बानेश्वरमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो शाखा, अब एकै छानामुनि सबै स्वाद चाख्न पाइने

काठमाडौं । ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा नेपाली बजारमा आफ्नो पहिचान बनाइसकेको करेन्ट नुडल्स उत्पादक कम्पनी यसोदा फुड्स प्रालिले रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यायनी चोकमा आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । करेन्ट मार्ट भैरहवामा रहेको पहिलो आउटलेटको उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै विस्तार गरिएको कम्पनीले जनाएको छ ।  नयाँ शाखाको उद्घाटन यसोदा फुड्सका निर्देशक मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर नतसी योगराज पाण्डेले गरेका थिए । कार्यक्रममा निर्देशक घिमिरेले करेन्ट मार्टको अबको भविष्य र योजनाबारे जानकारी गराएका थिए । यस्तै, कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पासैनी, विमला खाती र सपना भुसाल लगायतको उपस्थिति रहेको थियो । यसका साथै ग्राहकहरूको समेत उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ ।  नवनिर्मित करेन्ट मार्टमा उपभोक्ताले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । जसमा करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्सका साथै चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया उपलब्ध छन् ।  त्यसैगरी जिरा पाउडर, धनियाँ पाउडर र रातो खुर्सानी पाउडर जस्ता मसला सामग्रीहरू पनि मार्टमा पाइने कम्पनीले जनाएको छ । ‘भैरहवाका उपभोक्ताले करेन्ट मार्टप्रति देखाएको विश्वास र माया नै हामीलाई राजधानीसम्म सेवा विस्तार गर्न प्रेरणा बनेको हो । अब काठमाडौंका उपभोक्ताले पनि कात्यायनी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नुहुनेछ’, यसोदा फुड्सका अध्यक्ष चन्न प्रसाद पौडेलले भने ।  यसअघि कम्पनीले अनामनगर र शंखमूलमा ‘करेन्ट पोइन्ट’मार्फत नुडल्स पारखीलाई सेवा दिँदै आएको थियो । नयाँ करेन्ट मार्टले भने यसोदा फुड्सका सबै प्याकेज्ड फुड उत्पादनहरू एकै स्थानबाट खरिद गर्ने सुविधालाई अझ सहज बनाउने विश्वास लिइएको छ ।  सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रा. लि. नेपालकै अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। गुणस्तर र नवीनतामा निरन्तर ध्यान दिँदै आएको कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । ‘करेन्ट’ ब्रान्डअन्तर्गत उत्पादन हुने विभिन्न पिरो र स्वादिष्ट चाउचाउहरू विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छन् । हाल कम्पनीले आफ्ना उत्पादनहरू नेपालसहित विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै आएको छ । 

गालीले होइन, आर्थिक एजेन्डाले दल स्थापित हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक एजेन्डाका आधारमा स्थापित हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा धारणा राख्दै अध्यक्ष ढकालले अन्य राजनीतिक दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने बताए । उनका अनुसार कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म आर्थिक मुद्दा कहिल्यै पनि प्राथमिकतामा परेका छैनन् । ‘राजनीतिक दलका नेताहरूले अर्को दललाई नराम्रो देखाउने प्रचलन छ । आफ्ना एजेन्डा स्थापित गर्नतर्फ कोही पनि लाग्दैनन्,’ ढकालले भने । निजी क्षेत्रप्रति राजनीतिक दलहरूको धारणा नकारात्मक हुने गरेकोले विभिन्न समयमा त्यसको असर भोग्नुपरेको उनले बताए । ‘निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजना गरेका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ?’ उनले भने, ‘मन्त्रालय–मन्त्रालयबीच समन्वय छैन । निर्णय गर्दा लोकप्रियता खोज्ने गरिएको छ । राज्यलाई क्षति हुने भए पनि चर्चा बटुल्ने खालका निर्णय गर्ने प्रचलन बढेको छ ।’ निजी क्षेत्रलाई राज्यले प्रवर्द्धन र संरक्षण नगरे अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ ।

साढे ६ लाख मेट्रिकटन क्षमताको स्टिल उद्योग बन्ने, दुगड-गोल्छा ग्रुपको ११ अर्ब लगानी

काठमाडौं । दुगड ग्रुप र गोल्छा ग्रुपको लगानीमा पर्सामा ठूलो क्षमताको नयाँ स्टिल उद्योग निर्माण हुने भएको छ । प्राइम स्टिल प्रालिले वार्षिक ६ लाख ५० हजार मेट्रिक टन उत्पादन क्षमतासहित करिब ११ अर्ब रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको हो ।  पर्सा जिल्लाको पोखरिया-९ मा निर्माणाधीन यो उद्योग नयाँ हरित क्षेत्र (ग्रीनफिल्ड) परियोजना हो । सन् २०२२ फेब्रुअरी ६ मा दर्ता भएको प्राइम स्टिल हाल प्रारम्भिक निर्माण चरणमा रहेको छ । कम्पनीले उद्योग निर्माणलाई दुई चरणमा सम्पन्न गर्ने योजना बनाएको छ । पहिलो चरणअन्तर्गत ३ लाख ५० हजार मेट्रिक टन क्षमताको एचआर स्ट्रिप उत्पादन गर्ने प्लान्ट स्थापना गरिनेछ । यस चरणका लागि करिब ११ अर्ब रुपैयाँ (११ हजार मिलियन) बराबरको पुँजीगत लगानी अनुमान गरिएको छ । परियोजना ७५:२५ ऋण-इक्विटी अनुपातमा वित्तीय व्यवस्थापन गरिँदैछ । प्राइम स्टिल प्रालि केएल दुगड समूह र हुलास समूहद्वारा प्रवर्द्धित कम्पनी हो । सन् २०२५ जुलाई मध्यसम्मको तथ्याङ्कअनुसार कम्पनीको सेयर संरचनामा सौरभ दुगडको करिब ३३ प्रतिशत र चन्द्रकुमार गोल्छाको करिब १६ प्रतिशत स्वामित्व रहेको छ । प्राइम स्टिलको नेतृत्व प्रबन्ध निर्देशक शरद गोल्छा र निर्देशक सौरभ दुगडले गरिरहेका छन् । गोल्छा शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, हुलास पावर प्रालि तथा हाई ग्राउन्ड एड्भेन्चर प्रालि जस्ता संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय छन् । उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीतिबाट प्राइम स्टिल लाभान्वित हुन सक्ने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटअनुसार स्टिल निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान, मासिक १० करोड रुपैयाँभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म सहुलियत तथा १ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योगलाई आयकरमा ३० प्रतिशत छुटको व्यवस्थाले कम्पनी सञ्चालनमा थप प्रोत्साहन मिल्ने जनाएको छ । उद्योग सञ्चालनका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ दीर्घकालीन र ३ अर्ब २० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।