दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

काठमाडाैं । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ । न्याय मन्त्रालयको पत्रानुसार नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै यहाँ रहेका नेपालीहरूलाई उक्त कुरा जानकारी गराएको छ । विशेषगरी इपिएस माध्यमद्वारा इ नाइन भिसामा आउने नेपाली श्रमिकको शुरुमा तीन वर्षको सम्झौता हुन्छ भने बाँकी एक वर्ष १० महिना प्रवेशाज्ञा थपिने हुन्छ तर अबको नयाँ नियमानुसार राहदानीको अवधि नभएमा प्रवेशाज्ञा नथपिने भएको हो । यो नियम आगामी जुलाई १ तारिखदेखि लागु हुँदैछ । कोरियामा एफ फाइभ, एफ टु फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसावाहक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने छ । विविध कारण तत्काल राहदानी नवीकरण गर्ने अवस्था नभएमा कारण हेरेर आगामी डिसेम्बरसम्म मात्र भिसा थप हुन सक्ने पनि बताइएको छ । सन् २०२० मा मात्र १६ हजार १३० विदेशी नागरिकको राहदानीको अवधि सकिएको तर उनीहरूले राहदानी नवीकरण नगरेको सूचना सार्वजनिक भएको छ । यो नियम लागु भएपछि दक्षिण कोरियामा रहेका विदेशीहरुलाई उचित व्यवस्थापन गर्न सहज हुने न्याय मन्त्रालयको विश्वास छ । विदेशीले आफ्नो राहदानी नवीकरण भइसकेपछि १५ दिनभित्र नजिकैको अध्यागमनमा दर्ता गरेमा कुनै जरिवाना नलाग्नेसमेत बताइएको छ । रासस

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर, यस्तो बन्यो नयाँ कार्य समिति

काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकारी तुलाधर चयन भएका छन् । आज शुक्रबार बसेको संघको २४ र २५ ‍औं वार्षिक साधारणसभाले उनलाई नै पुनः अध्यक्ष चयन गरेको हो । उम्मेदवारी दर्ताको समय सकिँदा अध्यक्ष पदमा तुलाधरको मात्र उम्मेदवारी परेकोले उनी स्वतः अध्यक्ष भएका हुन् । उनीसँगै अन्य धेरै पदाधिकारीले पनि निरन्तरता पाएका छन् । सवै पदाधिकारी र सदस्यहरु निर्विराेध चयन भएकाे अध्यक्ष तुलाधरले बताए । उनी गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्स लिमिटेडका सीईओ सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया निर्विराेध चयन भएका छन् । यस्तै, सदस्यहरुमा मञ्जुश्री फाइनान्सका सीईओ सन्तोष निरौला, सेन्टुल फाइनान्सका सीईओ रजोजमान श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडका सीईओ लिलामणी न्यौपाने, प्रोग्रेसिभ फाइनान्सका सीईओ विशाल भट्टराई, गोर्खाज फाइनान्सका सीईओ लाल बहादुर थिङ्ग, वेष्ट फाइनान्स लिमिटेडका सीईओ उमेशसिँह भण्डारी निर्विराेध चयन भएका छन् । फाइनान्स कम्पनीहरुको संख्या घट्दै गएकोले पदाधिकारीमा सर्वसहमति चयन गर्ने र सबै फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई कार्यसमिति सदस्य बनाउने अभ्यास यस संघमा सुरु भएको छ । केही वर्षअघि ८८ वटा वित्त कम्पनीहरु सञ्चालनमा थिए । अहिले २० वटा वित्त कम्पनी मात्र छन् । त्यसमा नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स निस्कृय छन् । थप दुई वटा फाइनान्स मर्जर प्रक्रियामा रहेकोले कार्यसमितिमा जान इच्छुक नभएकाे बताइएकाे छ । अध्यक्ष तुलाधारले वित्तीय संस्थाहरुले आफुलाई सक्षम र काम गर्न सक्ने क्षमताकाे महसुस गरेर पुन: अध्यक्षमा चयन गरेकाे बताउँदै हालसम्म गर्न नसकेका कामहरु गर्ने प्रतिवद्धता गरे ।

चिनियाँ जहाजका पाइलटको काटिएको सेवासुविधा फिर्ता

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सञ्चालक समितिले चिनियाँ जहाजका पाइटलको कटौती गरेको भत्ता फिर्ता गर्ने भएको छ । गत शुक्रबार बसेको समितिको बैठकले यसअघि भएको उक्त निर्णय रद्द गर्दै पूरा तलव दिने भएको हो । गत माघ २५ गते बसेको निगम सञ्चालक समितिको बैठकले चिनियाँ जहाज ग्राउण्डेड भएको भन्दै कार्यरत स्थाई पाइलटको सेवासुविधा कटौती गर्ने निर्णय गरेको थियो । माघ मसान्तबाट निगमले कार्यरत पाइलटको ७५ प्रतिशत सम्म तलव कटौली गरेको थियो । यस्तै जहाज ग्राउण्डेड भएको समयदेखि पुस मसान्तसम्म दिएको सेवासुविधा समेत कटौती गर्ने निर्णय गरेको थियो । पूराना सबै निर्णय फिर्ता गर्दै शुक्रबारको बैठकले माघबाट काटिएको सबै सेवासुविधा फिर्ता गरी नियमअनुसारको सेवासुविधा दिने निर्णय गरेको हो । न्यूनतम ४५ घन्टा बराबरको सेवासुविधा पाउँनुपर्ने भन्दै कार्यरत पाइलटले विरोध गरेका थिए । निगम सञ्चालकको उक्त निर्णय अमान्य भन्दै कर्मचारी युनियले विज्ञप्ती नै जारी गर्दै विरोध समेत गरेको थियो । नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियमावली २०५८ मा ४५ घण्टाको उडान भत्ता ग्यारेन्टी गरिएको छ । विनियमावली विपरित निगम सञ्चालक समितिले भत्ता कटौती गर्ने निर्णय गरेको थियो । निगमको उक्त निर्णयबाट वाई–१२ ई का पाइलटले मासिक २० हजार र एमए–६० का पाइलटले २४ हजार बराबरको तलव पाएका थिए । निगम सञ्चालक समितिले ६ थान चिनियाँ जहाजबाट सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै गत साउन १५ गतेबाट चिनियाँ जहाज ग्राउण्डेड (उडान बन्द) गरिसकेको छ ।