आठ इँटा उद्योगमा डोजर लगाउन नगरपालिकाले दियाे निर्देशन, ९० कराेड नाेक्सान

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ । महासङ्घले जारी गरेको विज्ञप्तिमा उद्योगका चिम्नि, पाकेका इँटा, बासस्थान तथा कार्यालय भवन ध्वस्त हुँदा सो मूल्यबराबरको सामग्री क्षति भएको आरोप लगाउँदै त्यस कार्यको भर्सर्ना समेत गरेको छ । सरकारले उद्योग प्रतिष्ठानको विकास, प्रवद्र्धन र संरक्षण गर्नुपर्नेमा उल्टो डोजर लगाएर व्यक्तिगत सम्पत्ति नोक्सानी पुर्याउने, उद्योगी व्यवसायीलाई मानसिक रुपमा यातना दिने कार्य गरेकाले यसको छानविन गरी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकाय समक्ष महासङ्घले माग गरेको छ । त्यस्तै पछिल्लो समयमा काठमाडौँको चन्द्रागिरि नगरपालिकालेसमेत आफ्नो क्षेत्रभित्रका इँटा उद्योग सञ्चालनमा रोक लगाउन पत्र काटिसकेको भन्दै यसले संवैधानिक हक हननको घटना बढाएको महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परम्परागत भुस्से इँटा बनाउन छोडेर आधुनिक प्रविधि प्रयोग गर्दै आएको र यसबाट वायु प्रदूषण कम गर्न योगदान पुर्याउँदै आएको जनाइएको छ । महासङ्घले इँटा व्यवसाय विद्यमान कानूनको विधि र प्रक्रियाअनुसार दर्ता भएका, कर तिर्ने गरेका र सामाजिक उत्तरदायित्वका कामसमेत गर्दै आएकाले ती देशका जिम्मेवार व्यवसायी भएको उल्लेख गरेको छ । रासस

मलेसिया रोगजारी खुलाउन भदौ २४ र २५ गते प्राविधिक कमिटीको बैठक बस्ने

काठमाडौँ । मलेसिया रोजगारीलाई मूर्त रुप दिन यही भदौ २४ र २५ गते नेपाल र मलेसियाको प्राविधिक कमिटीको बैठक बस्ने भएको छ । दुवै मुलुकबीच श्रम समझदारी सम्पन्न भएपछि बाँकी रहेको प्राविधिक विषय टुङ्ग्याउने बारेमा बैठकमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । मलेसियामा हुने सो बैठकमा समझदारी कार्यान्वयन प्रक्रियामा हालसम्म भएका प्रगतिका बारेमा समेत बैठकमा छलफल हुनेछ । बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्यौल अन्त्य गर्ने र ‘मोडालिटी’ तय गर्ने बताइएको छ । बैठकले समझदारी कार्यान्वयनमा आएको समस्याको समाधान खोज्नेछ । बैठकमा नेपालको तर्फबाट सात सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ । नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सहसचिव (दुई), परराष्ट्र र कानून मन्त्रालयका सहसचिव एक÷एक जना, श्रम मन्त्रालयका उपसचिव एक जना र मलेसियास्थित नेपाली दूतावासबाट दुई जना प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ । दुई मुलुकबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसिया रोजगार नियमित हुन सकेको छैन । पहिलो प्राविधिक कमिटीको बैठक श्रम समझारीलगत्तै काठमाडौँमा बसेको थियो । गत असारमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन जेनेभा पुगेका नेपाल र मलेसियाका उच्च अधिकारीबीच छिट्टै प्राविधिक कमिटीको बैठक बस्ने सहमति भएको थियो । नेपाल र मलेसियाबीच गत कात्तिक ११ गते श्रम समझदारी भएको थियो । श्रम समझदारी भएको लामो समय भए पनि मलेसिया नियमित हुन सकेको थिएन । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १२२ वटा स्वास्थ्य संस्था सूचीकृत भइसकेका छन् । सरकारले मलेसिया जाने कामदारमाथि चर्को आर्थिक शोषण भएको भन्दै २०७५ जेठमा नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको थियो ।

इन्टेरियर डिजाइन अध्ययन गर्नेले बेरोजगार बस्नु पर्दैनः आइडिया नेपाल

काठमाडौं । इन्टेरियर डिजाइनर एशोसिएसन अफ नेपाल (आइडिया नेपाल) को ललितपुरस्थित पुल्चोकमा नयाँ कार्यालय सञ्चालन भएकाे छ । उक्त कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरबाबु महर्जनले गरेका हुन् । कार्यक्रममा एशोसिएसनका अध्यक्ष विन्द्रा कक्षपति प्रधानले इन्टेरियर डिजाइनरहरुको हकहित तथा प्रतिष्ठा र सचेतना बढाउन संस्था कटिबद्ध रहेको धारणा राखेकी थिइन् । साथै उनले यस क्षेत्रमा ज्ञान भएकाहरु कोहि पनि बेरोजगार बस्नु नपर्ने उल्लेख गर्दै रोजगार तथा स्वोरोजगार क्षेत्रको रुपमा इन्टेरियर डिजाइन लाई विकास गर्नुपर्नेमा जोड दिईन । यसका लागि राज्यस्तरबाट पहल कदमीका लागि एशोसिएसनले काम गर्ने उनको भनाई थियो । यस कार्यक्रममा सहभागीहरुले घर तथा अपार्टमेण्ट निमार्णको चरणबाटै इन्टेरियर डिजाइनलाई पनि सँगै लानुपर्नेमा जोड दिएका छन् । यसरी इन्टेरियर डिजाइन रोजगारीको नयाँ क्षेत्रको रुपमा विस्तार हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै यसलाई थप प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले आवाज उठाउन थालेका हुन् । यस विषयमा अध्ययन गर्नेले बेरोजगार बस्नु नपर्ने अवस्था रहेको भन्दै उनीहरुले सरकारले यस क्षेत्रलाई व्यवस्थापन सहित प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । विशेषतः घर, अपार्टमेन्ट, होटेल, हस्पिटल र रेस्टुरेन्टमा इन्टेरियर डिजाइनको माग बढ्दै गएको छ । अन्य पेसाजस्तै इन्टेरियर डिजाइनबाट पनि राम्रो कमाइ गर्न सकिने र समयअनुसार डिजाइनर ‘अपग्रेड’ हुनुपर्ने उनको भनाई छ । अहिले घर बनाई सकेपछि डेकोरेटरका रुपमा मात्र इन्टेरियरको काम हुने गरेको भन्दै उनले घर निर्माणको योजना बनाउँदादेखि नै इन्टेरियर डिजाइनलाई पनि सँगै अघि बढाउँदा खर्च कम हुनुका साथै राम्रो डिजाइन बन्ने उनको दाबी थियो । इन्टेरियर डिजाइनरलाई लिएर घरको सजावट डिजाइन गर्दा लागत धेरै हुन्छ भन्ने सोच गलत रहेको अध्यक्ष प्रधानको भनाई छ । “इन्टेरियर डिजाइनरले लिने भनेको लागेको समय, इनर्जी आइडियाको चार्ज मात्र हो । अरू बाँकी खर्च भनेको घरमा राखिने सामान र त्यसका गुणस्तरमा भर पर्छ ।” चार्ज कति लिने भन्ने कुरा समयको लगानी र श्रम हेरेर निर्धारण हुने उनको भनाई छ । संस्थाकी उपाध्यक्ष उषा रायमाझीले इन्टेरियर डिजाइनिङ गर्ने मात्र नभई यसमा फर्निसिङ गर्नेदेखि लिएर कलरिङ लाइटिङ लगायत विभिन्न किसिमका सामान प्रयोग गर्ने अनि पेन्टिङ, प्रिन्टिङ समेत हुने हुँदा घर भवन निमार्णको चरणसँगै इन्टेरियर डिजाइनलाई पनि सगसँगै लगेमा उत्कृष्ट हुने बताईन । इन्टेरियर डिजाइनरहरूले मासिक रूपमा काम गरेपनि औसत ५० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । कन्सलटेन्टहरूले भने कामको अवस्था अनुसार आफ्नो पारिश्रमिक लिने गरेका छन् । हाल नेपालमा यो बिषय अध्ययन गरेका ३ हजार बढी इन्टेरियर डिजाइनर छन् भने १५ हजार बढी यस क्षेत्रमा संलग्न रहेको एशोसिएसनको भनाई छ ।