चीनको दक्षिणपश्चिम प्रान्तमा गरिबी नियन्त्रण अभियान, ७ लाख नागरिकलाई स्थानान्तरण गरिने
काठमाडौं । दक्षिणपश्चिम चीनको क्वीचोका दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका करिब ६ लाख ७० हजार नागरिकलाई विकशित समुदायमा लगेर सहज जीवनयापनका लागि प्रवन्ध गर्ने प्रान्तीय अधिकारीले जनाएका छन् । बुधबार प्रान्तीय सरकारको बार्षिक सम्मेलनमा स्थानीय अधिकारीले भने, चीन सरकार र राष्ट्रपति सी चिनफिङको गरिबी निवारण अभियान अन्तर्गत सन् २०१९ मा गरीब जनतालाई सुगम वस्तीमा ल्याएर उनीहरूलाई सार्वजनिक सेवा, रोजगारीमुलक तालीम दिइने छ । स्थानान्तर गरेर राखिने वस्तीमा उनीहरूको पढाइका लागि विद्यालय, प्राथमिक विद्यालय, स्वास्थ्य केन्द्र वा औषधी उपचार केन्द्र पनि स्थापना गरिने छ जसका कारण उनीहरूको शिक्षा तथा स्वास्थ्यको लागि सहज व्यवस्था हुनेछ, प्रान्तीय अधिकारीले बताए । चीनको अति गरिब मानिसहरू रहेको क्वीचो प्रान्तले १३ औँ पाँच बर्षे योजना अन्तर्गत सन् २०१६ देखि २०२० सम्ममा १८ लाख ८० हजार गरिब नागरिकलाई गरिबीको रेखाभन्दा माथि उठाउने प्रयास अन्तर्गत यो कार्यक्रम तय गरिएको बताइएको छ । स्थानान्तरणमार्फत गरिबी निवारण गर्ने कार्यक्रम चीन सरकारले विगत केही बर्षदेखि ‘प्रमुख अभियान’का रूपमा चलाएको छ । यो कार्यक्रमले चीनलाई छोटो समयमा धेरै नागरिकलाई गरिबीबाट मुक्त गर्न सम्भव भएको अधिकारीहरूले बताएका छन् । चीनले सन् २०२० सम्म मध्यमरूपको समृद्ध समाज निर्माण गर्ने र गरिबी निवारण गर्ने लक्ष्य लिएको छ । रासस/सिन्ह्वा
चीन–अमेरिका व्यापार वार्ताको मिश्रित प्रभाव एसियाली शेयर बजारमा
काठमाडौं । व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका समय बुधबार एशियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको शेयर बजारको लेखाजोखा राख्ने निक्के सुचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलब ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०.९ प्रतिशतको वृद्धि भई २२ हजार तीन दशमलब १७ कायम भएको छ । हङकङको हाङसेङ सूचकाङ्कमा ०.१ प्रतिशत अङ्कले वृद्धिभई २७ हजार ५६४ दशमलब १९ अङ्क कायम भएको छ । साङघाइ कम्पोजिट सूचकाङ्कमा ०.२ प्रतिशतको ह्रास आउँदा २५ हजार ८९ दशमलब ७० अङ्क कायम भएको छ । अष्ट्रेलियाको एस एण्ड पी एएसएक्स २०० मा ०.२ प्रतिशत अङ्कले वृद्धि भई पाँच हजार ८८६ दशमलब ७० कायम भएको छ । ताइवानमा स्टक बजार स्थिर रहेको छ भने थाइल्याण्ड र इन्डिोनेसियामा वृद्धि देखिएको छ । रासस/एपी
अन्ना हजारेले शुरु गरे अनशन, लोकपाल विधेयक कार्यान्वयन गर्न माग
रलेगण सिद्धी, भारत । भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन् । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले अनशन सुरु गरेका हुन् । भ्रष्टाचार विरुद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरेका छन् । “कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ, त्यसैगरी लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्रीहरु र प्रदेश सभाका सांसदहरुलाई पनि छानविन गर्न सक्छ,” आफ्नै गाउँमा अनसन शुरु गर्नुअघि उनले भने । आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरुले यस्तो व्यवस्था गराउन नचाहेको उनको आरोप छ । उनले यस्तो व्यवस्था कुनैपनि पार्टीको चाहनामा नपरेको बताए । लोकपाल विधेयक सन् २०१३ मा नै संसदले पारित गरिसकेको भएपनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्था अनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरि अनसनमा बस्नु परेको उनको भनाई छ । आफ्ना पूर्व समर्थकहरु, जो अहिले राजनीतिमा छन्, उनीहरुले पनि अनसनमा साथ दिन सक्ने बताउँदै उनले भने, “हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेताहरुलाई ठाउँ छैन ।” उनले थपे, “लोकपाललाई निषेध गर्नेगरी तीन दिन भित्रमा उनीहरुले अर्को कानुन पारित गरेका छन्, त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नु भएको छ, तर पनि लोकपाल नियुक्त गरिएको छैन ।” “पाँच वर्षसम्म पनि उनीहरुले यस बारेमा केही गरेनन्, त्यसैले राजनीतिक नेताहरुलाई हाम्रो ठाउँमा आउन दिदैनौँ,” हजारेले भने । भारतमा शहीद दिवसको रुपमा समेत मनाइने महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनसन सुरु गरेको पनि उनले बताए । रासस/एएनआई