राजदूत सुम्निमा तुलाधर गैरआवासीय राजदूतमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपाली राजदूत तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष दिनेश सरियाले लिए शपथ

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई बिहीबार पद तथा गोपनीयताको सपथ गराइएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा शपथ गराएका हुन् । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, निर्देशक शाम्भराज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए । शपथ ग्रहण समारोहले कम्पनीको नेतृत्वमा नयाँ व्यवस्थापनद्वारा अघि बढाइने जिम्मेवारी र दायित्वको औपचारिकता पुष्टि गरेको बताइएको छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्टको डीसीईओमा पण्डित नियुक्त

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले नयाँ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको छ । कम्पनीको निर्णयअनुसार ऋषिराम पण्डितलाई मंसिर ७ गतेदेखि स्थायी रूपमा डीसीईओमा नियुक्त गरिएको छ । कम्पनीका अनुसार पण्डितलाई पदअनुसारको सम्पूर्ण जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण भइसकेको छ । नियुक्तिसँगै उनले संस्थाका प्रशासनिक तथा वित्तीय गतिविधिमा सह–मुख्य कार्यकारी अधिकृतको भूमिकामा काम गर्नेछन् ।