सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः रतनलाल केडिया चयन
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको १४९ औं बैठकले अध्यक्षमा पुनः रतनलाल केडियालाई चयन गरेको छ । असार १३ गते सम्पन्न कम्पनीको १७औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरु निर्वाचित गरेको थियो । साधारण सभाले रतनलाल केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि सञ्चालकमा निर्बिरोध निर्वाचित गरेको थियो ।
प्राविधिक शिक्षाः स्वरोजगारसहितको दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता
काठमाडौं । मुलुकको प्राथमिकतामा रहेको प्राविधिक शिक्षा गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्वारा आयोजित प्राविधिक शिक्षा एवं व्यावसायिक तालिमको विस्तार, विकास तथा गुणस्तर सुनिश्चितता विषयक परामर्श बैठकमा वक्ताहरूले दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्राविधिक शिक्षा प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । श्रम, रोजगारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी गराउँदै उनले लगानीअनुसारको प्रतिफल प्राप्त गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौं विश्वविद्यालयका पूर्वडिन प्रा. डा. टङ्कनाथ शर्माले प्रविधि र व्यावसायिक शिक्षा तथा तालिमको सान्दर्भिकता, पहुँच र गुणस्तर विषयक कार्यपत्र प्रस्तुत गर्दै सरकारले प्राविधिक शिक्षा तथा तालिमका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको उल्लेख गरेका छन् । मुलुकको कूल बजेटको १.५ प्रतिशत मात्र रकम प्राविधिक शिक्षा तथा तालिमका लागि विनियोजन हुने गरेको बताउँदै उनले उक्त विषयका लागि विभिन्न ११ मन्त्रालयअन्तर्गत रहेको रकमलाई बास्केटमा राखेर एकरुपता दिनुपर्ने आवश्यकता औँल्याए । यसैगरी, गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले प्राविधिक तथा व्यावसायिक शिक्षा उत्पादनसँग जोडिनुपर्नेमा उनले जोड दिएकी छन् । अर्का सदस्य रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा उत्पादित दक्ष प्राविधिक जनशक्तिलाई विदेशमा नभई स्वदेशमै रोजगार दिने वातावरण तयार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । रासस
वित्तीय क्षेत्रमा ४५५ जनालाई जागिर खुल्यो, सेञ्चुरीमा १६९, हिमालयनमा ८६ र जनता बैंकमा २ सयलाई अवसर
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडमा २५५ जनालाई जागिरको अवसर खुलेको छ । सञ्चुरी कमर्सियल बैंकले १ जना डेपुटी म्यानेजर, १ जना असिस्टेण्ड म्यानेजर, १ जना अफिसर, १ जना असिस्टेण्ट अफिसर, १ जना सुपरभाइजर, ३ जना सिनियर असिस्टेण्ट, १ जना सिनियर असिस्टेण्ड(आईटी सिस्टम), म्यानेजमेन्ट ट्रेनी ३० जना, ५ जना जुनियर असिस्टेण्ट(आइटी डिपार्टमेन्ट) र १२५ जना ट्रेनी असिस्टेण्ट गरी १६९ जना कर्मचारी माग गरेको हो । बैंकले माग गरेको आवश्यक योग्यता पूरा गरेका इच्छुक उम्मेदवारहरुले साउन १ गते भित्र आवेदन दिन सक्ने जनाइएको छ । यता, हिमालयन बैंक लिमिटेडमा ८६ जनालाई जागिरको अवसर खुलेको हो । बैंकले ४३ जना सुपरभाइजर र ४३ जना जुनियर असिस्टेण्ड माग गरेको छ । ४२ सुपरभाइजका लागि फाइनान्स, बैंकिङ र इकोनोमिक्समा स्नातकोत्तर उत्तीर्ण तथा १ जना अर्का सुपरभाइजरका लागि एलएलबी उत्तीर्ण गरेको तथा ३५ वर्ष ननाघेको हुनु पर्नेछ । त्यसैगरी जुनियर असिस्टेण्टका लागि फाइनान्स, बैंकिङ र इकोनोमिक्समा स्नातक उत्तीर्ण र २८ वर्ष ननाघेको हुनु पर्नेछ । योग्यता पुगेका उम्मेदवारहरुले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । यता, जनता बैंकले पनि २ सय जना कर्मचारी माग गरेको छ । म्यानेजमेन्ट ट्रेनी पदमा ५० जना र जुनियर असिस्टेन्टका लागि १५० जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुकहरुले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।