एयरबस कम्पनीमाथि साइबर आक्रमण, चिनियाँ नागरिक आक्रमणकारी
पेरिस । युरोपको भिमकाय हवाई कम्पनी एयरबसमाथि ह्याकरहरुले शृङ्खलाबद्ध साइबर आक्रमण गरेको कम्पनीले जनाएको छ । आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए । एयरबसका सुरक्षा विज्ञहरुका अनुसार आक्रमणकारीहरु चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ह्याकिङका बारेमा अनुसन्धानरत दुई जना सुरक्षा विज्ञहरुले एयरबसमाथि १२ महिनाको अवधिमा चार पटक आक्रमणको प्रयास भएको बताएका छन् । तर, एयरबसको सुरक्षा प्रबन्ध निकै शक्तिशाली र अद्यावधिक रहेका कारण ह्याकरहरु कम्पनीको मुख्य प्रणालीमा प्रवेश गर्न नसकेको एयरबसले जनाएको छ । एयरबसले आममानिसका लागि विमान निर्माण गर्नुका साथै सैनिक प्रयोजनका सामग्री पनि बनाउने गर्दछ । ह्याकरहरुले पछिल्लो समय बेलायती इन्जिन निर्माता रोल्स–रोयस र फ्रान्सेली प्रविधि कन्सल्टेन्सी एक्स्प्लेओमाथि साइबर आक्रमण गर्ने प्रयत्न पनि गरेका थिए । एएफपीका अनुसार एयरबसका निम्ति कार्य गर्ने दुई वटा फ्रान्सेली कम्पनीमाथि पनि साइबर आक्रमण भएको थियो । हवाई सुरक्षासँग सम्बन्धित बुस्टएरोस्पेस कम्पनीका विशेषज्ञ रोमाइन बोटानले साइबर आक्रमणकारीले एयरबसको कम्प्युटर प्रणालीको कमजोर हिस्सा पहिचान गरी मुख्य प्रणालीमा प्रवेश गर्न चाहेको बताए । “ठूला कम्पनीको सुरक्षा प्रबन्ध निकै राम्रो हुन्छ, र त्यसलाई सहजै तोड्न सकिन्न । त्यसैले ठूला कम्पनीकै साना साना हिस्साभित्र आक्रमणकारीहरु छिर्ने प्रयत्न गरिरहेका हुन्छन् ।” रासस/एएफपी
बेलायती कम्पनी थोमस कूक टाट पल्टियो, २१ हजार कर्मचारीको जागिर गुम्यो
लन्डन । बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ । कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ । बेलायत सरकारले हाल विदेशमा यात्रारत एक लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ । बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कूकले आफ्नो व्यवसाय रोकेको जनाएको छ । यस कम्पनीका चार वटा विमान ग्राउन्डेड गरिएका छन् । विश्वका १६ वटा मुलुकमा रहेका २१ हजार कर्मचारीको जागिर पनि समाप्त भएको छ जसमा नौ हजार बेलायती नागरिक छन् । ब्रेक्जिटको अन्यौलतासँगै कम्पनीले केही महिना अघि नै बुकिङमा कमी आएको बताउँदै आएको थियो । कम्पनीमाथि ऋणको बोझ निरन्तर थपिँदै गएपछि कम्पनी नै धरासायी भएको हो । बेलायतको यो १७८ वर्ष पुरानो कम्पनीले आफ्नो साख जोगाउन २५ करोड अमेरिकी डलर ऋण खोजिरहेको थियो । कम्पनीले आफ्ना शेयरहोल्डर र लगानीकर्तासँग पनि यसबारेमा परामर्श गरेको थियो । थोमस कूकका विश्वभर ६०० को हाराहारीमा ट्राभल स्टोर रहेका छन् । कम्पनीका प्रमुख कार्यकारी पिटर फ्यान्काउजरले कम्पनीको इतिहासमा यो निकै उदास र दुःखद क्षण रहेको बताउँदै यस कम्पनीले बेलायती समेतका लाखौं व्यक्तिको यात्रालाई सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले जारी गरेको विज्ञप्तिमा कम्पनीलाई विश्वास गर्ने लाखौं उपभोक्ता र हजारौं कर्मचारीसँग आफूले व्यक्तिगत रुपमा क्षमा माग्न चाहेको उल्लेख छ । कम्पनीको सेवा लिएका तर विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि बेलायती नागरिक उड्डयन प्राधिकरणले विशेष व्यवस्था गर्न लागेको जनाएको छ । बेलायती यातायात मन्त्री ग्रान्ट श्याम्प्सले आफ्ना नागरिकको सहज उद्धारका लागि दर्जनौं चार्टर विमानको व्यवस्था गरिएको जानकारी दिए । यी चार्टर विमानले मलेसियासम्म पुगेर अलपत्र बेलायतीलाई निःशुल्क बेलायत ल्याउने उनले बताए । थोमस कूकका कर्मचारीसँग सम्बन्धित युनियनले बेलायत सरकार समक्ष थोमस कूकका कारण बेरोजगार भएका व्यक्तिका बारेमा सोच्न र उपयुक्त निकास निकाल्न अनुरोध गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कम्पनी जोगाउने नाममा सरकारले लगानी गर्न नसक्ने बताउँदै यस प्रवृत्तिले टाट पल्टिन लागेका कम्पनीहरु सरकारमाथि बढी आश्रित हुने खतरा हुन्छ भने । रासस/एपी
एसियाली पूर्वाधार बैंकले आसियानका छ परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने
नानिङ, चीन । चीनको अग्रसरतामा खुलेको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले दक्षिण पूर्वी एसियाली मुलुक (आसियान) का छ परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको छ । बैंकका अध्यक्ष जिन लिक्वुनले चीन, आसियान मुलुकहरु र अरु एसियाली मुलुकबीचको अन्तरदेशीय सम्पर्क सञ्जाल प्रबद्र्धन गर्न बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विगत चार वर्षमा एआइआइबीले आसियानका छ वटा मुलुकका १० वटा परियोजनामा करिब एक अर्ब डलर लगानी गरिसकेको पनि अध्यक्ष जिनले जानकारी दिए । आसियान क्षेत्रमा पारस्परिक सञ्जाल सम्पर्क बढाउन बेल्ट एन्ड रोड अभियानको भूमिकाका बारेमा चर्चा गर्दै अध्यक्ष जिनले आसियानका सदस्य मुलुकहरुले यस कार्यक्रमबाट बढी लाभ लिन सक्ने बताए । बेइजिङमा मुख्यालय रहेको यो बैंक चीनको अग्रसरतामा स्थापना गरिएको पूर्वाधार विकास बैंक हो । सन् २०१६ देखि कारोबार थालेको यस बैंकका हाल १०० मुलुक सदस्य छन् । बैंकले हालसम्म आफ्ना सदस्य १८ मुलुकका ४६१ परियोजना स्वीकृत गरी ८ अर्ब ५० करोड अमेरिकी डलर लगानी गरिसकेको छ । रासस/सिन्ह्वा