पदभार ग्रहण गर्दै सीईओ आचार्यले भने– ग्राहकको विश्वास अझ मजबुत बनाउँछौं

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका आचार्यले पदभार ग्रहणसँगै ग्राहकमुखी सेवा, संस्थागत सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका आचार्यले विभिन्न वाणिज्य बैंकमा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेका छन् । उनको नेतृत्वले बैंकको संस्थागत तथा रणनीतिक विकासलाई थप गति दिने विश्वास बैंकले व्यक्त गरेको छ ।

पदभार ग्रहणपछि आचार्यले दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको मनोबल अभिवृद्धि तथा सरोकारवालाले बैंकप्रति राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

बैंकले पनि नवनियुक्त सीईओ आचार्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा उत्कृष्ट वित्तीय सेवा प्रवाहमार्फत राष्ट्रिय अर्थतन्त्रमा थप सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

हाल लुम्बिनी विकास बैंकले सातै प्रदेशमा ८९ शाखा कार्यालय र एक विस्तारित शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । ‘निरन्तर सहयात्रा’ नारासहित बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ ।

Share News