एशियाली बैंकद्वारा हिमालयन बैंकलाई अवार्ड प्रदान

काठमाडौं । एशियाली विकास बैंक (एडिबि.) ले हिमालयन बैंक लिमिटेडलाई ट्रेड फाईनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरे बापत ‘टिएफपि अवार्ड २०१९ लिडिङ पार्टनर बैंक इन नेपाल’ प्रदान गरेको छ । एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो । सेप्टेम्बर ३, २०१९ मा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्रामको अवार्ड समारोहमा हिमालयन बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरेका छन् । बैंकले यस पटक समेत गरी तेश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।

चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बेग्लाबेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थितिबारे विचार विमर्श गरेका थिए । त्यसअघि दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका थिए । रासस

निस्सानका प्रमुख कार्यकारी अधिकृत कार्लोस सायकावा नेतृत्वबाट बाहिरिँदै

योकोहामा, जापान । विश्व प्रसिद्ध जापानी कम्पनी निस्सानका प्रमुख कार्यकारी अधिकृत कार्लोस सायकावा नेतृत्वबाट छिट्टै हट्ने उक्त कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिले प्रसिद्ध कार कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउनमाथि आर्थिक अनियमितता गरेको आरोप लागेपछि कम्पनीको नेतृत्वमा रहेका साइकावालाई पनि कम्पनीको पदबाट हटेर कम्पनीलाई सहयोग गर्न अनुरोध गरेको हो । “सञ्चालक समितिको बैठकमा भएको व्यापक छलफलपछि समितिले साइकावालाई कार्यकारी प्रमुखबाट हट्न अनुरोध गरेको र प्रस्तावलाई उहाँले स्वीकार गर्नुभएको छ,” निस्सानको सञ्चालक समितिका अध्यक्ष यासुसी किमुराले पत्रकारहरूलाई बताए । रासस/एएफपी