डाटा सेन्टर सञ्चालन गर्न गुगलले किन्यो फिनल्याण्डमा जग्गा
काठमाडौं । गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोमा जग्गा खरिद गरेको छ । गुगलले सन् २०११ देखि फिनल्याण्डमा डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ । फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डाटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डाटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन् । स्थानीय सञ्चारमाध्यमका रिपोर्टका अनुसार यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
भारतमा आँधीका कारण विद्यालय बन्द, तमिलनाडुमा अवतरण गर्ने
काठमाडौं । भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिएका छन् । साथै, सयौं मानिसहरूलाई सुरक्षित आश्रयस्थलहमा सारिएको छ । चक्रवात फेङ्गलले ७०÷८० किलोमिटर प्रतिघण्टाको हावाको साथ तमिलनाडु राज्यमा अवतरण गर्ने पूर्वानुमान गरिएको भारतको मौसम ब्यूरोले जनाएको छ । पूर्वानुमानले माछा मार्ने मानिसहरूलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालहरूले तल्लो तटीय क्षेत्रहरूमा बाढीको खतरा निम्त्याउने जनाएको छ । तमिलनाडुका धेरै जिल्लाहरूमा विद्यालय तथा कलेजहरू बन्द गरिनुका साथै कम्तिमा ४७१ जनालाई राहत शिविरहरूमा सारिएको इकोनोमिक टाइम्स अखबारले जनाएको छ । पछिल्लो समयमा चक्रवातहरू–उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा टाइफुन जस्तै –उत्तरी हिन्द महासागरमा नियमित खतराको रुपमा देखा परेका छन् । यस हप्ताको सुरुमा श्रीलङ्काको तटमा फेङ्गलले ६ जना बालबालिका सहित कम्तीमा १२ जनाको ज्यान लिएको थियो । वैज्ञानिकहरूले जीवाश्म ईन्धनहरू जलनबाट सिर्जित जलवायु परिवर्तनका कारण विश्वको तापमान वृद्धि हुदाँ आँधी बेहरी अझै शक्तिशाली हुँदै गइरहेको चेतावनी दिएका छन् ।
चीनले महत्त्वपूर्ण धातु निर्यातमा प्रतिबन्ध लगाउने, टंग्स्टन खानी झन् नाफामूलक बन्ने
काठमाडौं । चीनले यस हप्ताको अन्त्यमा महत्त्वपूर्ण धातु टंग्स्टनको निर्यात सीमित गर्न थाल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जबकि यो धातुका लागि चिनियाँ आपूर्तिकर्ताहरूको विकल्पहरू पुनः सञ्चालनमा आउँदैछन् । पछिल्ला केही दशकमा चिनियाँ व्यवसायहरूले सस्तो टंग्स्टनलाई विश्व बजारमा प्रतिस्पर्धीहरूलाई कमजोर बनाउन प्रयोग गरेका थिए । आपूर्ति श्रृंखलाको ८० प्रतिशत नियन्त्रण गरेको स्थिति उल्टिने सम्भावना रहेको आर्गसले जनाएको छ । टंग्स्टन अत्यन्त कडा धातु हो, जसलाई हतियार र सेमिकन्डक्टरहरूमा प्रयोग गरिन्छ । ‘दुवै उद्देश्य’ (सैन्य वा नागरिक) मा प्रयोग गर्न सकिने वस्तुहरूको निर्यातलाई सीमित गर्ने नयाँ नियमको हिस्सा रूपमा चीनको वाणिज्य मन्त्रालयले यस महिनाको सुरुमा एउटा सूचना जारी गरेको थियो । यसले टंग्स्टन र अन्य महत्त्वपूर्ण खनिज उत्पादनहरू निर्यात गर्न चाहने व्यवसायहरूले लाइसेन्सको लागि आवेदन दिनुपर्नेछ । यी नयाँ मापदण्डहरू डिसेम्बर १ देखि लागू हुनेछन् । अमेरिका-चीन तनावले गैर-चीन टंग्स्टनको माग बढाएको छ । अमेरिकी रक्षा विभागले आफ्ना ठेकेदारहरूलाई जनवरी १, २०२७ देखि चीनबाट खनिएको टंग्स्टन किन्न प्रतिबन्ध लगाएको छ । हलगार्टन एन्ड कम्पनीका प्रमुख र खानी रणनीतिकार क्रिस्टोफर एक्लेस्टोनले भने, ‘टंग्स्टनमा चिनियाँहरूको लागि यो अलि ढिलो भएको छ ।’ ‘सबैलाई थप टंग्स्टन चाहिन्छ । टंग्स्टन उत्पादन बढाउन प्रेरित गर्ने मुख्य कुरा चिनियाँ प्रतिबन्ध होइन । यो प्रतिबन्धले टंग्स्टन खानीलाई अझ नाफामूलक बनाउँछ,’ उनले थपे । एक्लेस्टोनका अनुसार टंग्स्टनको मूल्यमा चीनको घोषणाले खासै प्रभाव पारेको छैन । धातुखानीलाई नाफामूलक बनाउन मूल्यहरू हालको लगभग ३३५ अमेरिकी डलर प्रति मेट्रिक टन एकाइभन्दा ५० डलरले माथि हुनुपर्ने अनुमान उनले गरेका छन् । आधिकारिक रेकर्डअनुसार अमेरिकाले सन् २०१५ देखि व्यावसायिक रूपमा टंग्स्टन उत्खनन गरेको छैन । तर यो वर्ष दक्षिण कोरियाको एक विश्वकै ठूलाे खानी उत्पादन पुनः सञ्चालनमा आउने तयारीमा छ । क्यानाडास्थित अल्मोन्टी इन्डस्ट्रीजले हालै दक्षिण कोरियाको साङडोङ खानी र प्रशोधन प्लान्ट पुनः सञ्चालनको नजिक पुगेको जनाएको छ । साङडोङ खानीले पहिलो चरणमा २५० प्रत्यक्ष रोजगारी र १ हजार ५०० अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । गत हप्ता यो साङडोङ खानी र ग्राइन्डिङ उपकरण जडानको साथ प्रशोधन प्लान्ट पूर्ण रूपमा खोल्न एक कदम नजिक आएको बताइएको छ । यो खानी सन् १९९४ मा बन्द भएको थियाे । प्राकृतिक स्रोतको उपलब्धताको विश्लेषण गर्ने सरकारी एजेन्सी अमेरिकी भूगर्भ सर्वेक्षणका धेरै सदस्यहरूले यस वर्षको सुरुमा साङडोङको भ्रमण गरेका थिए । चीन भित्र र बाहिर टंग्स्टनको माग बढ्ने अपेक्षा गरिएको छ । अमेरिकामा टंग्स्टन उत्पादन नभए पनि अमेरिकी भूगर्भ विभागले १२ राज्यहरूमा टंग्स्टनको पर्याप्त भण्डार रहेको पहिचान गरेको छ । अर्कोतर्फ, डेमेस्ने रिसोर्सेस नामक क्यानाडाली कम्पनीले इडाहोमा रहेको आईएमए टंग्स्टन खानीलाई खरिद गर्ने सम्झौता गर्न लागेको जनाइएको छ । (एजेन्सीको सहयोगमा)