भूगर्भ सिमेन्टको आम्दानीमा १६.७६ प्रतिशत फड्को, खनिज खानीदेखि बजारसम्म पकड
काठमाडौं । भूगर्भ सिमेन्टले एक वर्षमै डेढ अर्ब रुपैयाँ बढी सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब ६७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १६.७६ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीको आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ थियो । सिमेन्ट तथा क्लिङ्कर प्लान्टको क्षमता उपयोग दर उल्लेखनीय रूपमा बढेकाले आम्दानी र सञ्चालन क्षमतामा सुधार आएको कम्पनीले जनाएको छ । साथै गत वर्ष कम्पनीले बक्यौता उठाउन बाँकी रकम उल्लेखनीय रूपमा घटाएको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार सन् २०२५ मा सिमेन्ट बोरा बिक्री र क्लिङ्कर बिक्री दुवै बढेकाले आम्दानीमा वृद्धि भएको हो । उत्पादन क्षमताको उपयोग ५२ प्रतिशतबाट ६६ प्रतिशतमा पुगेको छ । यद्यपि, क्लिङ्करको कच्चा पदार्थ लागत बढ्दा कम्पनीको पीबीआईएलटीडी (ब्याज, लीज, मूल्यह्रास र कर अघिको मार्जिन) मार्जिन २९ प्रतिशतबाट घटेर १५ प्रतिशतमा झरेको छ । कम्पनीले सन् २५ मा ३ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । सन् २०१६ मा स्थापना भएको भुगर्भ सिमेन्टले छोटो समयमै व्यावसायिक संरचना र उत्पादन क्षमता उल्लेखनीय रूपमा विस्तार गरेको देखिन्छ । सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने योजनासहित कम्पनी सन् २०२३ जुनमा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँ रहेको छ । यसमध्ये ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना अनुसार हकप्रदपछि चुक्ता पुँजी ८० करोड ८० लाख रुपैयाँ पुग्नेछ । त्यसपछि उक्त चुक्ता पुँजीको २० प्रतिशत आईपीओ जारी गरी चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउने रणनीति कम्पनीले लिएको छ । कम्पनीसँग आफ्नै खानी योजना रहेको छ, जसको दैनिक उत्पादन क्षमता ३ हजार २०० मेट्रिक टन रहेको छ । हाल भूगर्भ सिमेन्टले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी) र साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्दै आएको छ । विगतमा दैनिक ५०० मेट्रिक टन रहेको सिमेन्ट उत्पादन क्षमता सन् २०२३ को अगस्ट महिनामा विस्तार गरी ७०० मेट्रिक टन प्रतिदिन पुर्याइएको कम्पनीले जनाएको छ । साथै, कम्पनीसँग आफ्नै ३०० मेट्रिक टन प्रतिदिन क्षमताको क्लिङ्कर उत्पादन सुविधा पनि छ । क्लिङ्कर उत्पादनका लागि फ्लाइएस, जिप्समजस्ता कच्चा पदार्थ प्रयोग हुने गरेको छ भने बाँकी क्लिङ्कर स्थानीय व्यापारीमार्फत खरिद गर्ने गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् २०२४ मा बिक्री लागत कुल बिक्रीको करिब ६२ प्रतिशत र सन् २०२५ मा ७३ प्रतिशत पुगेको छ । कच्चा पदार्थको मूल्य बढ्दा त्यसको भार उपभोक्तामा सार्न नसकिएमा कम्पनीको नाफामा प्रत्यक्ष असर पर्ने देखिन्छ । बढ्दो प्रतिस्पर्धाले मूल्य समायोजन क्षमता थप चुनौतीपूर्ण बनाएको कम्पनीको भनाइ छ । कच्चा पदार्थको मूल्य उतार–चढाव र तीव्र प्रतिस्पर्धाले पनि व्यवसायमा असर गरिरहेको कम्पनीले जनाएको छ । अनुभवी प्रवद्र्धक, स्थापित ब्रान्ड र स्वामित्वमा रहेका चुनढुंगा खानीका कारण कम्पनीले स्ट्यान्डअलोन ग्राइन्डिङ युनिटहरूमाथि प्रतिस्पर्धात्मक लाभ कायम राखेको छ । ठूला उत्पादकहरूको वर्चस्व, कम प्रवेश अवरोध र मूल्य निर्धारणमा कमजोर प्रभावका कारण सिमेन्ट उत्पादकहरू प्रायः मूल्य स्वीकारकर्ताको भूमिकामा रहेको कम्पनीले उल्लेख गरेको छ । पछिल्ला तीन वर्षमा सिमेन्ट र क्लिङ्करको मूल्य घट्दा उद्योगभर नाफामा दबाब परेको छ । ८ वर्षभन्दा बढी सञ्चालन अनुभव रहेको कम्पनीको सञ्चालक समितिमा पाँच सदस्य छन् । प्रमुख कार्यकारी अधिकृत दीपक राज गिरी र प्रबन्ध निर्देशक नन्दी केशर पौडेलको नेतृत्वमा अनुभवी व्यवस्थापन टोली क्रियाशील छ । कम्पनीसँग लुम्बिनीको तिनपाने क्षेत्रमा ३२०० मेट्रिक टन क्षमताको चुनढुंगा खानीको इजाजतपत्र छ, जुन सन् २०२३ अगस्टमा विस्तार गरिएको हो । हकप्रद सेयर र आईपीओबाट संकलित रकमबाट कम्पनीले आधुनिक रोटरी क्लिङ्कर प्लान्ट स्थापना गर्ने योजना बनाएको छ । दीर्घकालीन औद्योगिक विस्तार, उत्पादन लागत न्यूनीकरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई लक्ष्य गर्दै कम्पनीले पुँजी संरचना विस्तारको प्रक्रिया अघि बढाएको हो । आईपीओ निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको जनाएको छ । ऋण बढायो कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि बढाएको छ । सार्वजनिक विवरण अनुसार सन् २०२५ जुलाइसम्म २ अर्ब २५ करोड रुपैयाँ ऋण रहेकोमा सन् २०२६ मा आइपुग्दा उक्त ऋण बढेर ४ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार विभिन्न बैंकबाट ३ अर्ब ४ करोड रुपैयाँ दीर्घकालीन र ९५ करोड ९२ लाख रुपैयाँ अल्पकालीन ऋण लिइएको छ ।
६ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं । मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आवको छ महिनामा ४७५ वटा उद्योगमा रु ३९ अर्ब, चालु आवको पहिलो तीन महिनामा ३११ वटा उद्योगमा रु ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो । चालु आवमा सात वटा ठूला, आठ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको तथा गत पुसमा ३६ वटा साना उद्योगमा रु पाँच अर्ब ९९ करोड ५० लाख बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ । प्रत्यक्ष वैदेशिक लगानीको हालसम्मको कुल प्रतिबद्धता भने सात हजार ७१३ वटा उद्योगमा रु छ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख बराबर रहेको छ । बितेका छ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि रु एक अर्ब सात करोड ८४ लाख ८६ हजार छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा रु २१ अर्ब ८८ करोड ८० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । पर्यटनमूलक क्षेत्रका १४५ उद्योगमा रु १० अर्ब ५४ करोड २० लाख ५० हजार, उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा रु दुई अर्ब तीन करोड २३ लाख, ऊर्जामूलक क्षेत्रको एउटा उद्योगमा रु १८ करोड ४२ लाख ५० हजार, खनिज क्षेत्रको एउटा उद्योगमा रु चार करोड ५० लाख र सेवामूलक क्षेत्रका ३१ उद्योगमा रु तीन अर्ब ४६ करोड ६० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको विवरणमा उल्लेख छ ।
६ महिनामा ४७५ उद्योगमा वैदेशिक लगानी, सूचना प्रविधिदेखि कृषिसम्म आकर्षण
काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो महिनाहरूमा वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको ६ महिनामा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो । गत आवको ६ महिनामा ३४५ साना, ५ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा ६ महिनामा ७ वटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । विभागका अनुसार गत पुसमा मात्र ३६ वटा साना उद्योगमा लगानी प्रतिवद्धता आएको छ । यी उद्योगहरूबाट २० हजार १२२ रोजगारी सृजना हुने आँकलन गरिएको छ । चालु आर्थिक वर्षको पछिल्लो महिनाहरूमा उद्योगमा लगानी प्रतिवद्धता बढेको तथ्यले बताउँछ । विभागको तथ्यांकअनुसार साउन महिनामा मात्रै ५९ करोड ७५ लाख ६० हजार प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएकोमा भदौमा ३३ अर्ब ९ करोड २० लाख आएको थियो । त्यस्तै, असोजमा २ अर्ब ४ करोड ५७ लाख वैदेशिक लगानी प्रतिवद्धता आउँदा कात्तिकमा मात्रै १ अर्ब ५४ करोड ३९ लाख प्राप्त भएको थियो भने मङ्सिरमा मात्रै १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको थियो। सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिवद्धता चालु आर्थिक वर्षको ६ महिनामा सूचना प्रविधिमूलक क्षेत्रका सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ । गत साउनदेखि पुस महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड बराबरको लगानी प्रतिवद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १ सय ४५ उद्योगमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्यांकअनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन् । ६ महिनामा १ हजार २२९ लगानीकर्ताले यस्तो भिसाको सिफारिस मागेका छन् । अघिल्लो आवको सोही अवधिमा २ हजार १ सय १७ सय जनाले यस्तो भिसा माग गरेका थिए । यस्तै, ६ महिनामा १ सय ७९ जनाले बिजनेस भिसा मागेका छन् । अघिल्लो वर्ष यही अवधिमा २ सय १ जनाले प्रतिनिधिले भिसा लिएका थिए ।