ढकाल प्यानलको दुई केन्द्रीय सदस्य राउत र अग्रवाल निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् । यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका उनी हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष समेत छन् । विराटनगर निवासी उनको यो विजयलाई ढकाल समूहले एक महत्वपूर्ण विजयका रुपमा लिएको छ । किनभने मोरङ अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको गृह जिल्ला हो । ढकाल समूहका सदस्य तथा पदाधिकारीहरुले १ नं प्रदेशबाट नै यसरी विजय यात्रा शुरु भएकोले निर्वाचनमा आफूहरुको समूहको विजय सुनिश्चित भएको बताएका छन् । आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो । आज पाँच बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राउत निर्विरोध भएका हुन् । त्यस्तै, उपाध्यक्षका उम्मेदवार ढकाल हालैमात्र निर्वाचन प्रचारका क्रममा १ नं प्रदेशको भेडेटारमा गएका थिए । त्यस क्रममा ५२ जिल्ला नगर अध्यक्ष सहित एक सयभन्दा बढी उद्योगी व्यवसायी त्यहाँ पुगेका थिए । त्यस क्रममा उनीहरुले ढकाललाई समर्थन गर्ने बताएका थिए । यहीं मंसिर ११–१३ मा काठमाडौंमा आयोजना हुने महासंघको ५४औ वार्षिक साधारणसभा तथा निर्वाचनमा वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छः निवर्तमान अध्यक्ष मुरारका
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन् । कर, भ्याट, अन्तशुल्क लगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने र स्पष्ट भनाई राख्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनु पर्ने मुरारकाको भनाई छ । त्यो भुमिका किशोर प्रधानले मात्र निर्वाह गर्न सक्ने भन्दै मुरारकाले जिल्ला नगरबाट नेतृत्व अपरिहार्य रहेको बताए । ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए । ‘म निवर्तमान अध्यक्षका नाताले महासंघ भित्र दोस्रो वरियतामा थिएँ’ मुरारकाले भने, ‘डेढ वर्षसम्म म मिटिङमा गएर मात्रै फर्किए, किनभने मैले कुनै हस्तक्षेप गर्नु थिएन । तर, अपराध नै गरे जसरी वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्न नदिने चलखेल सुरु भयो, त्यसपछि म सक्रिय भएको हुँ’ मुरारकाले आफ्नो अनुभव सुनाए । ‘शेखर गोल्छाले के अपराध गरेका छन् र अध्यक्ष बन्न दिन्न भनेर धम्याक्याइन्छ ?’ मुरारकाले प्रश्न गरे, ‘पहिला वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुनेगरी गोल्छालाई मतदान गर्ने, अनि अहिले अध्यक्ष बन्न दिन्न भनेर धम्क्याउने ?’ शेखर गोल्छाले धम्कीको प्रवाह नगरी किशोर प्रधानको समूहलाई आफ्नो समूह भन्ने गरेको भन्दै मुरारकाले आगामी अध्यक्षले चाहेको समूहलाई नेतृत्वमा ल्याउन आफू लागेको बताए । साना तथा मझौला व्यवसायीका पीडा निकै दर्दनाक हुने भन्दै मुरारकाले त्यस्ता गुनासो सुन्न सक्ने र सरकार समक्ष पुर्याउने क्षमता किशोर प्रधानसँग रहेको बताए । महासंघको इतिहासमा हालसम्म जिल्ला नगरतर्फबाट आनन्दराज मुल्मी र कुशकुमार जोशी मात्रै अध्यक्ष भएको स्मरण गराउँदै उनले किशोर प्रधानले महासंघमा आएर गरेको त्यागलाई सम्मान गर्न पनि यसपटक उनलाई मतदान गरेर विजयी बनाउन मतदातालाई आग्रह गरे । ‘किशोर प्रधान अनुभवी र क्षमता भएको व्यक्ति हुनुहुन्छ, अहिलेको अवस्थामा महासंघमा अनुभवी व्यक्ति चाहिएको छ’ मुरारकाले भने, ‘अगाडी पर्दा तपाई नै हाम्रो मान्छे भन्ने तर पछाडीबाट असहयोगी भुमिका खेल्ने प्रवृत्ति त्यागेर मतदान गर्नुपर्छ । किशोरसँग केही गुनासा छन् भने उनकै अगाडी भन्न सक्नुपर्छ ।’ अहिले उल्लेख्य सहभागीता देखेर निर्वाचन सहजै जित्ने आँकलन गर्न सकिने बताएका उनले अन्तरघात नगर्न सबैलाई आग्रह गरेका छन् । ‘म अनुरोध गर्न चाहान्छु, अहिले तपाईहरुले गर्ने कमजोरी र गल्तीका कारण आगामी ३ वर्ष पछुताउनु नपरोस्’ मुरारकाले भने ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान र ढकाल दुबै जना महासंघमा अट्नुपर्छ- अध्यक्ष भवानी राणा
काठमाडाैं । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार किशाेर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएकी छिन् । दुवै व्यक्ति महासंघका लागि आवश्यक भएकोले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताएकी छिन् । अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अटनुपर्छ भन्ने लागेर नै आफुले मिलाउने प्रयास गरिराखेको स्पष्ट पारिन् । आफुले एकपटक फेरी दुवै उम्मेदवारलाई एकठाउँमा राखेर कुरा गर्ने समेत बताइन् । ‘अध्यक्षको रुपमा मैले दुवै जनालाई एउटा शशक्त उम्मेदवारको रुपमा देख्छु । दुई जना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ । अब निर्वाचनको समय पनि आयो । तिहार सिदिएको अवस्था छ । छठपछि एकचोटी दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्छ ।’, उनले भनिन् । महासंघको हितको लागि भएपनि दुवैजनाले त्याग गर्न सक्नुपर्ने उनले बताइन् । कोभिडको परिस्थितिमा महासंघका कामहरुलाई प्रभावकारी बनाउन पनि दुवै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुवै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाले बताइन् । ‘दुवै जनालाई एक पछि अर्को गरेर मिल्नको लागि आउनुस् भनेर आव्हान पनि गरेको छु । त्यसैले गर्दा दुवै पक्षले महासंघको हितको लागि त्याग गर्न सक्नुपर्यो । त्यसकारणले एक जनालाई पनि नगुमाउन चाहन्छौं एकपछि अर्को गरेर गर्नको लागि मेरो फेरी एकचोटी अन्तिम प्रयास रहनेछ ।’, उनले थपिन् । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । निर्वाचनका लागि किसोर प्रधान र चन्द्रप्रसाद ढकालले आ-आफ्नो प्यानल सहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो । पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।