लकडाउनपछि उद्योगी व्यवसायीको मुडः ऋण थप्ने, कर्मचारी घटाउने, नयाँ साझेदार खोज्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लगाएको लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र थला परेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षण अनुसार उद्योगी व्यवसायी पूर्ववत रुपमा उद्योग व्यवसाय चलाउन नसक्ने अवस्थामा पुगेका छन् । लकडाउनपछि आफ्नो उद्योग व्यवसाय पूर्ववत संचालन गर्न नयाँ रणनीतिमा उद्योगी व्यवसायी रहेको सो सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको सर्वेक्षणका अनुसार लकडाउनपछि वित्तीय साधन परिचालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, कर्मचारी÷ तलब कटौती गरी खर्च घटाउने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने जस्ता सोचमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरु रहेको पाइएको छ । सर्वेक्षणले राष्ट्र बैंकको निर्देशन अनुसार उद्योग व्यवसायले सहुलियत नपाएको देखाएको छ । ‘सर्वेक्षण अवधिको समाप्तिसम्ममा छुट प्राप्त गर्न योग्य सहभागी उद्योग व्यवसायहरुमध्ये करिब २० प्रतिशतले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको व्याज छुट प्राप्त गरेको बताएका छन्, ६९.९ प्रतिशत उद्योग व्यवसायहरुले नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत व्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी÷कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने बताएका छन्,’ सर्वेक्षणमा उल्लेख गरिएको छ । लकडाउनको अवधिमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुलाई सञ्चालन खर्च व्यहोर्न चालु पूँजीको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमीजस्ता समस्या रहेको देखिएको छ । सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुले सरोकारवाला निकायबाट ब्याजदरमा सहुलियत, लचिलो किस्ता (व्याज र साँवा) भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋण अवधि लम्ब्याउने सुविधाको अपेक्षा गरेको देखिएको छ ।

लकडाउनपछि ६१ प्रतिशत उद्योग बन्द, चलेकाको उत्पादन ७४ प्रतिशतले घट्यो

काठमाडौं । सरकारले गत चैतदेखि लागू गरेको लकडाउन नेपाली उद्योग तथा व्यवसाय क्षेत्रका लागि सबैभन्दा कठिन अवस्था भएको पाइएको छ । सो समयमा ६१ प्रतिशत बन्द भएका छन् भने चलेका उद्योग व्यवसायको उत्पादन पनि ७४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययनका अनुसार सो समयमा ४ प्रतिशत उद्योग व्यवसाय मात्रै पूर्ण रुपमा संचालनमा रहेका थिए । यस्तै, ३५ प्रतिशत उद्योग व्यवसाय भने आंशिक रुपमा संचालनमा रहेका थिए । राष्ट्र बैंकको सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुको कर्जा सम्पत्ति अनुपात औसतमा ४८.७ प्रतिशत रहेको देखिएको छ । कुल खर्चमा स्थिर खर्च र चालु खर्चको हिस्सा क्रमशः ३७.६ प्रतिशत र ६२.४ प्रतिशत रहेको छ । ७४.३ प्रतिशत उद्योग व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिएको राष्ट्र बैंकको भनाइ छ । कर्जा नलिएका उद्योग व्यवसायहरुको संख्या १२ प्रतिशत रहेको छ । लकडाउनको अवधिमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन वा कारोबार घटेको जनाएका छन् । सहभागीमध्ये ०.९ प्रतिशत उद्योग व्यवसायहरुको उत्पादन कारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको उत्पादन कारोबार पूर्ववत रहेको देखिएको राष्ट्र बैंकले जानकारी दियो ।

मकवानपुरका २ सय १९ घरेलु उद्योग बन्द

मकवानपुर । मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ । हाल मकवानपुरमा खारेज गरिएका बाहेक आठ हजार ७५६ वटा उद्योग सञ्चालनमा रहेको कार्यालयका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । साथै गत आर्थिक वर्षमा मात्रै एक हजार १४४ उद्योग नवीकरण भएका छन् । त्यस्तै २१३ वटा उद्योग फर्मको नामसारी भएको छ । अघिल्लो आवभन्दा गत आवमा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने सङ्ख्या घटेको छ । कार्यालय प्रमुख दाहालका अनुसार अघिल्लो आवमा एक हजार ९३१ उद्योग दर्ता भएका थिए भने गत आवमा उक्त सङ्ख्या घटेर एक हजार २६४ वटा मात्र दर्ता भएको बताइएको छ । कोरोना भाइरसका कारण यस वर्ष २०७६/७७ मा उद्योग दर्तामा कमी आएको अनुमान गरिएको छ । रु पाँच लाखभन्दा कम पूँजी लगानीका उद्योग स्थानीय पालिकामा दर्ता गर्नुपर्ने र कोरोना डरले नयाँ उद्योगी अन्योलमा परेपछि उद्योग दर्ता सङ्ख्या घटेको बताइएको छ । लकडाउनमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता तथा नवीकरणबाट राजस्व भने बढेको छ । प्राप्त विवरणअनुसार अघिल्लो आवमा रु एक करोड ७४ लाख ५८ हजार राजस्व सङ्कलन भएको थियो भने गत आवमा त्योभन्दा अत्यधिक रु दुई करोड २४ लाख ४८ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षमा उद्योग कम दर्ता भए पनि राजस्व सङ्कलन बढी भएको थियो । गत वर्ष विशेष छुट दिइएको थिएन । अघिल्लो वर्षमा विशेष छुट दिइएको थियो । नवीकरण नगर्ने उद्योगलाई जरिवाना गरिएको थियो । गत वर्ष दर्तामध्ये ६४३ महिला र ९०८ पुरुष उद्योगी भएका छन् । उत्पादनमूलक उद्योगतर्फ ५०५ महिलाले र ३०० पुरुषले रोजगारी पाएको छ । कच्चा पदार्थको अभाव, उत्पादित सामान बिक्री नहुने कारण, थप पूँजीको अभाव, बैंकको ब्याज तिर्ने र घरभाडालगायत समस्याले उद्यमी समस्यामा परेको कर्राका काष्ट उद्योगी रामपुकार ठाकुरले गुनासो गरे । राष्ट्रिय तथ्याङ्क विभागले कारोना कारण २०७६ साल फागुनमा सञ्चालन गरेको औद्योगिक गणनासमेत स्थगित गरेको छ । सोअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले पनि औद्योगिक गणना स्थगित गरेको जनाएको छ ।