स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने
वालिङ । स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन् । सदरमुकाममा रहेका दुई कार्यालय गाभिएसँगै यही पुस १ गतेदेखि एउटै कार्यालयबाट सेवा सुरु भएको हो । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार नयाँ संरचना सृजना भएसँगै गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत ‘एकीकृत सेवा कार्यालय’ राखिएको छ । पुतलीबजार नगरपालिकाका छुट्टै स्थानबाट सेवा दुई छुट्टाछुट्टै कार्यालय स्थापना गरी सेवा दिइरहेका कार्यालय गाभिएर बनेको एकीकृत सेवा कार्यालयले साविकको सामाजिक विकास कार्यालय र साविकको पर्यटन तथा उद्योग कार्यालयले प्रदान गर्ने सेवालाई निरन्तरता दिने कार्यालय प्रमुख जीवन पौडेलले बताए । 'दुई छुट्टाछुट्टै कामको प्रकृति भएका कार्यालय एकै ठाउँबाट सञ्चालन हुँदा सेवाग्राहीलाई सहजता हुनुका साथै खर्चमा मितव्ययिता हुन्छ', उनले भने, 'सेवाग्राहीलाई छिटो, छरितो र बढीभन्दा बढी सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा हामी प्रयत्नशील छौँ ।' दुई कार्यालय गाभिएर हाल बनेको एकीकृत सेवा कार्यालयले साविकको पर्यटन तथा उद्योग कार्यालय पुतलीबजार–१ अभियानपथबाट सेवा दिन थालेको हो । साविकको पर्यटन तथा उद्योग कार्यालयले प्रदान गर्दै आइरहेको उद्योग व्यवसाय दर्ता, नवीकरण, उद्यम तथा व्यवसायको प्रवर्द्धनात्मक कार्यक्रम, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण, सीपमूलक तथा आयआर्जनमूलक तालिम निरन्तर रूपमा सञ्चालन हुने उनले बताए । त्यस्तै साविकको सामाजिक विकास कार्यालयले प्रदान गर्दै आएको लक्षित वर्गका लागि क्षमता अभिवृद्धि, सीपमूलक तालिम, शिक्षाका क्षेत्रमा पूर्वाधार निर्माण, सांस्कृतिक, धार्मिक क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रमलाई एकीकृत कार्यालयमार्फत निरन्तरता दिइने भएको हो । एकीकृत विकास कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेको छ । रासस
रूङ्गटा ग्रुपको ओसीबी फुड्सको आम्दानीमा १४८ प्रतिशत उछाल, एक वर्षमै १२ अर्ब रुपैयाँ
काठमाडौं । खाद्य तेल उत्पादन गर्ने ओसीबी फुड्स एण्ड फिड्स प्रालिले एक वर्षमै करिब १२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । सूर्यमुखी, पामोलिन तथा सोयाबिनबाट प्राप्त कच्चा तेललाई प्रशोधन तथा परिष्करण गरी खाने तेल उत्पादन गर्ने ओसीबी फुड्सले सन् २०२५ मा ११ अर्ब ९३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा १४८.७३ प्रतिशत अर्थात् ७ अर्ब १३ करोड ५० लाख रुपैयाँ बढी आम्दानी गरेको हो । अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीले ४ अर्ब ७९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२३ मा ८ अर्ब १२ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१६ सेप्टेम्बरमा स्थापना भएको ओसीबी फुड्सले बारामा अवस्थित आधुनिक उत्पादन केन्द्रमार्फत खाद्य तेल उत्पादन गर्दै आएको छ । उद्योगको क्षमता वार्षिक १ लाख २० हजार मेट्रिक टन रहेको छ, जसबाट मूख्यतः सोयाबिनबाट तेल उत्पादन गरिन्छ। त्यसैगरी, रिफाइनरी प्लान्टको वार्षिक क्षमता ६० हजार मेट्रिक टन रहेको छ, जसले सूर्यमुखी, पामोलिन तथा सोयाबिनबाट प्राप्त कच्चा तेललाई प्रशोधन गरी खाने तेल उत्पादन गरिरहेको छ । ओसीबी फुड्सले आफ्ना उत्पादनहरू ‘दिव्या’ ब्रान्डबाट बजारमा बिक्री वितरण गर्दै आएको छ । ओसीबी फुड्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ६३ करोड रुपैयाँ ऋण लिएको छ । जसमा १ करोड रुपैयाँ दीर्घकालिन र ७ अर्ब ६२ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । भारत सरकारले कच्चा तथा प्रशोधित खाद्य तेलमा अपनाएको अनुकूल भन्सार नीतिले आम्दानीमा वृद्धि भएको कम्पनीले जनाएको छ । यद्यपि भारत सरकारले सन् २०२५ जुन ३ देखि कच्चा तेलमा लाग्दै आएको आधारभूत भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि नेपालका खाद्य तेलको व्यापार वृद्धि हुन पुगेको हो । खाद्य तेल उद्योगमा लामो अनुभव भएका उद्योग, आन्तरिक बजार तथा निर्यातमा विस्तार हुँदै गएको मार्केटिङ सञ्जाल, उत्पादन केन्द्रको भौगोलिक लाभ तथा मध्यम अवधिमा खाद्य तेलको स्थिर मागले पनि कम्पनीको व्यावसायिक प्रोफाइललाई बलियो बनाएको छ । तर, आम्दानीको ठूलो हिस्सा भारत निर्यातमा निर्भर हुनु तथा भारत सरकारको भन्सार नीतिमा हुने परिवर्तनले प्रत्यक्ष असर पार्न सक्ने जोखिम भने उद्योगका लागि चुनौतीको विषय बनेको छ । साथै, मौसमी कृषि उत्पादनको मूल्य उतार-चढाव, विदेशी मुद्राको विनिमय दर जोखिम तथा नियामकीय जोखिमप्रति पनि कम्पनी संवेदनशील रहेको छ । ओसीबी फुड्स उद्योग रूङ्गटा ग्रुपको लगानीमा सञ्चालनमा आएको हो । व्यापार व्यवसायमा लामो समयदेखि आबद्ध ओसीबीले अन्य विभिन्न व्यवसाय पनि सञ्चालन गरिरहेको छ । ओसीबी फुड्समा ६ जना अनुभवी व्यवसायी तथा उद्योगपतिहरूको सञ्चालक समिति छ । जसको अध्यक्ष प्रदीप कुमार रूङ्गटा रहेका छन् । उनीसँग खाद्य उद्योग क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव छ ।
रिलायन्स स्पिनिङ्गको आईपीओ बिक्री, कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले आज पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७५८ कित्ता सामूहिक लगानी कोष, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५५६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता कर्मचारीहरुलाई सुरक्षित राखि बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । अंकित मूल्य १ सय रुपैयाँ नै कायम रहेपनि बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर जारी गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सर्वसाधारण लगानीकर्ताहरुका लागि कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य तोकिएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । यदि लगानीकर्ताले न्यूनतम् सेयरका लागि आवेदन दिने हो भने कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ । यदि अधिकतम सेयरका लागि आवेदन दिने हो भने १ करोड ६४ लाख १४ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।