटकीय बयान सार्वजनिक भइरहेको अवस्थामा भर्जिनियाको जुरीले राष्ट्रपति ट्रम्पका चुनावी अभियानका अध्यक्ष पल म्यानाफोर्ट दोषी रहेको ठहर गर्दै आठवटा मुद्दामा सजाय गर्ने आदेश दिएको छ । उनीमाथि बैंक धोखाधडी, कर छली गरेको र विदेशी बैंक खातासम्बन्धी स्वघोषणा नगरेको लगायतका आरोप लागेको छ । यी समाचार प्रसार हुनासाथ ट्रम्पले खेद व्यक्त गर्दै म्यानाफोर्ट “असल मानिस” रहेको प्रतिक्रिया दिएका छन् । “मलाई अति दुःख लागेको छ,” ट्रम्पले पश्चिम भर्जिनियामा आयोजित मध्यावधि चुनावी सभाकै क्रममा संवाददाताहरुलाई भने । “जे भएको छ त्यो ज्यादै दुःखद छ, र चुनावका समयमा रुससँग कुनै साँठगाँठ थिएन ।” तर पछिल्लो समय ट्रम्पले म्यानाफोर्टसँग आफूलाई टाढा राख्न थालिसक्नु भएको छ । अमेरिकी कानुनी परम्परामा राष्ट्रपतिमाथि अदालतमा मुद्दा लाग्दैन, तर अभियोगहरु यदि प्रमाणित भएमा संसदमा महाभियोग लाग्न सक्दछ । आगामी नोभेम्बरमा हुने कङ्ग्रेसको मध्यावधि चुनावमा यो मुद्दा पेचिलो बन्नेछ । “मध्यावधि चुनावमा महाभियोगको विषयले प्रमुखता अवश्य पाउनेछ,” रिपब्लीकन रणनीतिकार तथा ट्रम्पका आलोचक रोब स्टजम्यानले भने । “डेमोक्रेटहरुले त यो विषय अवश्य जनतासमक्ष जोडतोडले राख्नेछन् ।”
विदेशी ऋणबाट मुक्त भएको ग्रीसको घोषणा, अब आफ्नै बलबुँताले देश बनाउने उद्घोष
ग्रीस । ग्रीसले विदेशी ऋणबाट मुक्त भएको घोषणा गरेको छ । ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले अब मुलुकले जमानतको लामो यात्राबाट मुक्ति पाएको घोषणा गरेका हुन् । उनले अब आफ्नै बलबुँताले समृद्धिको यात्रा अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । ग्रीसको आर्थिक सङ्कट टार्न विभिन्न मुलुकबाट लिएको जमानत रकम तिरिसकेको बताउँदै सिप्रासले भने, “अब हामीले आठ बर्ष लामो पीडादायी जमानतको यात्रा पार गरेका छौँ ।” इओनियाली टापू इथाकामा टेलिभिजन प्रसारणका लागि रेकर्ड गरिएको भिडियोमा उनले थपे, “आजको दिन ऋणबाट मुक्तिको दिन हो तर यो नयाँ युगको सुरुवात पनि हो ।” इथाका टापू ग्रीक कवि होमरको प्रसिद्ध अभिनेता युलिसेसको घर भएको विश्वास गरिन्छ । सिप्रासको भाषणमा होमरको महाकाव्यमा वर्णन भएका दैत्य तथा दुःख सम्बन्धी प्रशस्त उद्धरणहरूलाई समावेश गरिएको छ । ग्रीसको तेस्रो र अन्तिम आर्थिक सहायता कार्यक्रम अन्त्य भएको भोलिपल्ट ग्रीक प्रधानमन्त्री सिप्रासले भने, हाम्रो देशले आफ्नो भाग्य तथा भविष्यको निर्णय लिने अधिकारलाई पुनः प्राप्त गरेको छ । ग्रीसले आधुनिक कालको ‘अडिसी’ (ग्रीक पुराणमा वर्णन भएको ग्रीकहरूको सङ्कटको कथा जुन आठौँ इशापूर्वमा ग्रीसले सामना गरेको विश्वास गरिन्छ) को सामना गर्दै अघि बढेका छौँ । सेतो शर्टमा सङ्कटको सामना गरिरहेको व्यक्तिजस्तै टापूमा रहेको चट्टानमाथि उभिएरै रेकर्ड गरिएको भाषणमा उनले सङ्कट मोचनका लागि ग्रीसले करिब ७५ अर्ब अमेरिकी डलर ऋण लिएको बताउँदै उक्त समयमा लामो तथा स्थिर खालको सङ्कटको सामना गरेको स्मरण गरे । सङ्कटबीच नेतृत्व सम्हालेका ४४ बर्षीय प्रधानमन्त्रीले भने, गत महिनामा करिब १०० जनाको मृत्यु हुनेगरी लागेको डढेलोपूर्व ग्रीसले आफूलाई गरीबीको रेखाबाट उठाउने अभ्यास गरिरहेको जनाउँदै उक्त डढेलो राज्यलाई पुनः पीडा दिएको बताए । सङ्ख्यामा प्रतिपक्षीभन्दा दश सदस्य बढी रहेको अनुदारवादी समूहद्वारा पिछा गरिरहेका सिप्रासले आगामी दिनमा मन्त्री परिषद्को पुनर्गठन गर्ने योजना ल्याएको चर्चा भएपनि सम्बोधनमा उनले यसबारे केही बताएनन् । निर्वाचनको समय आउन अझै एक बर्षभन्दा बढी रहेका समय प्रधानमन्त्रीले सन् २०१९ को शुरुमा नै निर्वाचन गर्ने योजना रहेको अनुमानहरू व्यक्त गर्न थालिएको छ । ग्रीसले जमानतको लामो यात्राबाट औपचारिक रूपमा सोमबारदेखि छुटकारा पाएको बताइएपनि आर्थिक विश्लेषकहरूले अझै ग्रीसको सङ्कट पूर्णरूपमा अन्त्य भैनसकेको बताउँदै आएका छन् । यूरोपेली संघ, यूरोपेली केन्द्रीय बैंक तथा अन्तराष्ट्रिय मुद्रा कोषले ऋणले सङ्कटग्रस्त ग्रीसलाई सन् २०१०, २०१२ र २०१५ मा गरी तीन चरणमा ३ खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएर आर्थिक सङ्कट टार्न सहयोग गरेका थिए । सम्बोधनमा प्रधानमन्त्री सिप्रासले भने, ग्रीस अब जमानतबाट गुज्रने दिनको अन्त्य भएको छ र उक्त अवधिमा भएका त्यागले ग्रीसको प्रजातन्त्रलाई परीक्षण गरेको र सफलता दिलाएको छ । उनले भने, “अब ग्रीस कहिल्यै पनि घाटा र आर्थिक सङ्टतर्फ धकेलिने छैन ।”सिप्रासले इथाका टापूमा गएर गरेको सम्बोधन सन् २०१० मा प्रधानमन्त्री रहेका जर्ज पापान्द्रेउले गरेको अभ्यासको पुनरावर्तन हो । उक्त समय तत्कालिन प्रधानमन्त्री पापान्ड्रेउले ग्रीकहरूले नयाँ अडिसीको सामना गरिरहेको बताएका थिए ।
मलेसियाले रद्ध गर्यो चिनियाँ रेल र पाइपलाइन परियोजना, आर्थिक औपनिवेशवाद अस्विकार गर्ने घोषणा
बेइजिङ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले करिब २२ अर्ब अमेरिकी डलरका चिनीया लगानीका तीनवटा परियोजना रद्द गर्ने पुष्टी गरेका छन् । बेइजिङ भ्रमणका क्रममा चिनीया नेतृत्वलाई उक्त परियोजनाको ऋण रकम तिर्ने निश्चित नहुँदासम्म यस्तो लगानी स्वीकार नगरिने उनले बताए । यी परियोजनामा मलेसियाको पूर्वी तटबाट दक्षिणी थाइल्यान्ड र क्वालालम्पुर जोड्ने रेलमार्ग तथा दुईवटा ग्यास पाइपलाइन निर्माण रहेका छन् । “हामीले ऋण लिएर पूर्वी तटीय रेलमार्ग किन निर्माण गर्न सकिन्न भनेर चिनीया नेतृत्वलाई जानकारी दिएका छौं,” चीनको पाँचदिने भ्रमणका क्रममा प्रधानमन्त्री महाथिरले मलेसियाली संवाददाताहरुलाई भने, “प्रश्न नै यति ठूलो रकमको हो, यो हामी तिर्न सक्दैनौं र हामीलाई तत्कालै यी परियोजनाको आवश्यकता पनि छैन । अहिलेको मुख्य समस्या नै हाम्रो वित्तीय घाटालाई कसरी समाधान गर्ने भन्ने हो ।” महाथिरले मलेसियाको राष्ट्रिय ऋणलाई न्यून गर्ने प्रयत्न गरिरहेका छन । मलेसियामाथि यस्तो ऋण रकम २५० अर्ब अमेरिकी डलर पुगिसकेको छ । चिनीया प्रधानमन्त्री ली केक्वाङसँगको भेटवार्तापछि महाथिरले चीनले आफ्नो मुलुकको वित्तीय समस्या सुल्झाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । मलेसियाली नेताले “नयाँ स्वरुपको औपनिवेशवाद स्वीकार्य नहुने” बताउँदै आएका छन् । उनको विचारमा खुला स्वतन्त्र व्यापारको नाममा ठूला, धनी मुलुकसँग गरिब राष्ट्रले प्रतिस्पर्धा गर्छु भन्नु मुर्खता मात्र हो । करिब २० अर्बको रेल परियोजनाको निर्माणको जिम्मा चीनको सबैभन्दा ठूलो इन्जिनियरिङ कम्पनी चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनीलाई दिइएको छ र यस परियोजनाका लागि सबैजसो रकम ऋणस्वरुप एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइनाबाट लिइनेछ । मलेसियाको अर्थ मन्त्रालयका अनुसार, दुईवटा ग्यास पाइपलाइन निर्माण परियोजनाका लागि जुलाईमा ८८ प्रतिशत रकम अर्थात् २ अर्ब ३२ करोड अमेरिकी डलर चिनीया ठेकेदार कम्पनीलाई भुक्तानी गरिसकिएको छ । यो परियोजनामा हालसम्म १३ प्रतिशतमात्र काम भएको तर भुक्तानी ज्यादै भएकोले पूर्व सरकारमाथि सर्वत्र आलोचना भइरहेको छ । एउटा पाइपलाइन मलेसियाको सबाहमा र अर्को मलाक्कामा निर्माण भइरहेका छन् । गत मे महिनामा महाथिरले सिंगापुर र मलेसिया जोड्ने उच्च गतिको रेलमार्ग निर्माण गर्ने बताएका थिए र यसको लागत पनि ज्यादै कम छ । मलेसियासँग चीनको सम्बन्ध पूर्व प्रधानमन्त्री नजिब रजाकको शासनकालमा न्यानो रहेको थियो, र तीनवटा परियोजनामा सम्झौता भएलगत्तै चिनीया लगानी बढेको थियो । तर आलोचकहरुले यी परियोजनामा पारदर्शिताको अभाव रहेको र ऋणको व्याजदरका शर्तहरु प्रकाशमा नल्याइएको आरोप लगाउँदै आएका छन् ।