चीनको अर्थतन्त्रको गति २८ वर्ष यताकै न्यून, अमेरिकासँगको व्यापार युद्धको असर

बेइजिङ । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ । ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने अनुमान गरिएकामा समग्र तथ्याङ्क विश्लेषण गर्दा त्यस्तो आर्थिक वृद्धिदर ६.६ प्रतिशत भएको जनाएको छ । एनबीएसका अनुसार सन् २०१८ का अन्तिम तीन महिनामा आर्थिक वृद्धिदरमा अनपेक्षित रुपमा कमी आएको छ । अर्थविज्ञहरुले अमेरिका–चीनबीचको व्यापार तनाब कम नभए सन् २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दी आउन सक्ने अनुमान गरिरहेका छन् । “वित्तीय जोखिम रोकथाम गर्ने, लक्षित गरिबी निवारण गर्ने तथा प्रदूषण नियन्त्रण गर्ने कार्यमा निकै प्रगति भएको छ,” एनबीएसका आयुक्त निङ जिझेले बताए । चिनीया प्रधानमन्त्री लि केक्वाङले गत साता चीनको आर्थिक वृद्धिदरमा देखिएको समस्याप्रति सम्बोधन गर्दै चिनीया अर्थतन्त्रलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिइने दृढता व्यक्त गरे । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापारिक तनाब तीन महिनाका लागि विश्राम दिन र व्यापारमा देखिएका समस्याबारे सार्थक सहमति खोज्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सहमति भएको थियो । दुई नेताबीचको सहमतिसँगै दुई देशीय व्यापार वार्ता शुरु भएका छन् । पहिलो चरणको वार्ता बेइजिङमा सम्पन्न भइसकेको छ भने अर्को साता चिनीया उपप्रधानमन्त्रीको नेतृत्वमा एक टोली वासिङटन भ्रमणमा जाँदैछ । चीनको पूर्वाधार लगानीमा पनि कमी आएको छ । अघिल्लो वर्ष पूर्वाधारका क्षेत्रमा १९ प्रतिशत रहेको लगानी गत वर्ष सन् २०१८ मा ३.८ प्रतिशतले मात्र वृद्धि भएको छ । चीनको अमेरिकातर्फको निर्यात र विश्वव्यापी व्यापारमा पनि गतवर्ष डिसेम्बरमा कमी आएको छ । प्रधानमन्त्री लीले गतसाता चीनको व्यापक बजारका कारण उपभोगमा वृद्धि हुने बताउनुभएको थियो, तर तथ्याङ्कहरु भिन्न रुपमा देखिएका छन् । गतवर्ष हरेक महिना समग्र ऋण प्रवाहको वृद्धि खुम्चिएको थियो । “ऋणको वृद्धिमा आएको मन्दीले आर्थिक वृद्धिमा पनि समस्या निम्त्याएको छ,” क्यापिटल इकनमिक्सका अर्थशास्त्री मार्क विलियम्सले बताए । ऋण प्रवाहमा भएका कडाईले गतवर्ष कारको बिक्रीमा कमी आएको थियो । यो गत २० वर्ष यता सबैभन्दा प्रभावित वर्ष थियो । अघिल्लो वर्ष १०.२ प्रतिशत रहेको खुद्रा बिक्रीमा पनि ९ प्रतिशतले कमी आएको छ । डिसेम्बरमा बिक्रीमा ८.२ प्रतिशतको झिनो वृद्धि भएको थियो । कारखानाको उत्पादनमा समेत सन् २०१७ को ६.६ प्रतिशतबाट घटी भई गतवर्ष ६.२ प्रतिशत कायम भएको छ । विज्ञहरुले चिनीया सरकारी निकायले समग्रमा राम्रो विवरण सार्वजनिक गरेको बताएका छन् । चीन र विदेशमा रहेका धेरै अर्थशास्त्रीले चिनीया सरकारी विवरणमा तोडमरोड गरिएको आरोप लगाएका छन् । अमेरिकास्थित कन्फरेन्स बोर्डले सन् २०१८ मा चीनको आर्थिक वृद्धि ४.१ प्रतिशतको हाराहारीमा मात्र रहेको दाबी गरेको छ । तर, चीनको आधिकारिक निकायले सन् २०१७ को आर्थिक वृद्धिदरलाई ६.९ प्रतिशतबाट घटाई ६.८ प्रतिशत कायम गरेको छ । रासस/एएफपी

चिनियाँ टेलिभिजन बिक्री घट्यो, सन् २०१८ प्रतिकूल

वेइजिङ, चीन । प्रतिस्पर्धात्मक विश्व बजारका कारण चीनको टेलिभिजन उद्योगका लागि सन् २०१८ प्रतिकुल देखिएको गैरसरकारी अध्ययनले जनाएको छ । तथ्याङ्क सेवा प्रदायक संस्था (एभीसी) का अनुसार चीनमा टेलिभिजन सेटको बिक्रीमा सन् २०१७ को तुलनामा सन् २०१८ मा ८.६ प्रतिशतको गिरावट आएको छ । उक्त संस्थाले टेलिभिजन विक्रीबाट भएको औषत आम्दानीमा पनि नौ प्रतिशतको गिरावट आएको जनाएको छ । सन् २०१८ मा चीनले जम्मा १६ करोड टेलिभिजनउत्पादन गरेको थियो भने उत्पादित टेलिभिजनमध्ये ७० प्रतिशत टेलिभिजन विदेश निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । चिनियाँ भिडियो उद्योग संगठनका उप–महासचिव पेङ जियानफेङले भने, “घरेलु प्रयोजनका लागि गत बर्ष चिनियाँहरूले ४७ करोड ७४ लाख टेलिभिजन खुद्रारूपमा किनेका थिए । यो अघिल्लो बर्षको तुलनामा शुन्य दशमलब पाँच प्रतिशतको वृद्धि हो ।” यसैबीच सन् २०१८ मा निर्यात भएका टेलिभिजनको सङ्ख्या ९७ करोड ३२ लाख रहेको र यो अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतको वृद्धि हो । चीनले अर्थतन्त्रमा योगदान गर्नका लागि चीनले कार तथा घरायसी सामानहरूको विक्रीलाई प्रोत्साहन गरेको र यी सामानको उपयोगमा वृद्धि गरेको थियो । रासस÷सिन्ह्वा

चीन-अमेरिका व्यापार वार्तापछि विश्व शेयर बजारमा सुधार

न्यूयोर्क, संयुक्त राज्य अमेरिका । चीन-अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ । अमेरिकी वाल स्ट्रिट जोर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एशियाली शेयर बजार बिहीबार निकै मजबुत देखिएका आर्थिक सुचकाङ्कले देखाएका छन् । चीन र अमेरिकाबीच केही दिन पहिले भएको व्यापार वार्ताले क्रमशः विवाद सहज बन्दै गएको सन्देशसँगै विश्व शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको हो । प्रमुख सूचकाङ्कमा एक प्रतिशत वा त्योभन्दा बढीका दरले लगातार चार दिनसम्म नाफा देखिएको वालस्ट्रिटले शुक्रबार बताएको छ ।अमेरिकी स्टक बजार (डाउ)मा डिसेम्बर २४ पछि १३ प्रतिशतको वृद्धि देखिएको छ । बेइजिङले विगत पाँच बर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व शेयर बजारमा समारात्मक सन्देश गएको ब्लुमवर्गले पनि उल्लेख गरेको छ । अनलाइन बजारका विश्वहस्ती व्यापारीहरूको संगठन (आइजी) का वरिष्ठ बजार विश्लेषक जोसुआ माहोनीले भने, “विश्व शेयर बजारमा यस साता आशा गरिएजस्तै व्यापक सुधारका सङ्केत देसखिएका छन् । यो चीन–अमेरिकाबीचको व्यापार विवादमा महत्वपूर्ण ‘ब्रेक थु्र’ हुने सम्भावनाले आएको सुधार हो ।” “व्यापार सम्झौताका सम्बन्धमा देखिएको आशा नै बजार सुधारका लागि निर्धारक आधार हो,” एलबीबीडब्लुका कार्ल हेलिङले बताए । हेलिङले भने, “त्यहाँ एक प्रकारको कालो धुवाँका सङ्केत देखिएका थिए । जहाँ धुवाँ हुन्छ त्यहाँ आगोपनि हुनु स्वभाविक हो । तर पछिल्ला दिनमा बजारमा सकारात्मक सन्देश फैलिएको छ र यसले शेयर बजारलाई थप ओरालो लाग्नबाट बचाएको छ । तत्काल केही सुधारका सङ्केत देसखिएका छन् । यो सबैका लागि खुशीको कुरा हो ।” “ट्रम्पले अर्थतन्त्र कमजोर बन्दै गएको र अमेरिका बन्दको अवस्थालाई महशुस गरेजस्तो देखिएको छ । उनले यसमा आफ्नो जीतलाई पुष्टि गर्न केही गर्ने देखिएको छ ।” तर केही विश्लेषकहरूले व्यापार विवाद साम्य भै हाल्नेमा संशय व्यक्त गरेका छन् । उनीहरूले अझै धेरै बिषयमा सहमतिदेखि धेरै टाढा रहेको बताएका छन् । उनीहरूले बौद्धिक सम्पत्ती चारीसम्बन्धी अमेरिकाको दावीलाई चीनले सम्बोधन गरिहाल्ने नदेखिएको बताएका छन् । किनकि अमेरिकाले लगाएको उक्त आरोपलाई खुलारूपमा चीनले खण्डन गर्दै आएको छ । मुद्रा बजारसम्बन्धमा बेलायती मुद्रा कमजोर देखिएको छ । बेलायतले विनासम्झौता यूरोपेली संघबाट बाहिरिने हल्लाले बेलायती मुद्रा केही कमजोर देखिएको हो । बेलायती प्रधानमन्त्री टरिजा मे ले गरेको बृहत् ब्रेक्जिट योजनालाई सांसदहरूले विफल पारेका छन् तर प्रधानमन्त्रीले सोमबारसम्म अन्तरपार्टी छलफलका लागि नै दोस्रो योजना ल्याउने बताइएको छ । यदि उक्त योजनाले काम नगरेमा मार्चमा हुने भनिएको बेलायतको बहिर्गमन पछि धकेलिने छ र यसले प्रधानमन्त्रीलाई अर्को सम्झौता गर्नका लागि समय दिनेछ वा अर्को जनमतसङ्ग्रहको बाटो तय गर्नेछ । चीन-अमेरिकाबीचको व्यापार वार्ताको सकारात्मक सन्देश र तेल निर्यात राष्ट्रहरूले गरेको तेलको उत्पादनमा कटौतिले कच्चा इन्धनको मूल्यमा वृद्धि देखिएको छ । अमेरिकी कम्पनीहरूको शेयरमा चीनसँगको कारोबारसँगै नाफातर्फ देखिएका छन् । डाउका सदस्यहरू वोइङ, क्याटरपिलर र नाइकमा सुधारको सङ्केत देखिएको छ । तर अमेरिकी कम्पनी तेस्ला मोटर्सको कारोबारमा १३ प्रतिशतले गिरावट देखिएको छ । विद्युतीय कार निर्माण कम्पनीहरूले प्रविधिमैत्री अत्याधुनिक विद्युतीय कार बनाउने घोषणाले तेस्ला मोटर्सको आम्दानीमा ह्वात्तै गिरावट आएका हो । उक्त कम्पनीले विद्युतीय कारसँग सामना गर्नसक्ने समस्या र यसबाट हुने कमजोर आम्दानीलाई सन्तुलनमा राख्न कामदार कटौतिको घोषणा गरेको छ । नेटफिक्सको नाफामा विश्लेषकहरूको अनुमान विपरित चार प्रतिशतको गिरावट देखिएको छ । विश्लेषकहरूले ग्राहक सङ्ख्याको वृद्धिमा सुस्तता आउँदा नेटफिक्सको आगामी बजारप्रति विश्लेषकहरूले चिन्ता प्रकट गरेका छन् । रासस/एएफपी