खाद्य ऐन नमान्नेमा पानी उद्योग पहिलो नम्बरमा

काठमाडाैं । खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा खाद्यसम्बन्धीका एक हजार १८९ नमूना सङ्कलन गरिएकामा ७० नमूना मापदण्डानुसार नभएको पाइएको विगभका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका २१, दानाका १६, तेल तथा घ्यूजन्य नमूना १४, खाद्यान्न १० लगायतका अन्य खाद्य पदार्थका नमूना रहेको उनले बताए । यस्तै खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८७६ नमूना सङ्कलन गरिएको छ । सो अवधिमा न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा २६ उद्योगविरुद्ध मुद्दा चलाइएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी पिउनेपानीका पाँच उद्योग परेका छन् । खानेतेलका तीन, बेकरी तीन, दाना, चाउचाउ, मिठाइका दुई/दुई लगायत घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रङ, बियर, मटरफ्राइजस्ता खाद्य पदार्थ उत्पादन गर्ने उद्योग तथा व्यवसाय रहेका छन् । उक्त मुद्दामध्ये आठ मुद्दा न्यून गुणस्तरका, सात मुद्दा दूषितका, सात मुद्दा लेबललगायतका विवरण नमिलेका तथा बाँकी चार मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लङ्घनसम्बन्धी छन् । पहिलो चौमासिकमा मुलुकभर खाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटललगायत एक हजार ८७३ पटक निरीक्षण अनुगमन भएको छ । उक्त अवसरमा १५३ उजुरी कारवाही गरिएको छ । विभाग तथा मातहतका कार्यालयबाट भएको निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन नगर्ने ३४ उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूना सङ्कलन गरी कारवाही अघि बढाइएको छ । त्यसमा पनि सबैभन्दा बढी प्रशोधित पिउने पानीका उद्योग तथा व्यवसाय नै रहेका छन् । प्राप्त विवरणअनुसार पानीका १५ उद्योग, खाद्यान्न तथा दलहनका आठ, दूध तथा दुग्ध पदार्थका छ, तेल तथा घ्यूजन्यका तीन र अन्य तीन खाद्य व्यावसाय रहेका प्रवक्ता महर्जनले बताए । यसअवधिमा १५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरिएको, ६३० उद्योग अनुज्ञापत्र नवीकरण तथा ६४२ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको विभागले जनाएको छ । आव २०७७/७८ को पहिलो चौमासिक अवधिमा जम्मा नौ हजार ५५ आयात अनुमति जारी गरिएको छ । विभिन्न १२ नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा २५ हजार १५४ वटा नमूना प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको जनाइएको छ । त्यसमध्ये पापड, चामल, बदाम, मसला, मैदा, वेसनलगायतका २५ वटा नमूना प्रतिकूल पाइएपछि आयात रोक्का गरिएको विभागले जानकारी दिएको छ । विभागले उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ । खाद्य पदार्थको विश्लेषण, परीक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयबाट हुँदै आएको जनाइएको छ । काठमाडौँलगायत मुलुकका ४३ कार्यालयबाट उक्त सेवा र अनुगमन हुँदै आएको छ । रासस

सकुन्तलाल हिराचन बने महासंघको कोषाध्यक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको कार्यसमितिको मतदानमा हिराचन निर्वाचित भएका हुन् । उनले ४० मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याए । हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् भने बस्नेत ढकाल पक्षका हुन् । उनले आजै सपथ ग्रहण गरेर कार्यभार सम्हाल्ने छन् ।

महासंघको कोषाध्यक्ष चुन्न मतदान सुरु, बस्नेत र हिराचनमा कसकाे सम्भावना बढी ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न महासंघमा मतदान सुरु भएको छ । सर्वसम्मत हुन नसकेपछि कोषाध्यक्षको आज महासंघ सचिवालयमा मतदान सुरु भएको हो । शेखर गोल्छाको नेतृत्वमा आइतवार आएको महासंघको नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयन प्रस्ताव गरेको थियो । तर, नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरूले सहमतिबाट कोषाध्यक्ष चयन गर्नुपर्ने माग राखेका थिए । सोही अनुरुप आज कोषाध्यक्षका लागि मतदान सुरु भएको हो । कोषध्यक्षका लागि अध्यक्ष शेखर गोल्छा समूहबाट सकुन्तला हिराचन र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहबाट डिबी बस्नेत उम्मेदवार छन् । दुवै पक्षले आफ्नो निकटको व्यक्ति विजय हुने पनि दावी गरिरहेका छन् । कोषाध्यक्षका लागि केन्द्रिय कार्यकारिणी समितिका सबैले मतदान गर्नेछन् । चुनावअघि दुई समूहमा विभाजित भएका महासंघका नेताहरु चुनाव पछि भने सबै एक हुने बताइरहेका छन् । कोषाध्यक्षका लागि उम्मेदवारी दिएका डीबी बस्नेत नेकपा निकट व्यवसायी हुन् भने हिराचन काँग्रेस निकट व्यवसायी हुन् । निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा थिए । निर्वाचन अघि प्यानल भएपनि अब प्यानल नभई काम गर्ने निर्वाचि पदाधिकारी तथा सदस्यहरु बताइरहेका छन् । अहिले त्यस कारण पनि नेकपा निकट व्यवसायीले बस्नेतलाई मतदान गर्ने र हिराचनलाई काँग्रेस निकट व्यवसायीले मतदान गर्ने पनि स्रोतको भनाई छ । महासंको कार्यकारिणी सदस्य तथा पदाधिकारीहरुमा नेकपा निकट सदस्यहरुको संख्या बढी छ काँग्रेस निकट पदाधिकारी तथा सदस्यहरुको संख्या कम छ । बस्नेतले ढकाल समूहबाट महासंघको जिल्लानगरतर्फको कार्यकारिणी सदस्यमा विजयी भएका थिए । उनले ५८ मत ल्याएर विजयी भएका थिए । यस्तै हिराचनले पनि प्रधान प्यालनको वस्तुगततर्फको कार्यकारिणी समतिमा विजयी भएका हुन् । उनले पनि ५५ मत प्राप्त गरेर विजयी भएका थिए ।