पाकिस्तानी नियन्त्रणमा रहेका भारतीय विमान चालक अभिनन्दन वर्तमान स्वदेश फिर्ता

इस्लामावाद, पाकिस्तान । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार दिउसो बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय वायुसेनाका चालक तथा विङ कमाण्डर अभिनन्दनलाई पाकिस्तानी अधिकारीले पूर्वी पाकिस्तानको पूर्वी शहरू लाहोर हुँदै वागाह सीमा क्षेत्रमा लगेर भारतीय अधिकारीलाई बुझाएको पाकिस्तानले जनाएको छ । यद्यपि यसबारे भारतीय अधिकारीबाट औपचारिक पुष्टि भइसकेको छैन । तर भारतीय टेलीभिजन आजतकले भने अभिनन्दन स्वदेश फर्किएको दृश्यलाई प्रत्यक्ष प्रशारण गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका थिए । “पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा नहुने निष्कर्षसाथ शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ,” बिहीबार संसदका दुबै सदनलाई गरेको संयुक्त सम्बोधनमा उनले भनेका थिए । रासस/सिन्ह्वा

बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार !

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ । “जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानमध्ये एक देशमा लुकेर बसेको अनुमान गरिएको छ । “हाम्जा अहिले अल–कायदा समूहका नेताका रुपमा स्थापित हुन थालेको देखिएको छ,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयले हाल हाम्जा रहेको मुलुकको नाम र ठेगाना दिएमा त्यस्तो सूचना दिने व्यक्तिलाई अमेरिकाले १० लाख पुरस्कार दिने जनाएको छ । हाल ३० वर्षको हाराहारीका हाम्जा बिन लादेनले सन् २०११ मा गरिएको आफ्नो बुबाको हत्याको बदला लिने बताउँदै आएका छन् । सर्वाधिक खोजीमा रहेका बिन लादेनलाई अमेरिकी विशेष फौजले पाकिस्तानी शहर अबोटाबादमा हत्या गरेको थियो । अमेरिकी गुप्तचर निकायहरुले हाम्जामाथि निगरानी बढाएको र अमेरिकाका निम्ति सुरक्षा खतरा रहेको बताएका छन् । हाम्जाले सन् २०१५ मा एक अडियो सन्देश जारी गरी सिरियाका जिहादीहरुलाई एकताबद्ध हुन आग्रह गरेका थिए । आफ्ना पिताले झैं हाम्जाले पनि साउदी अरेबीयाको नेतृत्व अपदस्थ गर्नुपर्ने बताउँदै आएका छन् । ओसामा बिन लादेनका तीन श्रीमती र छोराछोरीलाई साउदी अरेबियामा आश्रय दिइएको छ । तर हाम्जाका बारेमा थाहा हुन सकेको छैन । रासस/एएफपी

६ लाख २७ हजार आप्रबासी बेलायतमा, १५ बर्षपछि आप्रबासीको संख्या उच्च

लण्डन, बेलायत । यूरोपेली संघबाहिरबाट बेलायत पुग्ने आप्रबासीको सङ्ख्यामा १५ बर्षपछि यस बर्ष अत्यधिक वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले पछिल्लो समय जारी गरेको लामो समय बेलायत बसोबास गर्न जाने आप्रबासी सङ्ख्यामा एक बर्षको अन्तरालमा सन् २०१८ को सेप्टेम्बर अन्त्यसम्ममा छ लाख २७ हजार आप्रबासी बेलायत पुगेका र तीन लाख ४५ हजार आप्रबासी बाहिरिएको तथ्याङ्कमा उल्लेख छ । यसरी हेर्दा बेलायतमा रहने आप्रबासी सङ्ख्यामा दुई लाख ८३ हजार थप भएको देखिएको छ । तथ्याङ्क अनुसार धेरै व्यक्ति बेलायतमा एक बर्षभन्दा बढी रहने गरी गएका छन् । तथ्याङ्कको बिश्लेषण गर्दा खुद आप्रबासीको आप्रवासन र बिदेश गमनको तथ्याङ्कमा सन् २०१६ को अन्त्यपछि स्थिरता देखिएको छ । तर, कार्यालयले भनेको छ, आप्रबासी सङ्ख्यामा यूरोपेली संघ आवद्ध राष्ट्रबाट बेलायत जाने र अन्य मुलुकबाट बेलायत जाने तथ्याङ्कमा परिवर्तन देखिएको छ । बेलायतका लागि यूरोपबाट जाने आप्रबासीको तुलनामा अन्य मुलुकबाट बेलायत जाने नागरिकको सङ्ख्या सन् २००४ पछि पहिलोपटक बढी देखिएको छ । काम र पढाइका शिलशिलामा बेलायत आउने आप्रबासी सङ्ख्यामा विगत पाँच बर्ष यता बढ्दो क्रममा रहेको अध्ययनले देखाएको छ । सन् २००९ पछि पहिलो पटक सन् २०१८ मा बेलायत पुग्ने यूरोपेली नागरिकको सङ्ख्यामा क्रमश कमी आएको पाइएको छ । मध्य तथा पूर्वी यूरोपेली मुलुक, जसलाई इयूका आठ मुलुकबाट पनि चिन्ने गरिन्छ, का नागरिकको बेलायत आउनेभन्दा छोड्ने क्रम बढेको देखिएको छ । फर्किनेमा सन् २००४ पछि बेलायत आएर बसोबास गर्दै आएका यूरोपेली आप्रबासीहरू रहेका छन् । सन् २०१४ पछि बेलायतमा कामका लागि आउने व्यक्तिको सङख्याभन्दा विद्यार्थी भिषामा आउने यूरोपेली आप्रबासीको सङ्ख्यामा वृद्धि रहेको पनि तथ्याङ्कमा छ । समग्रमा बेलायत पुग्ने आप्रबासीमा पछिल्लो समय धेरै विद्यार्थीहरू रहने गरेको पनि जनाइएको छ । रासस/सिन्ह्वा