नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
म्यान्मा । म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यान्माको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो । राष्ट्रपति भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यान्माको राजधानी नेपित आइपुगेकी हुन् । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सु चीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो । दुई राष्ट्रपतिबीच भेटवार्ता राष्ट्रपति भण्डारी र राष्ट्रपति विनबीच आजै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन् । त्यसअघि आज बिहान सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यान्माको सेनाले सम्मान गारद (‘गार्ड अफ अनर’) दिएको थियो । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति रहेको छ । राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमणमा रहनेछिन् । रासस
संकटबाट गुज्रिरहेको हुवावेको आम्दानीमा २४ प्रतिशतले वृद्धि
शाङ्घाई । चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो नाफामा पनि ८७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । सुरक्षाको कारण देखाउँदै अमेरिकी प्रशासनले हुवावेका टेलिकम उपकरण प्रयोग नगर्न यसवर्ष विश्वव्यापी पहल र प्रचार गरेको थियो । गत मे महिनामा हुवावेलाई अमेरिकी बजारमा कालोसूचीमा राख्नुका साथै अमेरिकी कम्पनीका उच्च प्रविधियुक्त सामान हुवावेलाई बिक्री नगर्न दबाब दिएको थियो । संयुक्त राज्य अमेरिकाले हुवावेका सामान मार्फत चीनले गोप्य सूचनाहरु संकलन गर्न सक्ने भन्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको थियो । अमेरिकाले हुवावेका उत्पादनमा व्यापक कमी कमजोरी रहेका र ती भरोसायोग्य नरहेको बताउँदै आएको छ । तर हुवावेले भने अमेरिकी दाबीको निरन्तर खण्डन गरिरहेको छ । कम्पनीले जारी गरेको पछिल्लो विज्ञप्तिमा भनिएको छ, हुवावेले केबल सूचना प्रविधिको पूर्वाधार र स्मार्ट उपकरण निर्माणमा ध्यानकेन्द्रित गरेको छ, र त्यसलाई अझ गुणस्तरीय एवं परिस्कृत गर्नेतर्फ विशेष जोड दिइरहेको छ । यिनै कारणले कम्पनीले सन् २०१९ को नौ महिनाको अवधिमा निकै उचाई प्राप्त गरेको छ र निरन्तर विश्वको विश्वास जित्दै गएको छ ।
विश्वव्यापी आर्थिक वृद्धिदर तीन प्रतिशत हुने आइएमएफको प्रक्षेपण
वासिङ्टन । वित्तीय सङ्कटका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले मङ्गलबार गरेको छ । निरन्तरको व्यापार विवादले गर्दा व्यवसायिक विश्वास र लगानीमा कटौति आउँदा विश्वव्यापी वित्तीय सङ्कटको अवस्था देखिएकाले सन् २०१९ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशत रहने कोषले बताएको छ । मुद्रा कोषले सन् २०२० का लागि विश्वको आर्थिक वृद्धिदर ३।४ प्रतिशत कायम रहने अनुमान गरेको थियो, तर कोषको ‘वर्ड इकोनोमिक आउटलुक’को मङ्गलबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा यो दर तीन प्रतिशत रहने बताइएको छ । प्रतिवेदनले विश्वको अर्थतन्त्रमा क्रमशः एकरूपमा कमी आएको र सुधारको अनिश्चितता रहेको चेतावनी दिएको छ ।कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले भन्नुभयो, “विश्वव्यापी नतिजा जोखिमपूर्ण रहेको र यसमा नीतिगत कमजोरीहरू नभएको देखिएको छ ।” कोषले सन् २०१९ मा अमेरिकाको आर्थिक वृद्धिदर २।४ रहने बताएको छ । यो प्रक्षेपण जुलाईमा गरिएको अनुमानको दुई दशांशले कमी भएको जनाएको छ । व्यापार तनावले आर्थिक वृद्धिदरमा आएको न्यूनताका कारण अमेरिकी कुल ग्राहस्थ उत्पादन २.१ प्रतिशतमा विस्तार हने पनि कोषले बताएको छ । अमेरिकाका लागि व्यापारसम्वद्ध अनिश्चितताले गर्दा लगानीमा नकारात्मक प्रभाव छोडेको तर रोजगारी र उपभोग भने मजबुत रहने कोषका प्रमुख अर्थशास्त्री गोपीनाथले बताए । रासस/एएफपी