नाफा नैसर्गिक अधिकार हो, कमजोरी भए समीक्षा गर्न तयार

गत भदौमा भएको आन्दोलनका क्रममा निजी क्षेत्रमाथि गरिएको आक्रमण र आगजनीमा संलग्नमाथि कारबाही र सुशासनको प्रत्याभूतिका लागि प्रधानमन्त्रीले थप प्रयत्न गरिदिन हुन्छ भन्ने अपेक्षा छ । मन्त्रालय र मन्त्रिपरिषदबाट भएका सार्थक पहलका लागि धन्यवाद छ । निजी क्षेत्रको मनोबल बढाउन सरकारले थालेको पहल सार्थक भई लगानीको वातावरण बन्ने तर्फ सरकारको थप प्रयासको अपेक्षा छ । लोकतन्त्रीक व्यवस्थाका लागि राजनीतिक दलका नेतृत्वहरूले समय समयमा साहस र प्रयत्न देखाउनु भएको छ । अब हुने निर्वाचनमा राजनीतिक दलहरूको सहभागिताले मुलुकमा अनिश्चय र अन्यौलताको अवस्था हट्ने विश्वास छ । राजनीतिक स्थिरता र बलियो व्यवस्थाका लागि नेपालमा समय समयमा क्रान्तिहरू भइरहेका छन् र हरेक दशकमा हुने यस्ता आन्दोलनले पनि देश र समाजमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । न त निजी क्षेत्रलाई सहयोग हुने गरि व्यावसायिक नीति र वातावरण नै बन्न सकेको छ । विगतमा मुलुकको अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रले, निर्वाध काम गर्न पाउने सुनिश्चितता, नीतिगत स्थिरता लगायतका विषयमा हामी चुकेकै हौं । यसको मूल्य हाम्रो मुलुकले भोगिरहेको छ । त्यसैले नयाँ पुस्ताले माग गरेको सुशासन र आर्थिक विकास सहितको नयाँ नेपालमा, निर्वाचन मार्फत प्रवेश गर्दै गर्दा हामी निजी क्षेत्रले सबै राजनीतिक दलहरू गम्भीर भएर अर्थतन्त्र र आर्थिक विकासमा प्रतिवद्धता व्यक्त गरि सोही अनुरूप आगामी कार्यदिशा तय गर्नु हुन्छ विश्वास छ । युवाहरूले सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणका लागि गर्नुभएको योगदान र बलिदानको हामी उच्च प्रशंसा गर्दैछौं । परिवर्तनका संवाहक युवाहरूले जुन साहसका साथ आगामी पुस्ताको भविष्य सुनिश्चित गर्ने पहल गर्नुभएको छ, त्यसमा उधम, रोजगारी र स्वरोजगारीका अवसर पर्याप्त हुन सकेनन् भने परिवर्तन दिगो नहुन सक्छ । त्यसैले निजी क्षेत्रमाथि अवैध रुपमा भएको आक्रमणमा संलग्नमाथि कारबाही गरिनुपर्ने विषयमा युवाहरू पनि प्रष्ट हुनुपर्छ । आर्थिक विकास, लगानी प्रोत्साहन र समृद्धिका लागि, लगानीको सुरक्षा, नीतिगत र राजनीतिक स्थिरता अपरिहार्य हुन् । शान्ति र सुरक्षा बिना स्थायित्व हुँदैन र स्थायित्वबिना आर्थिक वातावरण रहँदैन र निजी क्षेत्रको लगानी निरुत्साहित भए समृद्धि सुनिश्चित छैन । हामी आशा गर्छौ कि अबको नयाँ नेपालमा निजी क्षेत्रलाई हेर्ने, बुझ्ने र सोच्ने दृष्टिकोण सकारात्मक हुन्छ । अब नेपालको सार्वजनिक सेवा प्रवाह चुस्त र दुरुस्त हुन्छ भन्ने आशा गरेका छौं, यसले हाम्रो व्यावसायिक लागत र वातावरण सुधारमा उल्लेखनीय परिवर्तन ल्याउने छ । सरकार, राजनीतिक दल र युवा पुस्ता समक्ष उद्योग वाणिज्य महासंघको तर्फबाट निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीतिमा सहमतिका लागि महासंघले आग्रह गरेको छ । यसमा हामीले सबैको साथ र समर्थन खोजेका छौ । अर्थतन्त्रमा ८१ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्र असुरक्षित भएमा यसका असर सरकार, आम सर्वसाधारण र मुलुकलाई नै पर्नेछ । त्यसैले यो रणनीति महत्वपूर्ण छ । आज नेपालको अर्थतन्त्र निर्णायक मोडमा उभिएको छ । हामी लामो समयदेखि रेमिट्यान्स र उपभोगमा आधारित संरचनामा अड्किएका छौं । अब यस अवस्थाबाट माथि उठेर उत्पादन, उत्पादकत्व र प्रतिस्पर्धामा आधारित अर्थतन्त्रतर्फ अग्रसर हुनु हाम्रो साझा दायित्व हो । उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग, नीतिगत स्थिरता, जवाफदेहीता र पारदर्शिता यी अब विकल्प होइनन्, अपरिहार्य आवश्यकता हुन् । यस सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको आर्थिक रुपान्तरणका लागि निरन्तर सक्रिय रूपमा अघि बढिरहेको छ । निजी क्षेत्रको तर्फबाट उत्पादनशील क्षेत्र विस्तार, रोजगारी सिर्जना र लगानीमैत्री वातावरण निर्माणका लागि महासंघले सरकारसँग सहकार्य गर्दै नीतिगत सुधारका पहलहरू अघि सारेको छ । आर्थिक वृद्धिको सम्भावनासहित सार्वजनिक गरिएका विभिन्न पहलहरूले अब अर्थतन्त्रलाई नयाँ दिशातर्फ डोर्याउने आधार तयार हुँदै गएको संकेत गर्छन् । यद्यपि हाम्रो अर्थतन्त्र अझै पनि उच्च करका दर, भौगोलिक चुनौती, नीतिगत अस्पष्टता र अपारदर्शीताको कारण महँगो बन्दै गएको यथार्थबाट टाढा छैन । तर यसका बीच पनि नेपालसँग तुलनात्मक लाभ छैन भन्ने होइन । हाम्रो दैलोमै विश्वको करिब ४० प्रतिशत बजार छ, तर दुर्भाग्यवश हामी उत्पादनकर्ता बन्नुको सट्टा छिमेकीको बजार मात्र बनिरहेका छौं । निजी क्षेत्रले सम्मानसाथ, सुरक्षित र निर्वाध रूपमा काम गर्न सक्ने वातावरण नहुँदा हामी धेरै अवसरबाट पछि परिरहेका छौं । यही कारण पुँजी निर्माण गर्ने वर्गको सम्मान र संरक्षण नहुँदा देशको आर्थिक गति अवरुद्ध भएको छ । यसले नेपाल अवसरको देशभन्दा पनि विदेश जानै पर्ने देश हो भन्ने गलत भाष्यलाई बल दिएको छ । यो भाष्य चिर्नु आजको अनिवार्य कार्यभार हो, र यसमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका निर्णायक रहन्छ । प्रतिकूलताका बीचमा पनि उद्यम व्यवसाय गरिरहनु भएका उद्यमी व्यवसायीलाई नेपालमा लगानी बढाउन आव्हान गर्दछु । सँगसँगै निजी क्षेत्रले कतै आफूलाई सही रुपमा प्रस्तुत गर्न नसकेको हो भने त्यसको समीक्षा पनि हामी आफै गरौँ र सुधार्नु पर्ने विषयमा सबै सरोकारवालासँग समन्वय पनि गरौँ । नाफा हाम्रो नैसर्गिक अधिकार हो, सँगसँगै हाम्रा केही जिम्मेवारी पनि छन् त्यसमा हामी चुक्नु हुँदैन । नेपालको अर्थतन्त्र र निजी क्षेत्रको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न नेपाल उद्योग बाणिज्य महासंघ प्रतिबद्ध छ । आगामी दिनमा हामी निजी क्षेत्रमाथि यस्तो आक्रमण नहोस् भन्ने कामना र अनुरोध गर्दछु ।  (नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य: सामूहिक पहल' शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले राखेको मन्तव्य)

स्टार्टअप ‘जिरो टु हिरो’ अन्तर्गत चार आइडिया छनोट

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोको सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत गरिएका आइडियामध्ये चार उत्कृष्ट आइडिया छनोट भएका छन् । संघले सञ्चालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ मध्ये १३ आइडियाबाट निर्णायक समितिले चारवटालाई उत्कृष्ट ठहर गरेको हो । छनोटमा परेका उनीहरूले अब आइडिया स्टुडियो सिजन–९ मा सिधा प्रवेश पाएका छन् । संघले आह्वान गरेपछि कोशी प्रदेशका विभिन्न १० जिल्लाबाट ५२ आइडिया दर्ता भएका थिए । तीमध्ये क्याम्पमा सहभागी गराई अन्तिम १५ आइडिया छनोट गरिएको संघले जनाएको छ । विराट एक्स्पो स्थलमा दैनिक रूपमा आयोजना भइरहेको थिमेटिक सेसनका क्रममा आइडिया पिच गरेका विष्णु पोखरेल, जीवन कुशवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यका आइडियाहरू उत्कृष्ट ठहरिएका हुन् । उनीहरूको आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रूपान्तरण गर्न संघले समन्वयकारी भूमिका निर्वाह गर्ने संघका अध्यक्ष अनुपम राठीले बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्ष म नै हुँ, भ्रममा नपर्नु : ईनु पौडेल

काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालकी अध्यक्ष ईनु पौडेलले महासंघको नाममा भइरहेको भ्रमपूर्ण प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले पूर्वअध्यक्ष हरिभक्त पराजुलीले आफू अझै अध्यक्ष रहेको भन्दै भ्रम फैलाइरहेको दाबी गरिन् । उनले पूर्वअध्यक्ष पराजुलीले विभिन्न जिल्ला, प्रदेश, सरकारी तथा गैरसरकारी निकायहरूमा आफू नै अध्यक्ष भएको दाबी गर्दै पत्राचार र प्रचार गरिरहेको सूचना प्राप्त भएको उल्लेख गर्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गरिन् । उनले भनिन्, 'हरिभक्त पराजुली हाल साना तथा मझौला व्यवसायी महासंघ नेपालको कुनै पनि पद वा जिम्मेवारीमा रहनुभएको छैन । उहाँसँग महासंघको तर्फबाट कुनै पनि कानुनी, आर्थिक, प्रशासनिक वा संस्थागत अधिकार छैन ।' महासंघले आफ्नो विधान र प्रचलित कानुनअनुसार संस्थागत मर्यादा र पारदर्शिता कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ । विधानविपरीतका कार्यहरू जारी रहेमा सम्बन्धित व्यक्तिविरुद्ध कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत महासंघले दिएको छ । यदि पराजुलीले महासंघको लेटरहेड, छाप वा पहिचान प्रयोग गरी कुनै गतिविधि गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी उहाँ स्वयंले लिनुपर्ने र संस्थाले त्यसको अपनत्व नलिने महासंघले स्पष्ट पारेको छ । देशको वर्तमान आर्थिक अवस्था र साना व्यवसायीको भूमिकाबारे चर्चा गर्दै अध्यक्ष पौडेलले नेपालका ८० प्रतिशतभन्दा बढी व्यवसायीहरू साना तथा मझौला क्षेत्रमा आबद्ध रहेको बताइन् । 'नेपालको अर्थतन्त्र महलले होइन, झुपडीले टिकेको छ,' उनले भनिन्, 'दुई तिहाइभन्दा बढी रोजगारी र उत्पादनको भार सम्हालिरहेका साना व्यवसायीको संरक्षण गर्नु नै देशको भविष्य सुरक्षित गर्नु हो ।' पत्रकार सम्मेलनमा महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।