सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी २९ प्रतिशतले घट्यो, बिक्री १० प्रतिशतले कमी
सियोल । सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनियाँ स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ । गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब ९ अर्ब ८० करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको थियो । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलब ७ प्रतिशतले कमी हो । गत साता पनि आइफोन समेतका विद्युतीय उपकरण निर्माता एप्पल कम्पनीको बिक्री घटेको रिपोर्ट सार्वजनिक भएको थियो । अमेरिका–चीनबीचको व्यापार युद्धसँगै एप्पलले चीनमा आफ्ना उत्पादनको बिक्रीको प्रक्षेपण घटाएको थियो । विश्वमै सबैभन्दा बढी स्मार्टफोन र मेमोरी चिप्सको उत्पादन गर्ने सामसुङले हालैका वर्षमा उच्च नाफा आर्जन गरिरहेको थियो । कम्पनीका केही उत्पादनमा समस्या देखिए पनि सामसुङको बजारमा कुनै असर परेको थिएन । सामसुङका अनुसार यस अवधिमा बिक्रीमा १० प्रतिशतले कमी आएको छ । कम्पनीले खासगरी मेमोरी चिप्सको बिक्रीमा आएको कमीले नाफा कम भएको जनाएको छ । मेमोरी चिप्सको व्यापारमा देखिएको कठिन परिस्थितिका कारण सन् २०१९ को पहिलो चौमासिकमा कम्पनीको आम्दानीमा कमी आउनेछ । दक्षिण कोरियाको अर्थतन्त्रमै प्रभाव पार्ने सामसुङ इलेक्ट्रोनिक्सको बजार खुम्चिएसँगै शेयर बजारमा पनि प्रभाव परेको छ । मङ्गलबार सामसुङको शेयर कारोबारमा शून्य दशमलब ५ प्रतिशतले कमी आएको छ । गत साता एप्पलले अक्टोबर–डिसेम्बरको अवधिमा ८४ अर्ब डलर आम्दानी गर्ने अपेक्षा गरेको बताएको थियो । वर्षको शुरुमा एप्पलले यस अवधिमा ८९ देखि ९३ अर्ब डलर आम्दानी गर्ने प्रक्षेपण गरेको थियो । एप्पलले चीन र अन्य उदीयमान अर्थतन्त्र भएका मुलुकमा आएको मन्दीले कम्पनीको आम्दानीमा प्रभाव परेको जनाएको छ । रासस\एएफपी
विश्व बैंकका अध्यक्ष जिमले गरे राजीनामाको घोषणा
काठमाडौँ । विश्व बैंकका अध्यक्ष जिम योङ्ग किमले राजीनामा दिने घोषणा गरेका छन् । ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहेका जिमले आउँदो फेब्रुअरी १ देखि लागु हुने गरी राजीनामाको घोषणा गरेका हुन् । ५९ वर्षका जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनु पर्ने थियो, तर उनले राजीनामाको घोषणा गरेका हुन् । उनी सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । जिम विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले बताएको छ । जिमले आफ्नो वक्तव्यमा विश्व बैंक जस्तो महत्वपूर्ण संस्थाको अध्यक्षका रुपमा काम गर्न पाउनु ठूलो सम्मानको कुरा रहेको उल्लेख गरे । जिमले अप्रत्यासित राजीनामाको कारण खुलाएका छैनन् । विश्व बैंककी प्रमुख कार्यकारी अधिकृत क्रिस्टालिना जोर्जिएभाले जिमको ठाउँ लिने सम्भावना छ ।(एजेन्सीहरुबाट)
निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित, न्यायाधीश सामु के के भने ?
टोकियो । भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित भएका छन् । अदालतमा बयानका क्रममा उनले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गरेको अदालतले जनाएको छ । गोउनलाई कम्पनीको गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा पक्राउ गरिएको थियो । “मेरा विरुद्ध लगाइएका आरोपहरु असत्य हुन्, म निर्दोष छु,” गोउनले न्यायाधीश समक्ष भने । न्यायाधीश समक्ष आफ्नो वक्तव्य पढेर सुनाउँदा उनी दृढ र शान्त देखिएका थिए । “मलाई अन्यायपूर्वक आरोपित गरिएको छ ।” सरकारी वकीलहरुले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उनीमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ । वकिलहरुले वित्तीय सङ्कटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन् । कालो सुट र प्लास्टिक चप्पल लगाएर अदालतमा उपस्थित भएका गोउनले आरोप लगाइएका प्रत्येक बुँदाको जवाफ दिएका थिए । उनले आरोपहरुमाथि प्रतिवाद गर्दै भने, “म निसान बीचमै छाड्न पनि सक्दथें, तर कम्पनी छाड्न चाहिनँ ।” “आँधी आएका बेला जहाजको कप्तानले जहाज छाड्दैन,” उनले अदालतमा भने । विश्वकै अटो उद्योगमा चर्चित व्यक्तित्व कार्लोस गोउन विश्व आर्थिक मञ्चदेखि अरु ठूला एवं विशिष्ट मञ्चहरुमा वक्ताका रुपमा रहने गर्थे । तर तिनै विशिष्ट व्यक्तित्व गोउनलाई अदालतमा उपस्थित गराउँदा जापान प्रहरीले हतकडी लगाएको थियो । अदालतभित्रको इजलासमा भने उनको हतकडी फुकालिएको थियो । गोउन निजी जेट लिएर टोकियोमा ओर्लनासाथ प्रहरीले गिरफ्तार गरेको थियो । कार्लोस गोउन फ्रान्सेली नागरिक हुन् । जापानमा शंकास्पद व्यक्तिहरुलाई प्रमाण नष्ट गर्ने वा तोडमोड गर्ने भन्दै जमानत नदिई थुनामा राख्ने प्रचलन छ । मङ्गलबारको सुनुवाईका क्रममा गोउनका एकजना वकिल गो कोन्डोले गोउन विदेशतर्फ भाग्ने खतरा नरहेको दाबी गरे । “गोउन चिरपरिचित व्यक्ति हुन्, त्यसैले भाग्ने सम्भावना नै छैन । उनले प्रमाण नष्ट गर्ने कुनै जोखिम नै छैन ।” गोउनले अदालत समक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरुको व्याख्या गरेका थिए । उनले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताए । उनले भने, “मलाई निसानमाथि साँच्चिकै प्रेम छ ।” रासस\एपी