पञ्चकन्या समूहले गर्‍यो रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना, ४७७ जना लाभान्वित

काठमाडौं । पञ्चकन्या समूहले रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविरको आयोजना गरेको छ । सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवास्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक आयोजना गरेको हो ।  यो शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारीहरू र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । भक्तपुर क्यान्सर अस्पतालका डा. उज्वल चालिसेको नेतृत्वमा, सिद्धार्थनगर सिटी अस्पतालको टोलीसँगै शिविरमा स्तन क्यान्सर जाँच र सामान्य स्वास्थ्य परिक्षण सहित आवश्यक स्क्रिनिङहरू प्रदान गरिएको थियो ।  कार्यक्रमले क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानको महत्वको बारेमा जागरुकता बढाउनमा पनि केन्द्रित रहने अपेक्षा कम्पनीले गरेको छ । पाँचदेखि नब्बे वर्ष उमेरका ४३३ महिला र ४४ पुरुषले शिविरबाट लाभ प्राप्त गरेकोमा २०३ वटा स्तन स्क्रिनिङ र ७१ वटा सामान्य स्वास्थ्य जाँचहरू समावेश भएका थिए ।  यस जाँचका क्रममा एक जना व्यक्तिलाई क्यान्सर भएको पत्ता लागेको थियो र सोको तुरुन्तै उपचारका साथै निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो ।  १९ जनामा लक्षणहरू देखा परेको र थप प्रयोगशाला रिपोर्टहरूको पर्खाइमा रहेको कम्पनीले जनाएको छ । यस शिविरबाट लगभग ९५ प्रतिशत सहभागीहरूले निःशुल्क औषधि प्राप्त गरेको तथाङ्गक कम्पनीले सार्वजनिक गरेको छ । पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य पहलहरू प्रतिको समर्पणलाई यस शिविरले पुनः पुष्टि गरेको बताएका छन ।  पञ्चकन्या समूह नेपालको एक अग्रणी औद्योगिक समूह हो, जुन पाइप, फिटिङ, निर्माण सामग्री र निर्माणमा क्षेत्रमा उत्कृष्टताको लागि आमग्राहकमाझ परिचित छ ।  दिगोपन र संस्थागत सामाजिक उत्तरदायित्वमा बलियो ध्यान केन्द्रित गर्दै कम्पनीले स्वास्थ्य, शिक्षा, र वातावरणीय दिगोपनमा विभिन्न काम गर्दै आइरहेको छ । 

राष्ट्र बैंकले पैसा तान्नेभन्दा लगानी कसरी बढाउने भन्नेतर्फ सोच्नुपर्छ : वरिष्ठ उपाधयक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल राष्ट्र बैंकले बैंकहरुबाट पैसा खिच्नेभन्दा पनि लगानी बढाउने विकल्प खोज्नुपर्ने बताएका छन् । बिहीबार महासंघको ५९औं वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय लगानीको अवस्था निकै कमजोर रहेको बताउँदै राष्ट्र बैंकले थप लगानीको वातावरण सिर्जना गर्नतर्फ सोच्चुपर्ने धारणा राखे ।  ‘अहिलेको परिस्थितिमा लगानी गर्न निजी क्षेत्र आर्कर्षित हुन सकिरहेको छैन, कुनै पनि क्षेत्रमा लगानी नै भएको छैन् भन्दा पनि हुन्छ, सरकारको तर्फबाट प्रयासहरु भने भइरहेका छन् तर ती प्रयास प्रयाप्त छैन,’ उनले भने ।  सरकारले नियमावली र कार्यविधिहरु संशोधन गर्ने काम भइरहेको बताए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको धारणा राखे । उनले बैंकहरुले पनि रिकभरीलाई प्राथमिकता दिइरहेको बताउँदै लगानीका लागि विकल्प नखोजेको बताए ।  पछिल्लो २ महिनादेखि व्यापारमा केही सुधार हुनु राम्रो संकेत भएपनि तत्काल व्यापारमा ठूलो परिवर्तन आउने सम्भावना भने नभएको उनको भनाइ छ । ‘सरकारले अध्यादेशमार्फत ५ वटा ऐनहरु संशोधन गर्यो, सरकारले ल्याउने नीतिहरुले लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन मिल्छ,’ उनले भने ।  यस्तै, सडक सञ्जालको अवस्था दयनीय रहेको सुनाउँदै सरकारले सडक पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । उनले विगतमा उद्योगहरुमा विद्युत आपुर्तिको समस्या भएपनि पछिल्लो समय केही सुधार भएको सुनाए ।  उनले निर्माण व्यवसायलाई दिनुपनुपर्ने बक्योता रकम तत्काल भुक्तानी गर्न पनि आग्रह गरे ।

वैदेशिक सहायता घट्दै गयो र अझै घट्ने सम्भावना छ : मन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू संकुचित हुँदै गएको बताएकी छन् ।   नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको बताइन् ।    मन्त्री राणाले भनिन्, 'वैदेशिक सहायताको स्थीति कम बन्दै गएको छ । २०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४.४ प्रतिशत थियो । यसको अर्थ नेपालले आफ्नो राजस्व संकलन बढाएर लगेको देखिन्छ ।’    उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्‍याएकोमा उनले सराहना गरिन् ।  मन्त्री राणाले सबै नेपाली आर्थिक विकास र प्रगतिको आकांक्षी रहेको बताउँदै ती आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताइन् ।   अधिकतम विकास,विकासील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको उनले बताइन् ।   उनले पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिवद्ध  रहेको समेत दावी गरिन् ।   सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उनले राजनीति स्थायित्व नहुँदा विगतमा देखिएका समस्या अब हटाइने उद्घोष गरिन् ।