उद्योगको बीमा शुल्कमा ३३ प्रतिशत छुट, उद्याेगीबाट प्रभावित नीति बनेकाे बीमककाे आराेप

काठमाडौ । बीमा समितिले कोरोना महामारीका कारण भएको लक डाउनको समयमा बन्द रहेका उद्योगहरुको बीमा शुल्कमा ३३ प्रतिशत छुट दिन कम्पनीहरुलाई निर्देशन दिएको छ । सो निर्देशनमा सम्पत्ति बीमा अन्तरगत बीमा दरलाई संशोधन गर्ने पनि उल्लेख गरिएको छ । हाल कायम रहेको व्यवस्था अनुसार बन्द अवस्थामा रहेको कारखानाको बीमा दर प्रति हजारका दरले ३ रुपैयाँ कायम रहदै आएको थियो । परिमार्जित व्यवस्था अनुसार बन्द अवस्थाको जोखिम (साइलेन्ट रिस्क) हाल कायम रहेको सम्बन्धित बीमा दरको एक तिहाई कायम गरिने भएको हो । नयाँ व्यवस्थासँगै कारखानाको बीमा दर प्रति हजारका दरले करिब १ रुपैयाँ मात्र भएकाे छ । नयाँ व्यवस्थाले उद्याेगीलाई लाभ भए पनि बीमा कम्पनीहरूकाे  आम्दानी गुम्मेछ । यसअघि बीमा कम्पनीहरूलाई माेटर बीमा पनि यस्तै छुट दिन बीमा समितिले निर्देशन दिएकाे थियाे । माेटर बीमामा छुट दिँदा २० वटा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ६० कराेड रूपैयाँ  आम्दानी गुमाएकाे नेपाल इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत वियज बहादुर शाहले बताए । २६ अर्बकाे कुल बजारमा २ अर्ब ६० कराेड छुट दिदाँ बीमा कम्पनीहरूकाे वित्तीय अवस्थामा ठूलाे असर पर्ने उनकाे मत छ । बीमा समितिले उद्याेगी र व्यापारीकाे कुरा मात्र सुन्न थालेकाे र बीमा कम्पनीहरू मर्कामा परिरहेकाे भन्दै उनीहरूले दुःखेसाे व्यक्त गर्न थालेका छन् । ‘बीमा समितिले हाम्राे कुरा सुन्न छाेडेकाे छ । उद्याेग वाणिज्य महासंघ, उद्याेग परिसघका कुरा सुन्न थालेकाे छ’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने-‘सरकारले गरेकाे निर्णय मान्नै पर्याे, काेभिडकाे असर उद्याेगी व्यापारीलाई मात्र परेकाे जस्ताे छ । बीमा कम्पनीहरू काेभिड बीमा, माेटर बीमा र उद्याेग बीमाबाट थला पर्दैछन् ।’ यस्तो छ निर्देशन  

उद्योग वाणिज्य संघ चितवनले थप्यो कोरोना बीमाको म्याद, असोजसम्मै निःशुल्क गरिदिने

भरतपुर । उद्योग वाणिज्य संघ-चितवनले आफ्ना सदस्यहरुलाई उपलब्ध गराउँदै आएको निःशुल्क कोरोना बीमा गर्ने म्याद थप गरेको छ । उद्योग वाणिज्य संघ-चितवनको आज (साउन ३० गते) को बैठकले आगामी असोज मसान्तसम्म संघको सदस्यता नवीकरण गर्ने सदस्यहरुलाई ५० हजार रुपैयाँ बराबरको निःशुल्क कोरोना बीमा गरिदिने निर्णय गरेको संघका अध्यक्ष राजु श्रेष्ठले बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तिब्र गतिमा बढ्दै गएको र व्यवसायी सदस्य यसको जोखिममा रहेकोले यसको म्याद थपिएको संघका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिस पन्तले जानकारी दिए । संघमा आवद्ध करिब ५ हजार सदस्यहरुको नै निःशुल्क बीमा गरिदिने कार्यक्रम बमोजिम असौज मसान्तसम्मको म्याद थप गरिएको पन्तले जानकारी दिए । उद्योग वाणिज्य संघ-चितवनले सो योजना गत असार महिना देखी लागु गरेको र एक जना व्यवसायीलाई कोरोना संक्रमणको पुष्टि भईसकेकोले बीमा रकम उपलब्ध गराउन लागिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए । साथै, संघले आज एक सूचना जारी गरि विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम एक हप्ताको लागि भरतपुर महानगरपालिकामा लकडाउन लागू गर्ने भएकोले उद्योग व्यवसाय बन्द गरि आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित रहनका लागि नेपाल सरकारद्धारा लागू गरेका स्वास्थ्य तथा सुरक्षाका उपायहरु अबलम्बन गर्न अनुरोध गरेको छ । संघमा आवद्ध सदस्यहरुलाई सचेत गराउनका लागि संघले विभिन्न सामाजिक सञ्जाल मार्फत जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको समेत संघले जनाएको छ ।

१ अर्बको लगानीमा क्वालिटी पेपर ईण्डष्ट्रीज सञ्चालनमा, कागजजन्य फोहरलाई पुनःप्रशोधन गरिने

चितवन । चितवनको छिमेकी जिल्ला नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ । नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रीज प्रा.लिले सञ्चालनमा आएको हो । कागज उद्योगको इतिहास जोडिएको नवलपरासी जिल्ला हाल नवलपुर र पश्चिम नवलपरासीको रुपमा रहेको छ । भृकृटी कागज उद्योग हाल बन्द रहेपनि तत्कालिन अवस्थामा कागजको जिल्लाको रुपमा परिचित थियो । उद्योगले आज पत्रकार सम्मेलन गर्दै स्वदेशमा खेर गएको कागजजन्य फोहर र स्थानिय कच्चा पदार्थको प्रयोगबाट नयाँ क्वालिटी पेपर ईण्डष्ट्रीज प्रा.लिले सञ्चालन ल्याएको जनाएको छ । नवलपुरस्थित आरुङ्गखोलामा विस २०७५ सालदेखि स्थापना भई भरतपुरमा केन्द्रिय कार्यालय रहेर झण्डै दुई बर्षको मिहिनेत पछि आफ्नो उत्पादन बजारमा ल्याउन लागेको हो । मुख्य रुपमा प्याकेजिङ्ग (काटुन) बनाउने कागज उत्पादन पहिलो चरणमा सुरु गर्न लागेको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए । यसअघि नेपालमा प्याकेजिङ्गका लागि भारत र चीनसहित तेश्रो मुुलुकबाट आयात गर्ने अवस्था थियो । निकट भविष्यमा सेतो कागज पनि यहि उत्पादन गर्ने र मुलुकको कुल खपत आधा हिस्सा आगट्ने लक्ष्य राखेका उनको भनाई छ । ‘नेपाली पहिचान दिने र यहाँको उत्पादनलाई प्रयोग गर्दै आत्मनिर्भर र स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिदै हामीले नयाँ कागज उद्योग सञ्चालन ल्याएका हौं उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले भने, लामो समयमा विभिन्न व्यापार व्यवसायमा अनुभव बटुलेका युवा व्यवसायीहरुले स्वदेशी कच्चा पदार्थमै नयाँ प्रयोग गर्दै क्वालिटी पेपर ईण्डष्ट्रीज प्रा.लि जन्मियो ।’ कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्यसहित यो उद्योग सञ्चालन ल्याएको प्रबन्ध निर्देशक राजन पियाले जानकारी गराए । उनले युरोपियन प्रबिधिको प्रयोग गरी वातावरण प्रदुषणलाई रोक्न यो कागज उद्योग स्थापना भएकादावी गरेका छन् । यस उद्योग करिब ११ बिघा क्षेत्रफलमा फैलिएको छ । नेपालमा हाल ८० प्रतिशत सेतो कागज तथा ६० प्रतिशत प्याकेजिगं कागज विभिन्न मुलुकबाट आयात हुने गरेको तथ्याकं छ । ‘नेपालमा खेर जाने कागजजन्य फोहर हाल सस्तो मुल्यमा विदेश निर्यात हुँदै थियो ।’ उनले भने, ‘अबदेखि स्वदेशमा नै यसको पुनः प्रयोगमा ल्याउनु हाम्रो मुख्य उद्देश्य पनि हो ।’ स्वदेशमा नै रोजगारी सिर्जन गरेर देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन ४ जना युवाहरु र प्रभू बैक लिमिटेडको सहकार्यमा १ सय करोड रुपैयाँ लगानीमा उद्योग सुरु हुन लागेको हो । उद्योगले स्थानीय १ सय ५० जनालाई रोजगारी दिने बताएको छ । नेपालमा हाल ३ वटा कागज उद्योग रहेका छन् । विरगञ्ज र विराटनगरको उद्योग सञ्चालनमा रहे पनि भैरहवाको उद्योग वन्द छ । उद्योगले नेपाली बजारबाट निस्कने दैनिक १ सय १५ टन कागजजन्य फोहर संकलन गरी प्रशोधन गरि १ सय २० टन उत्पादन गर्नेछ । यसअघि यस्तो फोहर धेरै मात्रमा भारत र चीनमा निर्यात हुँदै आएको थियो । उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुणस्तर र मुल्यमा उत्पादन बिक्रि वितरण गर्ने उद्योगका बजार निर्देशक रुपक श्रेष्ठले जानकारी दिए । यस्तै देशमा धेरै पत्रपत्रिकाहरुमा समेत रहेका छन् जसका लागि विदेशबाट कागज आयात गरी प्रकाशन हुने गरेकोमा यस्तो कागजसमेत यहाँ नै उत्पादन सुरु गर्ने उद्योगको तयारी छ ।