निर्धन उत्थान लघुवित्तको सीईओमा नारायणबहादुर कार्की नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायणबहादुर कार्की नियुक्त भएका छन् । सञ्चालक समितिले रिक्त रहेको सीईओ पदमा कार्कीलाई दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाएको सूचनाअनुसार सञ्चालक समितिको साउन ३२ गते बसेको ३६२औँ बैठकले रूपन्देही जिल्लाको सुद्धोधन गाउँपालिका–४ निवासी कार्कीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सूचनाअनुसार कार्कीको नियुक्ति साउन १ गतेदेखि लागू हुने गरी गरिएको छ । उनी आगामी दुई वर्ष अर्थात् २०८५ असार ३१ गतेसम्म संस्थाको प्रमुख कार्यकारी अधिकृतका रूपमा रहनेछन् ।

निर्धन उत्थान लघुवित्तले उक्त निर्णयबारे जानकारी गराउँदै नियामकीय व्यवस्थाअनुसार नेप्सेलाई औपचारिक सूचना दिएको जनाएको छ ।

Share News