सीडीएससीको कामु सीईओमा कञ्चन सापकोटा

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी कञ्चन सापकोटाले पाएकी छिन् । सीडीएससी सञ्चालक समितिको बैठकले कम्पनीको प्रशासन तथा मानव संसाधन प्रमुख सापकोटालाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । सीडीएससी सञ्चालक समितिको बैठकले कम्पनीको सेवा शर्त विनियमावली २०७५ को दफा ४५ को उपदफा ३ बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा सापकोटालाई कायम मुकायमको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिले प्रविन पन्दाकलाई सीडीएससीको सञ्चालकबाट फिर्ता बोलाएपछि सीडीएससीको सीईओ खाली भएको थियो ।  पन्दाक सीडीएससीको सञ्चालकसहित सीईओको जिम्मेवारीमा पनि थिइन् ।  

डा खड्का कर्णाली प्रदेशसभाको सचिवमा नियुक्त

काठमाडौं । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुन कुमार खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा. खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गरेको हो । नवनियुक्त प्रदेशसभा सचिव खड्काले मङ्गलबार नै पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण रे । खड्का सिद्धिचरण नगरपालिका-९ ओखलढुङ्गा जिल्लाका स्थायी निवासी हुन् । सङ्घीय संसद सचिवालयमा ५ वर्ष कानुन सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ । संविधान निर्माणका क्रममा संविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनले वि.सं २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा प्रदेशसभा बैठक सञ्चालनमा सहजीकरण गरेका थिए । 

२६ वर्षपछि सेबोनबाट नवराज अधिकारीको बिदाइ, ‘अध्यक्ष’ पदमा प्रतिस्पर्धा गर्नसक्ने सम्भावना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा. नवराज अधिकारी अनिवार्य अवकाशमा गएका छन् ।  २०५६ असोज ३ गते धितोपत्र बोर्डमा अधिकृतका रूपमा प्रवेश गरेका अधिकारी ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।  उनले धितोपत्र बोर्डमा २६ वर्ष ७ महिना बिताए । उक्त अवधिमा उनले सचिव, प्रवक्ता तथा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।  कार्यकारी निर्देशकका रूपमा भने उनी २०७९ जेठ २६ गते नियुक्त भएका थिए । अवकाश भएसँगै धितोपत्र बोर्डले बिहीवार एक कार्यक्रमको आयोजना गरी अधिकारीलाई बिदाइ गरेको थियो । कार्यक्रममा सहभागीहरूले डा. अधिकारीको सेवाकालीन योगदानको मूल्यांकन गर्दै उनको आगामी जीवनको सुख, स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए । नीति निर्माण, कर्मचारी क्षमता विकास, लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि, बजार सुपरीवेक्षण र अनुगमनमा अधिकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हाल बोर्डमा अध्यक्ष पद रिक्त रहेको अवस्थामा अधिकारी यसपटक पनि प्रतिस्पर्धामा उत्रिनसक्ने सम्भावना देखिएको छ ।  यसअघि उनले पाँच पटक बोर्ड अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका थिए । अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यही वैशाख ४ गते राजीनामा दिएपछि उक्त पद खाली छ ।  दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा श्रेष्ठको नाम पनि जोडिएपछि उनले राजीनामा दिएका हुन्। श्रेष्ठ २०८१ मंसिर १० गते अध्यक्षमा नियुक्त भएका थिए । अध्यक्ष भएपश्चात श्रेष्ठले बिचौलिया प्रयोग गरी जलविद्युत कम्पनीको आइपीओमा बार्गेनिङ गरेको भन्दै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बोलाएर बयान लिएको थियो ।