लघु, घरेलु तथा साना उद्योगका लागि पुनरकर्जा कार्यविधि केन्द्रित हुने- डेपुटी गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको व्यापार घाटा कम गर्न उल्लेखनीय भूमिका खेल्दै आएका लघु, घरेलु तथा साना उद्योगहरुका लागि पुनरकर्जा कार्यविधि केन्द्रित हुने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले साथै विगतका दिनहरूमा लघु, घरेलु तथा साना उद्योगहरूले पुनर कर्जा नपाएको र महासंघको अगुवाइमा यो वर्षदेखि पाउने व्यवस्थामा खुशी हुनुपर्ने विचार व्यक्त गरेका छन् । डेपुटी गभर्नर शिवाकोटीले पुनरकर्जा कार्यविधिलाई लघु, घरेलु तथा साना उद्योग अनुकूल बनाउन कोशिष गर्ने पनि बताए । महासंघको आग्रहमा लघु घरेलु तथा साना उद्योगहरूले पनि पुनरकर्जा पाउने गरी नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को ड्राफ्ट गरेको छ । कार्यविधिमा लघु घरेलु तथा साना उद्योगहरूले सहज  र सरल तरिकाले पुनरकर्जा पाउन केही बुँदामा संशोधन गर्नुपर्नेमा महासंघले ध्यानाकर्षण गराएको छ । राष्ट्र बैंकले तयार गरेको पुनरकर्जा कार्यविधि २०७७ मा नेपाल घरेलु तथा साना उद्योग महासंघको तर्फबाट सुझाव दिने क्रममा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहको नेतृत्वमा महासचिव डम्बर प्रसाद रेग्मी र कोषाध्यक्ष सत्यनारायण प्रजापति सहितको टोलीले डेपुटी गभर्नर शिवाकोटीलाई उनकै कार्यकक्षमा भेटगरी लिखित सुझाव हस्तान्तरण गरिएको छ । सुझावमा लघु उद्योगले १५ लाखसम्म,  घरेलु उद्योगले ५० लाखसम्म र साना उद्योगहरूले दुई करोड रुपैयाँसम्मको पुनरकर्जा पाउनुपर्ने माग महासंघको छ । पुनरकर्जा व्यवस्थापन तथा अनुगमन समितिमा माहासंघको प्रतिनिधित्व हुनुपर्ने, बैंकको पत्येक शाखाले कम्तीमा १० जना लघु, घरेलु तथा साना उद्योगहरूले अनिवार्य रूपमा पुनरकर्जा पाउनुपर्ने सुझाव दिइएको थियो । त्यस्तै लघु वित्तीय संस्थाले महिला तथा लघु उद्यमीहरुलाई विशेष पाथमिकता दिनुपर्ने, लघु घरेलु तथा साना उद्योगहरूले पुनरकर्जाको लागि आवेदन गरेको १५ दिनभित्र कर्जा पाउनुपर्ने लगायतका सुझावहरू प्रतिनिधिमण्डलले दिएका थिए ।

‘मुठ्ठी खाएर मुरी फलाउने’ समयमा कोरोना त्रास, सुरक्षित रहेर कसरी गर्ने यो वर्षको धान रोपाईं ?

काठमाडौं । ‘मुठ्ठी खाएर मुरी फलाउने’ यो समय अन्य वर्षको तुलनामा नितान्त फरक छ । विश्वमा नै फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठनले भनेका सामाजिक दुरी कायम गर्नेदेखि पन्जा, मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग अनिवार्य छ । धान रोपाइँमा सामाजिक दुरी कायम गरी काम गर्ने सम्भावना न्यून हुन्छ । एउटै खेतमा कयौं मानिसले रोपाइँ गरिहेका हुन्छन् भने धान रोपाइँमा एकैपटक धेरै मासिन सहभागी हुने गर्छन् । नेपालको अधिकांश क्षेत्रमा कोरोना संक्रमण फैलिएसँगै कृषि क्षेत्रमा संलग्न रहेका व्यक्तिलाई कृषिमन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गरी कृषि तथा पशुपन्छी उपजहरुको ढुवानी, विक्री गर्न भन्दै आएको छ । कृषकको एक महत्वपूर्ण एवं व्यस्त समय असार लागेसँगै रोपाइँको चटारोले छोपेको छ । धेरै मानिस जम्मा भएर सँगै गर्ने काम भएकाले कोरोना कहरको यो समयमा यस वर्षको रोपाइँ त्रासयुक्त हुने देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा सामाजिक दुरी कायम गरी काम गर्न तथा स्वास्थ्य मापदण्डभित्रका नियम पालन गर्न अनुरोध गर्दै आएको प्रवक्ता डा. हरिबहादुर केसीले बताए । सबै पालिकाले आफ्नो क्षेत्रमा कृषिजन्य गतिविधिका लागि कृषकलाई उत्प्रेरित गर्दै कोरोना संक्रमणबाट सचेत रहन स्वास्थ्य मापदण्डको बारे बुझाउन आग्रह गरिएको प्रवक्ता डा.केसीले जानकारी दिए । नेपालका ७२ वटा जिल्लामा कोरोना संक्रमण विस्तार भइसकेको पाइएको छ । हालसम्म ५ हजार ३ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भइसकेको छ । बाली लगाउने समय, कोरोना संक्रमणका उच्च जोखिमसँग समन्वय गर्दै स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गरि काम गर्न स्थानीय सञ्चारमाध्यम तथा कृषि सम्बन्धि कार्यालयले जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्न अनिवार्य रहेको वरिष्ठ् कृषिविज्ञ केदार बुढाथोकीले बताएका छन् । ३÷४ फिटको दुरीमा रहि रोपाइँ गर्न आग्रह गरेपनि विऊ काड्नेदेखि खाजा, पानीमा समस्या हुने कृषि विज्ञ बुढाथोकीको भनाइ छ । ‘पानीमा नै सबै जना काम गर्नु पर्ने हुँदा समस्या छन्, तर मास्क भने अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । सरकारले कृषकलाई अनुदान स्वरुप मास्क दिनदेखि सकेसम्म सामाजिक दुरी कायम राख्नका लागि सचेतनामुलक कार्यक्रमहरु स्थानीय रेडियोबाट प्रसारण गर्नु अनिवार्य छ’ उनले भने । विश्वमा नै आर्थिक संकट आउने, बेरोजगारीको संख्या तिव्र हुने समयमा कृषिजन्य उत्पादनतर्फ नेपाल सरकारको केन्द्रित भएको छ । तर मल, बिउ, पानी जस्ता समस्याले गर्दा विचलित बन्दै गरेका किसानमा मुख्य बाली धान रोप्दै गर्दा धेरै मानिस तथा सामाजिक दुरी कायम नहुने हुँदा कसरी सुरक्षित ढंगले रोपाइँ गर्न सकिन्छ भन्ने कुरा सोच्न थाल्नु सामान्य हो ।

अर्थमन्त्रीले भनेः बैंकहरुले अस्वभाविक नाफा कमाउनु हुँदैन, उद्योग बाँचे पो बैंक बाँच्छन् (भिडियाेसहित)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक पुनरुत्थानका लागि बैंक तथा वित्तीय संस्था र उद्योगहरु सँसँगै अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा अर्थ विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले यस्तो धारणा राखेका हुन् । उनले कोरोना भाइरसले निम्त्याएको आर्थिक संकटको सामना गर्नको लागि बैंक तथा वित्तीय संस्था र उद्योगहरुबीचकाे सम्बन्ध झन प्रगाढ हुनु पर्ने बताएका हुन् । ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुलाई अस्वभाविक नाफाको अवस्थाबाट हटाएर सामान्य नाफाको रुपमा राख्नुपर्छ,  बैंकहरुले नाफा गर्न खाेज्याे भने उद्योगहरु मर्छन् त्यसपछि बैंकहरु पनि समस्यामा पर्छन्, यो समय भनेको एकले अर्कालाई सहयोग गर्ने हो,’ उनले भने । आफुले बैंकको स्प्रेड क्रमशः घटाउँदै लैजानु पर्ने धारणा राख्दै आएको बताउँदै कुनै बेलाको ८/९ प्रतिशतको स्प्रेड अहिले ५ प्रतिशतभन्दा तल छ झरहेको उनको भनाई छ । खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सामान्य नाफाको अवस्थामा राख्ने गरी कानुनी व्यवस्था गरिएको बताएका छन्। उनले उद्योगलाई अफ्ठेरो नपर्ने गरी बैंक तथा वित्तीय संस्थाको स्प्रेड दर कम गर्ने पक्षमा सरकार सधैं रहेको पनि उल्लेख गरे। यस्तै, उनले नेपाल दूरसञ्चार प्राधिकरणले उठाएको रोयल्टी पनि राजस्व डाइभर्ट गरी संकलित रकम सरकारले राजस्व खातामा ल्याउन खोजिएको बताए । उनले सरकारको अनिवार्य दायित्व मासिक ४० अर्ब रूपैयाँ रहेको र त्यो धान्न अहिले राजस्व पर्याप्त नरहेको बताए । ‘भन्सारबाट मासिक १५ अर्ब उठेको छ, आन्तरिक स्रोत कमजोर भएको छ, उनले भने, अनिवार्य दायित्व पूरा गर्न थप स्रोत व्यवस्थापन गर्नुपरेको छ।’ खतिवडाले निजी महँगा विद्युतीय गाडीलाई कर लगाइएको भए पनि सार्वजनिक सवारीमा कर नलगाइएको पनि प्रष्ट पारेका छन्। Yubraj Khatiwada Gepostet von Bikashnews.com am Sonntag, 14. Juni 2020