गत डिसेम्बरमा चीनको आन्तरिक ऋण एक खर्ब ६० अर्ब अमेरिकी डलर
काठमाडौं । सन् २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋणमा वृद्धि भएको छ । ऋण झण्डै १.०८ ट्रिलियन युआन (एक खर्ब ६० अर्ब अमेरिकी डलर) पुगेको केन्द्रीय बैंकले तथ्याङ्क मङ्गलबार सार्वजनिक.गरेको हो । यो गत बर्षको सोही महिनाको तुलनामा चार खर्ब ९९ अर्ब ५० करोड युआन बढी हो । सन् २०१८ को नोभेम्बरको तुलनामा नयाँ ऋण रकममा सामान्य कमी अर्थात् १.२५ ट्रिलियन यूआनबाट १.०८ ट्रिलियन युआनमा झरेको पिपुल्स बैंक अफ चाइना (पिबिओसी) ले जनाएको छ । एक ट्रिलियन बराबर दश खर्ब हुन्छ । मुद्रा आपुर्ति गर्ने मापदण्ड एम–२, जसले मुद्राप्रवाह र सम्पूर्ण निक्षेपको लेखाजोखा राख्छ, अघिल्लो बर्षको तुलनामा ८.१ प्रतिशत बढेर डिसेम्बरको अन्त्यसम्ममा १८२.६७ ट्रिलियन युआन पुगेको छ । एम–२ को वृद्धि अघिल्लो महिनामा रेकर्ड भएको आठ प्रतिशतभन्दा बढी हो भने एक बर्ष पहिले सोही समयको तुलनामा बराबर हो । मुद्रा आपूर्तिको अर्को मापदण्ड एम–१, जसले नगद प्रवाह र निक्षेपको मागको रेकर्ड राख्छ, एक बर्ष पहिलेकोे तुलनामा गत डिसेम्बरमा १.५ प्रतिशत वृद्धि अर्थात् ५५.१७ ट्रिलियन युआन बढी देखिएको छ । समग्रमा सन् २०१८ को नयाँ यूआनको ऋणमा अघिल्लो बर्षको तुलनामा २.६४ ट्रिलियन युआनले वृद्धि भई १६.१७ ट्रिलियन युआन पुगेको छ । रासस/सिन्ह्वा
ताईवानका ९० प्रतिशत जागिरे रोजगारी परिवर्तन गर्न चाहन्छन्, के होला कारण ?
ताईपेइ । ताईवानका ९० प्रतिशत जागिरेहरूले आफूले गरिरहेको जागिर परिवर्तन गर्न चाहेको पाइएको छ । ताइवानको अनलाईन जब बैंकले गरेको एक सर्वेक्षणमा सहभागी मध्ये ९० प्रतिशतले तलब थोरै भएकाले जागिर परिवर्तन गर्न चाहेको बताएका हुन् । उनीहरुले चिनियाँ नयाँ बर्षपछि जागिर परिवर्तन गर्न चाहेने गरेको पनि सोमबार सार्वजनिक भएको अध्ययनले देखाएको छ । ताइवानमा झण्डै नौ लाख जना जागिरेहरु रहेको अनुमान गरिएको छ । उनीहरु बढीमा दश बर्ष मात्रै खुशीका साथ काम गर्न सक्ने देखिएको छ । जागिर परिवर्तन गर्न चाहने मध्ये ५५ प्रतिशतले तलबमा चित्त नबुझेकाले जागिर परिवर्तन गर्न चाहेको बताएका थिए । त्यसैगरी कल्याणकारी सुविधा नभएको, स्तरोन्नतीको संभावना नभएको र रोजगारदाताप्रतिको उदासीनताका कारण जागिर परिवर्तन गर्न चाहनेहरुको सङ्ख्या पनि धेरै रहेको पाइएको छ । अध्ययनमा सहभागी मध्ये ६५ प्रतिशतले पहिले देखि नै नयाँ जागिरका लागि खोजी गरिरहेको बताएका छन् । अध्ययन प्रतिवेदनका अनुसार ८५ प्रतिशतले ताईवानभन्दा बाहिर धेरै तलब पाईने सुरक्षित जागिर खोजिरहेको जवाफ दिएका छन् । गत डिसेम्बरदेखि यही जनवरी ४ तारिखसम्म गरिएको सर्वेक्षणमा ९१२ कम्पनीका एक हजार २०४ जनाले उत्तर दिएका थिए । रासस/सिन्ह्वा
चीन-उत्तर कोरिया व्यापारमा मन्दी, ५३ प्रतिशतले कमी
बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ । उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवम् सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो । व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत वर्ष द्विपक्षीय व्यापारमा करिब ५३ प्रतिशतले कमी आएको छ । उत्तर कोरियाबाट चीनतर्फको आयातमा पनि सन् २०१८ मा ८८ प्रतिशतले कमी आएको छ । सरकारी विवरण अनुसार उत्तर कोरियाबाट सन् २०१८ मा करिब २१ करोड अमेरिकी डलर बराबरका सामानमात्र आयात भएको छ । भन्सार प्रशासनका प्रवक्ता ली कुवेनका अनुसार चीनबाट उत्तर कोरियातर्फको निकासीमा पनि ३३ प्रतिशतले कमी भई दुई अर्ब १८ करोडमा सीमित भएको छ । “चीन र उत्तर कोरियाबीचको व्यापारका सन्दर्भमा हामीले सुरक्षा परिषदको प्रस्तावलाई कडाईका साथ लागू गरेका छौं,” लीले बताए । व्यापार प्रतिबन्धका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रमुख मुद्रा आर्जनमा समस्या झेल्नु परेको छ । उत्तर कोरियाले खासगरी कोइला र अरु खनिज वस्तुहरु, माछा र कपडा निकासी गर्दछ । निर्यातमा आएको कमीका कारण मुलुकको अर्थतन्त्रमा जटिलता उत्पन्न भएको छ । सन् २०१७ मा उत्तर कोरियाको समग्र अर्थतन्त्र ३ दशमलब ५ प्रतिशतले खुम्चिएको छ । अर्थतन्त्रमा गम्भीर असर परेको विगत दुई दशकमै यो पहिलो पटक हो । अर्थतन्त्रको प्रक्षेपणलाई दक्षिण कोरियाको केन्द्रीय बैंकले समेत पुष्टी गरेको छ । दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरियाका अनुसार, उत्तर कोरियाको खानी उद्योगमा सन् २०१७ मा ११ प्रतिशतले कमी आएको छ जबकी सन् २०१६ मा यसको वृद्धि ८ दशमलब ४ प्रतिशत थियो । औद्योगिक उत्पादनमा पनि गत वर्षको ४ दशमलब ८ प्रतिशतको वृद्धि खुम्चिएर ६.९ प्रतिशत भएको छ । कृषि र माछापालनमा पनि १.३ प्रतिशतले कमी आएको छ । चीन र रुस दुबैले प्योङयाङमाथि लागेका राष्ट्रसंघीय प्रतिबन्धहरुमाथि पुनर्विचार गर्नुपर्ने बताएका छन् । वासिङटनले भने उत्तर कोरियाले आणविक हातहतियार निर्माणलाई तत्काल बन्द गर्नुपर्ने शर्त राखेको छ । गत साता उत्तर कोरियाली नेता कीम जोङ उनले चीनको चौथो पटक भ्रमण गर्नुभएको छ । उत्तर कोरियामाथिका प्रतिबन्ध फुकुवा गर्न एवं बहुप्रतीक्षित अमेरिका-उत्तर कोरिया शिखर वार्तामा सहमति जुटाउन भ्रमण उपलब्धिमूलक रहेको बताइएको छ । रासस/एएफपी