महासंघको चुनावमा लोकप्रिय मत ल्याएर विजयी हुने अम्बिका र भरत को हुन् ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन निकै शान्तीपूर्ण ढंगले सम्पन्न भएको छ । हिजो भएको मतदानमा दुवै (ढकाल र प्रधान) प्यानलबाट मिश्रित उम्मेदवारहरु निर्वाचित भएका छन् । सबैभन्दा आकर्षकका रुपमा हेरिएको वरिष्ठ उपाध्यक्षको पदमा चन्द्र ढकाल विजयी भएका छन् । ढकाल आफ्ना निकटतम प्रतिद्वन्दी किशोर प्रधानलाई १ सय ५४ मतले पछि पार्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रधानले ४ सय ६६ र ढकालले ६ सय ३० मत प्राप्त गरेका थिए । उनीहरुसँगै निर्वाचनमै सबैभन्दा बढी अर्थात लोकप्रिय मत ल्याएर विजयी हुने उम्मेदवार हुन् अम्बिका प्रसाद पौडेल र भरतराज आचार्य । चन्द्र ढकाल समूहबाट एसोसिएटमा उम्मेदवारी दिएका पौडेलले सबै उम्मेदवारीभन्दा बढी मत अर्थात ८ सय २ मत प्राप्त गरेर विजयी भए भने आचार्यले पनि ७ सय ४६ मत प्राप्त गरेर विजयी भए । को हुन् अम्बिका पौडेल ? अम्बिका पौडेल पुँजी बजारका लगानीकर्ताहरुको छाता संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष हुन् । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा जन्मिएका पौडेल बैक तथा वित्तिय संस्था, जलविद्युत, कन्स्ट्रक्शन कम्पनी, चन्द्रगिरी हिल्स, उत्पादमूलक उद्योगहरुमा पनि संलग्न भएर काम गर्दै आएका छन् । आफूलाई पुँजी बजारकै अभियन्ताका रुपमा चिनाउँदै आएका पौडेलले पुँजी बजारमा आफुलाई अभ्यस्त पार्नकै लागि आफुले सरकारी जागिर छोडेको बताउँछन् । काठमाडौंको शंकरदेव क्याम्पसबाट एमबीएसम्मको अध्ययन पूरा गरेका उनी पछिल्लो समय विभिन्न उद्योगी व्यवसायीहरुकाबिच प्रिय बन्दै गएका छन् । झट्ट हेर्दा हँसिला र फुर्तिला देखिने पौडेलको सरल र शालिन स्वभावले नै उनी लोकप्रिय बन्दै गएका छन् । वि.स २०४९ सालदेखि पुँजी बजारमा जोडिएका उनले आजभन्दा २३ वर्ष अगाडि अर्थात २०५५ सालमा लेखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेपनि उनले आफ्नो रुचीको रुपमा पुँजी बजारलाई लिए र उनी पुँजी बजारमै आफुलाई अभ्यस्त बनाउन पनि सफल भए । वि.स २०६५ सालमा लेखा अधिकृतको जागिर छोडेर पुँजी बजारमा प्रवेश गरेको पनि उनलाई २५ वर्षभन्दा बढी भइसकेको छ । पुँजी बजार सम्बन्धि उनको कार्यकौशलता र उनको भद्रताले नै महासंघका मतदाताले उनी महासंघमा आवश्यक परेको कारणले नै उनलाई लोकप्रिय मतका साथ विजयी गराएको प्रष्ट हुन्छ । को हुन् भरत आचार्य ? व्यवसायी भरत आचार्यको नेपाली उद्योग व्यवसाय क्षेत्रमा लामो अनुभव छ । प्युठानमा जन्मेका आचार्यले दुई दशकभन्दा बढी समय व्यापार व्यवसायमा अनुभव हाँसिल गरिसकेका छन् । उनले नेपालमा उत्पादन मुलक उद्योग र ट्रेडिङ व्यवसायमा रहेर काम गर्दै आएका छन् । टीएनएस ग्रुपका अध्यक्ष समेत रहेका आचार्यले फर्माप्याक प्रा.लिबाट महासंघको एसोसियट तर्फको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका थिए । उनी आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पराजित गर्दै विजयी भएका हुन् । उनले ७ सय ४६ मत प्राप्त गरेर विजयी भएका हुन् । युवा उद्यमी तथा व्यवसायी आचार्यसँग यसभन्दा अगाडि पनि महासंघको कार्यसमितिमा बसेर काम गरेको अनुभव छ। उनले महासंघको रोजगारदाता परिसंघको उपसंयोजक भएर काम गरिसकेका छन् । उनले युवाहरुलाई स्वरोजगार बनाउनको लागि पनि विभिन्न पहल कदमी गरेका छन् । आचार्य सबै उद्योगी व्यवसायीका एजेण्डालाई सरल तरिकाले प्रस्तुत गर्न सक्ने क्षमता भएकै कारण उनलाई धेरैले रुचाउँछन् । व्यवसायीका मुद्दा तथा समस्याहरु समाधानका लागि लागि पर्ने आचार्यको लगनशिलताले नै उनलाई धेरै उद्योगी व्यवसायीले रुचाएर जिताएका छन् । सम्बन्धित सामग्री: प्रतिस्पर्धीभन्दा कमजोर छैन, विश्वस्त छु- म विजयी हुन्छुः भरत आचार्यसँगको कुराकानी
आजबाट महासंघको अध्यक्ष शेखर गोल्छा, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आजबाट शेखर गोल्छा अध्यक्ष भएका छन् । वरिष्ठ उपाध्यक्षको एक कार्यकाल पुरा भएपछि स्वत अध्यक्ष हुने महासंघको विधान अनुसार उनी अध्यक्ष भएका हुन् । साथै, आजबाट निर्वाचित नयाँ कार्यसमिति आएको छ । वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघइ र बस्तुगत अध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । एशोसिएटतर्फ अम्बिका प्रसाद पौडेल, ज्योत्सना श्रेष्ठ, गोपाल खनालले सबैभन्दा धेरै मत पाएका छन् । विराट थापा र मंगेशलाल श्रेष्ठले बराबर मत पाएका छन् । जिल्ला नगरतर्फ राजन श्रेष्ठ, तारानाथ घिमिरे शोभाकान्त पौडेल लोकप्रिय मत पाएर विजयी भएका छन् । त्यस्तै, बस्तुगत समूहबाट नरेशमान श्रेष्ठ, मिनमान श्रेष्ठ र सुमित केडियाले बढी मत पाएका छन् । कसले कति मत पाए ? [pdf id=248092]
१७ करोड ९० लाख बजेटमा शुरु भयाे उद्योग वाणिज्य महासंघको प्राविधिक शिक्षा तालिम
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलले आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम कार्यक्रम आज देखि शुरु भएको छ । ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’ परियोजना अन्तर्गत पर्यटन, निर्माण र कृषि क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । परियोजना मार्फत व्यवससायिक वर्गिकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । यो कार्यक्रम, पर्यटन क्षेत्र, निर्माण क्षेत्र र कृषि क्षेत्रमा कार्यान्वयन हुने पनि अध्यक्ष राणाले बताए । यो परियोजनाले श्रम बजारको माग र आपूर्तिको व्यवस्थापनमा सघाउ पुर्याउने विश्वास गरिएको छ । यस्तै श्रम बजार सम्बन्धी तथ्याङ्कको विकास गर्ने कार्यमा समेत यो परियोजना कोशेढुंगा हुने उनले बताए । त्यसबाहेक देशमा बेराजगारी दर घटाउन समेत सघाउ पुग्ने विश्वास अध्यक्ष राणाको छ । परियोजनाले मुलुकको औद्योगिक विकासमा सहयोग पुर्याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने प्रत्याभुति दिलाउने छ । यो कार्यक्रम १७ करोड ९० लाख ११ हजार ७ सय ३३ रुपैयाँ बराबरको बजेटमा १४ महिनाका लागि लागू भएको हो । परियोजनाका साझेदार व्यवसायिक संस्थाहरुमा नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ रहेका छन् ।