टाटा मोटर्सको सेयरमूल्य एकैदिन ३० % घट्यो

मुम्बई । जागुअर ल्यान्डरोभर बिक्रीमा समस्या देखिएपछि भारतको टाटा मोटर्स कम्पनीको सेयरमूल्य शुक्रबार ३० प्रतिशत घटेको छ । भारतकै ठूलो विलासी कार निर्माता टाटा मोटर्सको पहिलो चौमासिकमा सबैभन्दा बढी नोक्सानी व्यहोरेको थियो । मुम्बईस्थित कार उत्पादक टाटा मोटर्सले चीनमा जागुअरको माग घटेको तथा ब्रेक्जीटको अनिश्चिततासँगै बढ्दो ऋणका कारण समस्या आएको जनाएको छ । कम्पनीले सन् २०१८ को अन्तिम चौमासिक (सेप्टेम्बरदेखि डिसेम्बरसम्म) अवधिमा खूद नोक्सानी ३ अर्ब ८० करोड डलर (२ खर्ब ७० अर्ब भारतीय रुपैयाँ) भएको जनाएको छ । अघिल्लो वर्ष त्यही अवधिमा कम्पनीको नाफा १२ अर्ब भारतीय रुपैयाँ भएको थियो । भारतीय कर्पोरेट इतिहासमै यो सबैभन्दा ठूलो नोक्सानी हो । ब्लुमबर्ग न्यूजका अनुसार यसअघि सन् २०१२ मा इन्डियन आयल कर्पोरेसनले सबैभन्दा बढी नोक्सानी व्यहोरेको थियो । “अहिले उद्योगका लागि कठिन घडी हो, तर हामी दिगो र नाफामुखी वृद्धि सुनिश्चित गर्नेतर्फ केन्द्रित हुनेछौं,” जागुअर ल्यान्डरोभरका प्रमुख कार्यकारी राल्फ स्पेथले बताए । चीनमा कारको बिक्री घटेसँगै जागुअर ल्यान्डरोभरले अघिल्लो साता विश्वभर चार हजार ५०० कामदार हटाउने निर्णय गरेको थियो । ब्लुमबर्गका अनुसार विगत १२ महिनामा टाटा मोटर्सको सेयरमूल्यमा ५० प्रतिशतभन्दा बढी घटेको छ । विगत २६ वर्षमा टाटा मोटर्सको सेयरमूल्य एकै दिन यतिठूलो परिमाणमा घटेको यो पहिलोपटक हो । रासस/एएफपी

थाई राजकुमारीको अभूतपूर्व निर्णय, प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा

बैंकक । आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन् । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो ।थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएको घोषणा गरेकी हुन् । थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्र विरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ । उबोलरतनाको उम्मेदवारीले मार्च २४ तारिखको चुनावमा नयाँ तरङ्ग नै ल्याइदिएको छ । खासगरी, पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी दिएको बताइन्छ । थाइल्यान्डमा थाक्सिन समर्थक “राता” टिसर्टधारी र राजावादी “पहेंला” टिसर्टधारीबीच परम्परागत दुश्मनी रहँदै आएकामा राजकुमारीको उम्मेदवारीले दुबैलाई एक ठाउँमा ल्याउने सम्भावना बढेको छ । यी दुई समूहबीचको डरलाग्दो हिंसाले गत दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो । “राजकुमारी उबोलरतनाको छनौट सबैभन्दा उपयुक्त रहेकामा बोर्ड पूर्ण रुपमा सहमत छ,” थाई रक्षा चार्ट पार्टीका नेता प्रिचापोल पोङपानिचले संवाददाताहरुलाई बताए । उनका अनुसार राजकुमारी निकै शिक्षित र सीपालु छिन् । यो पार्टी अर्बपति थाई नेता थाक्सिन शिनावात्राको प्रभावमा रहेको मानिन्छ । उनी थाइल्यान्डको राजनीतिमा निकै प्रभावशाली व्यक्तित्व पनि हुन् । उनलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्दछन् । राजकुमारीको उम्मेदवारी घोषणासँगै थाक्सिनलाई थाइल्यान्डको राजनीतिक नाटकको केन्द्रमा उभ्याएको छ । सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । तर सन् २०१४ मा बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो । अन्ततः पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो । राजकुमारीको कदमले सैनिक नेता प्रयुत चान–ओ–चाको राजनीतिक इच्छामा निकै ठूलो प्रहार गरेको छ । उनी आफूलाई यस पटकको चुनाव मार्फत नागरिक नेताका रुपमा स्थापित गर्न इच्छुक थिए । उनी विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा छन् । यही राजनीतिक उहापोहबीच प्रयुतले पनि प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएको घोषणा गरेका छन् । उनी फालाङ प्रचारत सैनिक पार्टीबाट उम्मेदवार हुनुभएको छ । “म शक्तिमा झुण्डिइरहन चाहन्न । यो निर्णय लिन मलाई निकै कठिन भइरहेको थियो, तर अहिले मुलुकका निम्ति गम्भीर अवस्था छ ।” प्रयुत मातहतको सैनिकले आफूलाई राजतन्त्रको संरक्षकका रुपमा उभ्याएको थियो । तर उबोलरतनाको राजनीतिमा भएको आकस्मिक आगमनले प्रयुतमाथि नै सङ्कट निम्त्याएको छ । आम सर्वसाधारणसँग घुलमिल हुन अभिरुचि राख्ने उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्यागेका थिए । तर जेन्सेनसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ । त्यसपछि उनी थाइल्यान्ड फर्केका थिए । थाइल्यान्ड फर्किएपछि पनि उनलाई राजपरिवारकै सम्मानित सदस्यका रुपमा लिने गरिएको थियो । थाइल्यान्डमा सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता प्रधानमन्त्रीका रुपमा कुनैपनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन् । उनलाई रुसमा सम्पन्न सन् २०१८ को विश्वकपका समयमा थाक्सिन र यिङ्लकसँगै देखिएको थियो । रासस/एएफपी

इटाली लेबनानमा लगानी गर्न तयार : प्रधानमन्त्री कोन्टे

काठमाडौं । इटालीले लेबनानमा लगानी गर्न इच्छुक रहेको प्रधानमन्त्री जिसेफी कोन्टेल बताएका छन् । इटालीका कम्पनीहरूले लेवनानी विकासका लागि आफ्नो विज्ञतालाई साट्न र एक असल छिमेकीको भूमिका निर्वाह गर्न चाहन्छ,” प्रधानमन्त्री कोन्टेलाई उद्धृत गर्दै राष्ट्रिय टेलिभिजन एमटिभीले जनाएको छ । लेवनानी प्रधानमन्त्री साद हरिरिलाई इटालीमा लगानीबारे छलफल गर्नका लागि स्वागत गर्न सहमत छौँ,”कोन्टेले भने । प्रधानमन्त्री कोन्टे औपचारिक भ्रमणका लागि बिहीबार विहान लेबनान पुगेका हुन् । दुई देशका नेताबीच भएको भेटमा कोन्टेले आफ्नो मुलुकले लेबनानलाई हरेक क्षेत्र र तहमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको थियो । यसैबीच इटालीका कम्पनीहरूले तेल तथा विद्युत क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै इटालीका कम्पनीहरूले लेबनानमा थप लगानी प्रबाह गरेर आर्थिक विकासमा थप सहयोग गर्ने जानकारी दिएको छ । उक्त अवसरमा हरिरिले लेवनानले विभिन्न क्षेत्रमा कैयौँ आधारभूत संरचना निर्माणका लागि अघि बढेको र यसमा इटालीको सहयोग स्वीकार गरेको छ । रासस/सिन्ह्वा