इलामकाे किसानहरू उद्यमी बन्दै, गाउँमै ४० हजार टन चिया प्रशोधन
काठमाडौं । चियाका प्रसिद्ध इलाममा धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि किसान चिया उद्योग स्थापना गर्न लागेका छन् । आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको किसानले बताए। उद्योग स्थापना गर्ने लहर चलेपछि एकै गाउँमा नौ वटासम्म उद्योग स्थापना भएका छन् । इलाम नगरपालिका–१ स्थित साँखेजुङमा मात्र नौवटा उद्योग स्थापना भएका छन् । यस क्षेत्रका मानिसको प्रमुख आय स्रोत नै चिया भएपछि किसान व्यावसायिकरूपमा चियाखेती लागेका छन् । चिया उद्यमी टङ्क दाहालका अनुसार साँखेजुङमा मात्र वार्षिक ४० हजार टन चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् । यहाँ १० टनदेखि १०० टनसम्म चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् । चिया तथा कफी विकास बोर्डका अनुसार यहाँ ग्रीन हिल अर्थोडक्स चिया, पाथीभरा अर्थोडक्स चिया, कञ्चनजङ्गा अर्थोडक्स चिया, साङ्ग्रिला चिया प्रालि, साकिरा चिया प्रालि, ग्रीन हील सहकारी चिया उद्योग, गजुरमुखी चिया उद्योग, हिमालयन चिया उद्योग र फस्र्ट आवर चिया उद्योग संचालनमा रहेदैँ आएका छन् । केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रबिन राईले ठूला उद्योगबाट उचित पारिश्रमिक र चियाको तोकिएको मूल्य नपाइने डरले अहिले किसान आफैँले उद्योग खोल्न थालेको बताएका छन् । किसान सचेत भइसकेका छन्, अर्काको दबाबमा बसेर अर्काले दिएको मूल्यमा किसान चित्त बुझाउन चाहँदैनन् साथै ठूला उद्योगले भनेको समयमा ज्याला पनि नदिने भएकाले किसान आफैं उद्यमी बन्न प्रेरित भएको बताएका छन् । नेपालमा चिया प्रशोधनका लागि ११३ वटा उद्योग सञ्चालनमा रहेका छन् । रासस
उद्योग छाडेर व्यापारमा लाग्ने उल्टो बाटो नहिड्नुसः उद्योग मन्त्री यादव
काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नाफाको पछि लागेर उद्योग बन्द गर्दै व्यापार तिर लाग्ने प्रवृत्तिको आलोचना गरेका छन् । आइतबार उद्योग दिवसका अवसरमा आयोजीत कार्यक्रममा मन्त्री यादवले उद्योग छाडेर व्यापारमा लाग्ने व्यवसायीलाई उल्टो बाटो हिडेको आरोप पनि लगाए । उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारीक मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ हिडेको मन्त्री यादवको आरोप छ । यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्ति समेत जनाएका हुन् । मन्त्री यादवले स्वदेशी उद्योगमा जोड दिएर अघि बढन पनि उद्योगीहरुलाई आग्रह गरे । मन्त्री यादवले व्यापारीहरुले देशको भन्दा पनि आफ्नो मुनाफामा मात्रै ध्यान दिएको गुनासो पनि गरे । स्वदेशी बस्तु उत्पादनमा उद्योगीहरुले जोड दिए त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको यादवको भनाइ थियो ।
नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बन्यो, अर्थतन्त्रमा सुधार हुने- चन्द्रप्रसाद ढकाल
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रम सम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन् । श्रमिकहरुको वर्तमान आर्थिक अवस्था विषयमा एओटीएसद्धारा जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ढकालले श्रम र श्रमिकहरुको सामाजिक सुरक्षा सम्बन्धी कानुनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदको अध्यक्षका रुपमा उक्त सम्मेलनलाई सम्बोधन गर्दै ढकालले देशमा उद्योग धन्दाको स्थापना र विकासका साथै वैदेशिक लगानीका लागि पनि यी कानुनले नयाँ वातावरण सिर्जना गर्ने बताएका छन् । साथै, श्रमसँग जोडिएका विविध समस्या हल गर्न सहयोग पुग्ने नेपालको आर्थिक क्षेत्रले अपेक्षा गरेको उनले बताए । यी नयाँ कानुनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्न खाले समस्या सम्बोधनका लागि समन्वय गर्न महासंघलाई पनि सहयोग पुगेको ढकालले बताए । नेपाल सरकार, रोजगारदाता, श्रमिकहरु आवद्ध ट्रेड युनियन प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघबीचको छलफल र परामर्शपछि यी कानुन आएका र नयाँ व्यवस्था बमोजिम श्रमिकलाई दिने सेवा र सुविधाका लागि रोजगारदाताहरु पनि सहमत भएकोले नेपालको श्रम क्षेत्रमा र यसका कारण सिंगो अर्थतन्त्रकै क्षेत्रमा यी कानुनले सकारात्मक प्रभाव पार्ने उनले बताए । श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको आफ्नै र रोजगारदाताका तर्फबाट गरिने योगदानले सामाजिक सुरक्षा कानुनतः नै निर्माण भएको र न्युनतम ज्यालाको नयाँ व्यवस्थाले श्रमका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए । योगदानमा आधारित यस सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताका तर्फबाट कामदारको शुरु तलबको २० र श्रमिक आफैको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमा जम्मा गरी श्रमिकलाई दिने प्रावधान रहेको छ । उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको भन्दै नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई पनि आग्रह गरेका छन् । श्रमिकका समस्याका विषयलाई पनि सम्बोधन गर्ने गरी श्रमसम्बन्धी कानुन निर्माण भएका र देशमा राजनीतिक स्थिरता पनि आएकोले नेपालका कैयौँ सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न अब विदेशी लगानीकर्ताका लागि राम्रो र सकारात्मक वातावरण बनेको उनले बताए । सो सम्मेलनमा विश्वका १४ देशका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।