बैंक अफ काठमाण्डूको सहायक प्रमुख कार्यकारी अधिकृतमा बिमल डागा नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डूले बिमल डागालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । स्टयान्डर्ड चार्टर्डबाट बैंकिङ्ग करियर सुरु गरेका उनको २६ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ । कर्जा व्यवसाय तथा कर्जा जोखिम व्यवस्थापनमा विज्ञता हासिल गरेका उनले स्टयान्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष तथा एनआईसी तथा मर्जपछि एनआईसी एशियामा १३ वर्ष कार्य सम्पादनको अनुभव हासिल गरेका छन् । बैंक अफ काठमाण्डूमा नियुक्ती प्राप्त गर्नु अघि बैंकिङ्ग तालिम प्रदान गर्ने संस्थाहरु बिआइएम र एनबिआईमा तालिमकर्ताको रुपमा सक्रिय रहेका थिए । दिल्लीको श्रीराम कलेजबाट स्नातक साथै काठमाडौँ विश्व विद्यालयबाट एमबिए गरेका उनको नियुक्ति पछि बैंकले आगामी दिनमा कर्जा व्यवसाय र जोखिम व्यवस्थापनमा थप सुधार हुने विश्वास व्यक्त गरेको छ ।
एनआईसी एशिया बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी
काठमाडौँ । एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले डेपुटी म्यानेजरदेखि चार्टर्ड एकान्टेण्टसम्म माग गरेको हो । बैंकले हेड अफ इन्स्टिच्यूशन(डेपुटी म्यानेजर) १ जना, डेपुटी हेड (ट्रेजरी) १ जना, डेपुटी हेड अफ सीएएसए १ जना, डेपुटी हेड (रेमिट्यान्स) १ जना, डेपुटी हेड (ब्राण्डिङ, कर्पोरेट कम्युनिकेश एण्ड सीएसआर) १ जना, डेपुटी हेड (कम्प्लायन्स डिपार्टमेन्ट) १ जना माग गरेको हो । त्यसैगरी ब्राञ्च म्यानेजर केही, रिलेशनसीप म्यानेजर केही, सर्भिस म्याजेजर केही, क्रेडिट अफिसर केही, सेन्ट्रल सर्पोट अफिसर केही, इन्फरमेशन टेक्नोलोजी अफिसर केही, डिजिटल च्यानल सिनियर अफिसर केही, फाइनान्स अफिसर केही, जेनरल एडमिनिस्ट्रशन अफिसर केही, ट्रेजरी अफिसर केही, कम्प्लायन्स अफिसर केही र चार्टर्ड एकाउन्टेण्ट केही संख्यामा माग गरेको हो । बैंकले माग गरेको पदमा आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले साउन ८ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।
वैदेशिक रोजगारीः वर्षौं काम गरेर रित्तैहात फिर्छन् नेपाली
काठमाडौँ । तपाईंका आफन्त, साथीभाइ, छरछिमेकी रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक पुगेको त देख्नुभएकै होला । विदेशमा काम गर्न गएका उनीहरुले पक्कै पनि राम्रै कमाई गरिरहेका छन् भन्ने लगभग सबैको अनुमान हुन्छ । वैदेशिक रोजागरीमा जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, पर्याप्त सेवासुविधा अनि, यस्तैयस्तै अवसर प्राप्त गर्दछन् आम मानिसको बुझाइ पाइन्छ । चर्को ब्याजको भारी बोकेर ठूलो धनराशी खर्चदैँ विदेशिएका युवाले वर्षौंवर्ष काम गर्दा पनि रित्तो हात फर्कनुपर्ने तीतो यथार्थ भने कमैले सुनेका हुन्छन् । अझै पनि सम्झौताअनुसारका काम र पारिश्रमिक प्राप्त गर्ने अवस्थाबाट वञ्चित हुनु सामान्य नै देखिएको छ । राम्रो कमाउने, घरपरिवारलाई सुखसाथ पाल्ने, सन्तानलाई उचित शिक्षादीक्षा दिने अभिलाषा राखी उडेका सयौँ नेपालीका सपना अझै पनि खाडीलगायत कतिपय गन्तव्य मुलुकमा ‘उडेका उड्यै’ छन् । कति त सपनालाई सधैँका लागि छाडेर बन्द बाकसमा फर्किन विवश छन् । यस्तै दैनिक गर्जो टार्न साउदी अरेबिया भासिएका सर्लाहीको तत्कालीन ब्रह्मपुरी गाविस–६ का ३६ वर्षीय सोमन साह रौनियार ४० महीनापछि झण्डै रित्तै स्वदेश फर्किएका छन् । साउँ–अक्षर नचिन्नुभएका उहाँ एजेण्टले थमाइदिएको श्रम स्वीकृति, करारपत्र र हवाई टिकटका भरमा साउदी उडे । एजेण्टले उनलाई ‘सेल्स म्यान’को काम भन्दै कृषि मजदूरको सम्झौता हातमा थमाइदिएको थियो । रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेबित्तिकै रौनियारलाई सो स्थानबाट करीब ३३५ किलोमिटर टाढा जङ्गलमा लगियो । त्यतिबेलै उहाँलाई मनमा लागेको थियो, “सेल्स म्यानको कामका लागि जङ्गलमा त नलैजानुपर्ने ।” जङ्गलमा लगेपछि उहाँलाई जबर्जस्ती खेतीपातीको काम गर्न लगाइयो तर विना पारिश्रमिक । दुई वर्षको प्रवेशाज्ञा र श्रम स्वीकृति लिएर जानुभएका रौनियारलाई मुबारक फार्मले जबर्जस्ती झण्डै साढे तीन वर्ष काममा लगायो । मासिक साउदी रियाल एक हजार पारिश्रमिक र खाना–बस्न साउदी रियाल २०० दिने सम्झौता भए पनि उहाँले कुनै महिना पनि सम्झौताअनुसारको पारिश्रमिक प्राप्त गरेनन् । “सम्झौतामा उल्लेख भएअनुसार मैले झण्डै साउदी रियाल ५० हजार प्राप्त गर्नुपर्ने थियो”, अलपत्र कामदारको उद्धार तथा पुनस्र्थापनामा क्रियाशील प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको कार्यक्रममा रौनियारले भने, “मैले विभिन्न चरणमा गरेर साउदी रियाल २१ हजार २५० मात्र पाएको छु ।” जङ्गलको बीचमा रहेको कृषि फार्ममा आफूलाई जबर्जस्ती काममा लगाइएको उनले बताए । “कहिले खेतमा ट्र्याक्टरले जोत्न लगाउँथ्यो”, उनले भने, “कहिले ऊँट, बाख्रा हेर्न लगाउँथ्यो ।” रौनियारले दुई वर्षको करार अवधि सकिएपछि नेपाल फर्कन्छु भन्दा आफूलाई मालिकले फार्मबाट बाहिर निस्कन नदिएर बन्दी बनाएको बताए । उनले पारिश्रमिक प्राप्त गर्ने आशामा आफू सो कम्पनीबाट भाग्न नसकेको सुनाए । उक्त फार्ममा छ जना नेपाली काम गर्दै आएका थिए । अन्य मुलुकबाट गएको श्रमिकलाई पनि जबर्जस्ती काममा लगाइएको उनको भनाइ छ । छ महीनाअघि रित्तो हात स्वदेश फर्कनुभएका रौनियार खाडीमा बगेको रगत र पसिनाको मूल्य खोज्न म्यानपावरको ढोका ढक्ढक्याउन राजधानीमा पापड पेल्दै छन् । उनी कसमस नेपाल ह्युमन रिसोर्सेस प्रालिबाट २०७२ सालमा साउदी उडेका थिए । यसैगरी मोरङका २९ वर्षीय दिनेश खड्का, धनुषाका ४९ वर्षीय रोशन प्रमानीलगायत युवा खाडीमा बगेका पसिनाको मूल्य खोज्दै कागजको ठेली बोकेर म्यानपावर धाइरहेका छन् । “न त पैसा कमाइयो, न त साथमा पैसा नै छ”, राजधानीस्थित प्रवासी नेपाली समन्वय समितिको आश्रयस्थलमा बस्दै आएका प्रमानीले भने, “सयकडा तीनका दरले ऋण काडेर विदेश गइयो, रित्तै हात फिर्नु परेको छ, अब कसरी घर जाऊँ ।” म्यानपावरले भने एक साताभित्र बाँकी रकम उपलब्ध गराइदिने वचन दिएको छ । रित्तो हात फिर्न विवश नेपालीलाई समितिले पसिनाको मूल्य खोज्न कानूनी सहायता उपलब्ध गराएको छ । उनीहरु अहिले समितिको आश्रयमा बस्दै आएका छन् । पारिश्रमिक नपाउने घटना कतारमा बढी सन् २०१८ मा गन्तव्य मुलुकका विभिन्न कम्पनीमा काम गर्दा पारिश्रमिक नपाएको भन्दै समितिमा २५४ वटा घटना दर्ता भएको थियो । दर्ता भएका २५४ मध्ये १०० घटनालाई आधार बनाएर गरिएको नमूना अध्ययनमा सबैभन्दा बढी कतारमा काम गर्ने २९ नेपाली कामदारले पारिश्रमिकबाट वञ्चित भएको पाइएको छ । त्यस्तै साउदी अरबमा २५, मलेसियामा २१, संयुक्त अरब इमिरेट्स्मा १३, कुवेतमा छ, अल्जेरियामा पाँच र माल्दिभ्समा एक जनाले पारिश्रमिक प्राप्त नगरेको पाइएको समितिले जनाएको छ । अध्ययनका क्रममा ६७ जनाले कम्पनीको लापरवाहीका कारण आफूहरुले पारिश्रमिक नपाएको बताएका थिए । त्यस्तै १५ ले कम्पनीमा काम नभएकाले तथा आठ जनाले फरक कामको विरोध गरेकाले आफूहरुलाई पारिश्रमिकबाट वञ्चित गराइएको बताएका थिए । ‘प्रवासी कामदारका लागि प्रवासी कामदारद्वारा’ सन् २००९ मा स्थापित समितिले हालसम्म एक लाख २० हजारभन्दा बढी आप्रवासी कामदारको उद्धार तथा राहतमा सहजीकरण गरिएको जनाएको छ । स्थापनाकालदेखि नै विपद्मा परेका प्रवासी कामदारको उद्धार तथा पुनस्र्थापनामा क्रियाशील समितिले हालसम्म ५०० भन्दा बढी प्रभावित कामदारलाई आवास सुविधा प्रदान गरेको छ । समितिले प्रवासमा अलपत्र परेका नेपाली कामदारको उद्धार तथा स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण, सुरक्षित वैदेशिक रोजगारका बारेमा जनचेतामूलक कार्यक्रम सञ्चालन, पैरवी तथा वकालत, शैक्षिक सहयोग तथा कानूनी प्रक्रियाका लागि सिफारिसलगायत गतिविधि गर्दै आएको अध्यक्ष कुलप्रसाद कार्कीले बताए ।