१३ नेपाली रसियामा अलपत्र, ‘काम मिलाइदिन आग्रह गर्दा उल्टै म्यानपावरको धम्की’
काठमाडौँ । ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन् ।बौद्धस्थित काठमाडौँ ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महिना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन् । अलपत्र पर्नेमा रामेछापका खगेन्द्रबहादुर सुनुवार, गोविन्द तामाङ र कुमार मगर, इलामका प्रेमबहादुर गुरुङ र शेरबहादुर गुरुङ, धनकुटाका बोमदेवान राई, पाँचथरका विनोद गुरुङ, ओखलढुङ्गाका तेजबहादुर राई, नवलपुरका दीपबहादुर आले मगर र सुजन झण्डी मगर, चितवनका अनिल तामाङ, काठमाडौँका सविन बस्ताकोटी तथा उदयपुरका देवराज विष्ट रहेका छन् । दुई चरणमा गरेर रसिया पुगेका ३४ कामदारमध्ये केहीलाई आंशिक मात्रामा काम दिएर न्यून पारिश्रमिक मात्र दिइएको बताइएको छ । ५०० अमेरिकी डलर मासिक पारिश्रमिक दिने भनी सम्झौता गरेर लगिए पनि अहिले विभिन्न बहानामा कम्पनीले आठ हजारमात्र पारिश्रमिक दिएको कामदारले आरोप लगाएका छन् । कामदारले पाउनुपर्ने तलब अर्को महीना दिन्छौँ भन्दै आए पनि अहिलेसम्म पूरा तलब नपाएको उनीहरुको भनाइ छ । रसिया ओर्लनेबित्तिकै कम्पनीको आधिकारिक प्रतिनिधि नआइ एजेन्टलाई लिन पठाइएको थियो । “रसियाको विमानस्थलमा झरेपछि रसियन एजेन्टले हामीलाई सेन्टपिटरवर्ग जाने ‘ट्रेन’मा चढाएर छाड्यो”, अलपत्र परेका कामदार प्रेमबहादुरले भने, “त्यसपछि फेरि भारतीय एजेन्ट आएर हामीलाई लग्यो, काम लगाइदिने आश्वासन दिएर उ पनि फरार भयो ।” कामको आश्वासनमा मेनपावर कम्पनीले पठाएको ४०० अमेरिकी डलर अमृक सिंह भन्ने सो भारतीय एजेन्टलाई दिइएको उनले बताए । खान, बस्न, यातायात सुविधा, निरन्तर काम, जाँदा, आउँदा हवाई टिकट कम्पनीले व्यहोर्ने दोहोरो सम्झौता गरेर गएका उनीहरुले अहिलेसम्म कुनै पनि सेवा सुविधा प्राप्त गरेका छैनन् । काम नपाएर अलपत्र परेका कामदारलाई पटक/पटक डेरा सारिएको उनको भनाइ थियो । अलपत्र कामदार प्रेमबहादुरले भने, “हामी यहाँ आएदेखि नै काम दिनुको सट्टा दुई पटक डेरा सार्यो ।” तत्कालका लागि खानाका केही प्रबन्ध गरेको भए पनि केही दिन अघिमात्रै आएको रसियन एजेन्टले मङ्गलबारदेखि खाना खान दिन नसक्ने र खानाको आफै व्यवस्था गर्न भनेको अलपत्र परेका कामदारको भनाइ छ । खान, बस्न, यातायात सुविधा, निरन्तर काम, जाँदा, आउँदा हवाई टिकट कम्पनीले व्यहोर्ने दोहोरो सम्झौता गरेर गएका उनीहरुले अहिलेसम्म कुनै पनि सेवा सुविधा प्राप्त गरेका छैनन् । “रोजगारदाता कम्पनी र कामदारबीच सेवा सुविधाको सम्बन्धमा दोहोरो सम्झौता भएको छ”, प्रेमबहादुरले भने, “तर कम्पनीले हामीलाई सम्झौता अनुसारको व्यवहार गरेको छैन ।” दुई पक्षबीच भएको सम्झौताअनुसारको काम गर्ने वतावरण निर्माण गरिदिन पटक÷पटक म्यानपावर कम्पनीसँग आग्रह गरे पनि बेवास्ता गर्दै आएको उनीहरुको भनाइ थियो । “हामीले पटक/पटक मेनपावर सञ्चालकलाई काम दिलाइदिन आग्रह गरेकाछौँ, उसले विभिन्न बहानामा टार्दै आएको छ”–अलपत्र परेका अर्का कामदार बोम देवान राईले भने, “म्यानपावर सञ्चालकले उल्टो हामीलाई धम्क्याउँदै आएको छ ।” सो म्यानपावर कम्पनीले रसियाको सेन्ट पिटरवर्गस्थित फाइनभल कम्पनीबाट ‘गार्मेन्ट टेलर’को पदमा ४० पुरुष कामदारको माग ल्याएको थियो । म्यानपावरले चर्को सेवा शुल्क लिएर दुई चरणमा ३४ नेपालीलाई रसिया उडाएको थियो । पहिलो चरणमा गत फागुन २९ गते २५ युवा र गत चैत ७ गते नौ युवालाई रसिया उडाएको थियो । वैदेशिक रोजगार विभागले रु १० हजार सेवा शुल्क लिएर कामदार पठाउन उक्त म्यानपावर कम्पनीलाई स्वीकृति दिएको भए पनि कामदारसँग रु एक लाख ६० हजारदेखि तीन लाख २५ हजारसम्म असुलेको अलपत्र परेका कामदारले आरोप लगाएका छन् । उल्टो हप्काउँछन् दूतावासका कर्मचारी दुई देशबीचको सम्बन्धलाई सुधार गर्दै जुनसुकै पक्षमा समस्या आइपरे कूटनीतिक ढङ्गबाट समाधान खोज्नका लागि क्रियाशील हुनुपर्ने नेपाली दूतावाससमेत अलपत्र कामदारको उद्धारमा मौन रहेको छ । आफूहरु तीन महिनादेखि अलपत्र परेको पटक÷पटक जानकारी गराउँदा पनि दूतावासले कुनै चासो व्यक्त नगरेको पीडित कामदारको भनाइ छ । ‘सुतेर तलब पाइन्छ भनेर आएको’ भन्दै हाम्रा पीडालाई हावामा उडाइ दिन्छन् ।” “अलपत्र परेर दूतावासमा हारगुहार गर्दा उल्टो दूतावासका कर्मचारीले हप्काउछन्”, अर्का कामदार विनोद गुरुङले भन्नुभयो, “काम गर्नका लागि सहजीकरण गरिदिनुको सट्टा ‘काम गर्न नजानेको भए किन आएको त’, ‘सुतेर तलब पाइन्छ भनेर आएको’ भन्दै हाम्रा पीडालाई हावामा उडाइ दिन्छन् ।” मस्कोस्थित नेपाली दूतावासले आफूहरुको समस्या समाधान गर्न कुनै चासो व्यक्त नगरेको पीडित कामदारको गुनासो छ । उद्धार गरेर आफूहरुलाई नेपाल फर्काइदिन उनीहरुले नेपाल सरकार र मस्कोस्थित नेपाली दूतावाससमक्ष आग्रह गरे । खाना होइन, ‘म्यानपावरको धम्की’ खान बाध्य आफूहरुलाई शर्त अनुसारको काम मिलाइदिन पटक/पटक आग्रह गरे पनि म्यानपावर कम्पनीले पनि कुनै वास्ता नगरेको उनीहरुको भनाइ छ । “काम दिने वा काम दिन नसके स्वदेश फर्काउने कुरै गर्दैन म्यानपावर सञ्चालक”, पीडित कामदारहरुले एकैस्वरमा भने, “उल्टो जे गर्छस् गर भनेर धम्क्याउँछ, हामी खाना होइन, बारम्बार ‘म्यानपावरको धम्की’ खान बाध्य छौँ ।” म्यानपावर सञ्चालकले कुनै अवस्थामा नेपाल फर्केको खण्डमा ‘बौद्ध आउने होइन’ भन्दै धम्क्याएको उनीहरुको गुनासो छ । त्यसोतः रसियामा नेपाली कामदार अलपत्र पारेको सो म्यानपावर कम्पनीलाई पछिल्लो समय वैदेशिक रोजगार विभागले विवरण नबुझाएको भन्दै अनलाइन कारोवार बन्द गरिदिएको छ । रसियामा नेपाली कामदार अलपत्र पारेको सो म्यानपावर कम्पनीलाई पछिल्लो समय वैदेशिक रोजगार विभागले विवरण नबुझाएको भन्दै अनलाइन कारोवार बन्द गरिदिएको छ । कारोबार बन्द गरिएका ४८ वटा म्यानपावर कम्पनीको सूचीमा काठमाडौँ ब्राइट ह्युमन रिसोर्स प्रालि (दर्ता नं १३९८/२०७४/०७५) २५ औँ नम्बरमा छ । काम नपाएर अलपत्र परेका कामदारलाई छिट्टै नेपाल फर्काउने गरी पहल भइरहेको मेनपावर सञ्चालक पासाङ शेर्पाको भनाइ छ । उनले भने, “हामी निरन्तर रोजगारदाता कम्पनीको सम्पर्कमा रहेका छौँ । काम नपाएका १३ जनामध्ये केहीलाई कम्पनीले अर्को काम दिन्छु भनेको छ, काम नपाउने कामदारलाई नेपाल फर्काउछौँ, अलपत्र परेका कामदारलाई खाना बस्नको कुनै समस्या छैन् ।” स्वदेश फर्कन चाहने कामदारलाई १५ दिनभित्र नेपाल फर्काइने उनको भनाइ थियो । रासस
इपीएस भाषा परीक्षाको केन्द्र तोकियो (नामावलीसहित)
काठमाडौँ । रोजगार अनुमति प्रणाली(इपीएस) अन्तरगत सन् २०१९ को कोरियाली भाषा परीक्षाको लागि तोकिएका ३२ परीक्षा केन्द्रको नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले जेठ २५ र २६ गते हुने परीक्षाको परीक्षा केन्द्र निधारण गरेको हो । ईपीएस शाखाका अनुुसार काठमाडौँमा २१, ललितपुरमा ७ र पोखरामा ४ केन्द्र तोकिएको छ । यी हुन् परीक्षा केन्द्र काठमाडौँ र ललितपुरमा जिल्लाका वाग्मती बोर्डिङ स्कूल सुकेधारा, द न्यू समिट स्कूल मैतिदेवी, आदर्श बिद्या मन्दिर मानभवन, लिटिल एन्जल स्कूल हात्तिवन, एलआरआई स्कूल कलंकी, एनकेसिंह मेमोरियल स्कूल मीनभवन, भीएस निकेलन मीनभवन, ल्याब्रोटरी उच्च मावि किर्तिपुर, नाइटिङ्गल स्कूल कुपण्डोल, मुनलाइट मावि कुमारीपाटी, लोयल्टी एकेडेमी मण्डीखाटार, काठमाडौँ मोडल कलेज बालकुमारी, गोल्डेनगेट कलेज बत्तीसपुतली, हिमालय कलेज कोटेश्वर, हिमालयन ह्वाइट हाउस कलेज तीनकुने, लिटिल एन्जल्स हात्तिवन, नोबेल एकेडेमी नयाँ बानेश्वर, पिनाकल एकेडेमी लगनखेल, टाइम्स इन्टरनेशनल डिल्लीबजार, ट्रिनिटी कलेज कालिकास्थान, युनिभर्सल कलेज शान्तिनगर, भीएस निकेतन तीनकुने, जेभियर इन्टरनेशनल कलेज कालोपुल, जेभियर इन्टरनेशनल स्कूल बौद्ध, रेडन कलेज समाखुसी, किस्ट कलेज कमलपोखरी र साउन बोस्टर्न स्टेट कलेज बसुन्धरा परीक्षा केन्द्र तोकिएका हुन् । त्यसैगरी, पोखराका पोखरा पब्लिक स्कूल चौथे, स्टेप बाई स्टेप सेकेण्डरी स्कूल मासवार, लिटिल स्टेप सेकेण्डरी स्कूल सिमल चौर र सिर्जना सेकेण्डरी स्कूल सिर्जनाचोकमा परीक्षा सञ्चालन हुनेछ । २ सत्रमा परीक्षा सञ्चालन एक दिनमा दुई वटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो दिन बिहान ९ देखि १० बजेसम्म परीक्षार्थीलाई अभिमुखीकरण गरिनेछ । १० देखि १०ः२५ बजेसम्म पढाइ र १०ः२५ देखि १०ः५० सम्म सुनाइ परीक्षा लिइनेछ । दोस्रो सत्रमा मध्याह्न १२ः३० देखि १३ः३० सम्म अभिमुखीकरण, १३ः३० देखि १३ः५५ सम्म पढाइ र १३ः५५ देखि १४ः२० सम्म सुनाइ परीक्षा हुनेछ । भाषा परीक्षामा ९२ हजार सहभागी हुँदै सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ । कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन् । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् । सन् २०१८ मा भाषा परीक्षा उत्तीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । नतिजा असार १३ गते प्रकाशित गरिने भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशित गरिनेछ । ५८ हजार नेपाली कोरियामा हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । त्यस्तै कोरिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकलगायत सामाजिक सुरक्षासमेत प्राप्त गर्नेछन् । सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५-२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।
सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो, ४ देखि ११ तहसम्म ६६ जनालाई अवसर
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा विभिन्न पदमा ६६ जनालाई जागिरको अवसर खुलेको छ । लोकसेवा आयोगको सहमतिमा कोषमा रिक्त रहेका पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नका लागि कोषले शुक्रबार आवेदन खुलाएको छ । ११ तहका उपकार्यकारी निर्देशकदेखि ४ तहका सहायक कम्प्युटर अपरेटरसम्म आवेदन खुलाइएको हो । निर्देशक, वरिष्ठ सहायक निर्देशक, सहायक निर्देशक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, सूचनाप्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, सहायक लेखापाल र सहायक कम्प्युटर अपरेटर पदमा आवेदन खुलाएको कोषले जनाएको छ । असार ५ गतेसम्म इच्छुक उम्मेदवारले अनलाइन मार्फत आवेदन दिन सक्ने कोषले जनाएको छ । १२ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ । ११ तहका लागि १५०० सय, ९ र १० तहका लागि १२०० सय(समावेशी प्रत्येक समूहको थप ५००), ६, ७ र ८ तहका लागि १०००(समावेशी प्रत्येक समूहको थप ४००), ५ तहका लागि ४००(समावेशी प्रत्येक समूहको थप २००) र तह ४ का लागि ३००(समावेशी प्रत्येक समूहको थप १५०) दस्तुर बुझाई आवेदन दिन सकिने छ । परीक्षा केन्द्र काठमाडौँमा रहने र लोकसेवा आयोगबाट परीक्षा सञ्चालन हुने जनाइएको छ ।