कालिका लघुवित्तका सीईओ महेन्द्र अधिकारीको कार्यकाल थपियो

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्र अधिकारीको कार्यकाल थपिएको छ । चैत ११ गते बसेको संस्थाको वार्षिक साधारणसभाले अधिकारीको पदको कार्यभार थप २ वर्षको लागि थपेको हो । उनी गत असोज ३० गतेबाट २ वर्षको लागि संस्थाको सीईओ पदमा नियुक्त भएका थिए । तर हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको पदावधि थपेर ४ वर्ष पुर्याएको हो ।  यससँगै, उनले आगामी चार वर्ष अर्थात २०८१ सालसम्म संस्थाको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।

राष्ट्र बैंकका नवनियुक्त प्रवक्ता ढकालले आजदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त प्रवक्ता देवकुमार ढकालले आज(चैत ११ गते) कार्यभार सम्हाल्ने भएका छन् । चैत १० गतेदेखि बैंकको प्रवक्तमा तोकिएका ढकालले आजबाट बैंककाे प्रवक्ताकाे कार्यभार सम्हाल्ने भएका हुन् । उनी बैंकको कार्यकारी निर्देशक(विशिष्ट श्रेणी) मा रहेका थिए । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक ढकालले व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकका विभिन्न विभागहरुमा २५ वर्ष कार्य अनुभव हासिल गरेका छन् । यसअघि बैंकको प्रवक्तामा गणाकर भट्ट रहेका थिए । उनले विगत १४ महिनाजति नेपाल राष्ट्र बैंकको प्रवक्ताको रुपमा कार्यभार सम्हालेका थिए ।

लोकसेवाले कर्मचारीको बढुवामा विभेद गरेकाे छ: अध्यक्ष मैनाली

काठमाडाैं । लोकसेवा आयोगले कर्मचारीहरुको बढुवामा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष उमेश मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्तिभन्दा बढी सुविधा पाउने गरेको बताए । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले निजामति सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको बताए । संघीय संसदमा विचाराधिन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको पनि उनले बताए । लोकसेवा आयोग भोलीबाट पदाधिकारी विहिन हुने भएको छ । २०७१ चैत्र ११ गते नियुक्त सबै पदाधिकारीको चैत्र ११ बाट पदावधि सकिँदैछ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहिन हुँदा गम्भिर असर पर्ने अवस्था रहेको बताए । यसका कारण तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परिक्षाहरु रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिनुकाे साथै उच्च पदका सरकारी बढुवा र अन्तरवार्ताहरु पनि रोकिने अवस्था रहेको उनले बताए । स्व. शुशिल कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनाली सहितको पदाधिकारी नियुक्त गरेको थियो ।