भरतपुर महानगरद्धारा निबर्तमान अध्यक्ष सहनलाल प्रधान सम्मानित

भरतपुर । भरतुर महानगरपालिकाले उद्योग वाणिज्य संघ-चितवनका निबर्तमान अध्यक्ष सहनलाल प्रधानलाई सम्मान गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा हालै सम्पन्न ५४औं वार्षिक साधारण सभा एवम् अधिवेशनबाट केन्द्रिय कार्यकारिणि समिति सदस्यमा निर्वाचित भएकोमा उद्योग वाणिज्य संघ-चितवनका निबर्तमान अध्यक्ष सहनलाल प्रधानलाई सम्मान गरेको हाे । बुधवार महानगरपालिका कार्यालयमा महानगर प्रमुख रेनु दाहालले प्रधानलाई सम्मान गरेका हुन् । सम्मान गर्दै प्रमुख दाहालले विकासको स्थानिय तह देखी प्रान्तीय एवम् केन्द्रिय तह सम्म मात्र नभई देशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको ठुलो भूमिका रहने बताउँदै उनको विजयी यात्राले महानगरको समृद्धिमा समेत योगदान रहने अपेक्षा व्यक्त गरे । कार्यक्रममा उनले चितवन जिल्लाको प्रतिनिधित्व गर्दै महासंघमा निर्वाचित हुन सफल भएकाेमा उनको जीतले सिंगो महानगरले गौरवको अनुभुति गरेको बताउँदै उनी लगायत संघका अध्यक्ष राजु श्रेष्ठ, उद्योग वाणिज्य संघ-चितवन परिवार एवम् महासंघको सिंगो निर्वाचित परिवारलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । सोहि अवसरमा बोल्दै नेउवामहासंघका कार्यकारिणि समिति सदस्य सहनलाल प्रधानले महानगरले गरेको सम्मानले आफुलाई थप उत्तरदायी बनाएको बताउँदै महानगरप्रमुख रेनु दाहाल एवम् महानगरप्रति हार्दिक आभार ब्यक्त गरे । उनले सार्वजनिक नीजि साझेदारी अवधारणा बमोजीम सार्वजनिक र निजी क्षेत्रको सहकार्यका लागि आफुले पहल गर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष राजु श्रेष्ठले भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ-चितवन विचको घनिष्टताका साथै सहकार्यका कारण महानगर एवम् संघ अन्तराष्ट्रिय स्तरसम्म पुरस्कृत भएको स्मरण गर्दै नीजि क्षेत्र र महानगरको सहकार्यमा विभिन्न परियोजना सञ्चालन गर्न लागिएको बताउंदै महानगरप्रति हार्दिक आभार व्यक्त गरे । नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको मंसीर ११ देखी १३ सम्म काठमांडौमा सम्पन्न साधारण सभाबाट सहनलाल प्रधानले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै निर्वाचित भएका संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए ।

कात्तिकसम्ममा चार हजार २४८ उद्योग दर्ता, १८ हजार १२० जनालाई रोजगारी दिइने

वागमती । चालू आर्थिक वर्षको विगत चार महिनामा ४४७ नयाँ उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौंडामा दर्ता भएका छन् । साथै सो अवधिमा लामो समयदेखि कारोवार नगर्ने र नवीकरणसमेत नगराउने ७४ ओद्यौगिक तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालय प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । वाणिज्यका ४५ र उद्योग तर्फका २९ प्रतिष्ठान खारेज भएको बताइएको छ । विगत चार महिनामा सो कार्यालयले उद्योग दर्ता र नवीकरणवापत एक करोड ४९ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । सो अवधिमा ४११ उद्योगको नवीकरण र २५ उद्योगको नामसारी तथा १२ उद्योगको ठाउँसारी भएको स्वीकृति प्रदान गरिएको दाहालले बताए । त्यस्तैगरी वाग्मती प्रदेशको उद्योग पर्यटन तथा वन मन्त्रालयमा चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म चार हजार २४८ उद्योग दर्ता भएको छ । साउनदेखि कात्तिकसम्म उक्त मन्त्रालयमा एक हजार ५६८ वाणिज्य र २६३ वटा पर्यटन व्यवसाय दर्ता भएको बताइएको छ । चालू आर्थिक वर्षको चार महिनामा दर्ता भएका उद्योगबाट १८ हजार १२० जनालाई रोजगारीको सिर्जना हुने बताइएको छ । त्यसैगरी सो अवधिमा मन्त्रालयले विभिन्न शीर्षकमा प्राप्त आन्दानी ११ करोड दुई लाख रुपैयाँ प्रदेश सरकारको सञ्चित कोषमा राजश्वसमेत जम्मा गरेको छ । यसैगरी, कोभिड-१९ को समयमा प्रदेश सरकारले २४ लाख ७७ हजार रूपैयाँ उद्योग पर्यटन व्यवसायलाई छुट दिएको मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । त्यस्तै चालू आर्थिक वर्षको उक्त अवधिमा १४९ पटक गरेर कूल ९४७ व्यवसायी प्रतिष्ठानको अनुगमनसमेत गरिएको छ । त्यस्तै १६३ उद्योगमा अनुगमन भएको तथा ५९ फर्मलाई कारवाही गरिएको उनले बताए । यसै सम्बन्धमा हेटौंडा ओद्यौगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले कोरोनाका कारण साना तथा ठूला उद्योगको अवस्था नाजूक रहेको बताए । हेटौंडा ओद्यौगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये अधिकांश पूर्ण क्षमतामा सञ्चालन अवस्थामा नरहेको उनको भनाइ छ । हेटौंडाका काष्ठ उद्योगी रामपुकार ठाकुरले उत्पादन एवं निर्माण गरिएको सामानको बजारमा बिक्री वितरण कम रहेको गुनासो गरे । रासस

निर्माणको सिजनमै कसरी घाटामा रहे सिमेन्ट उद्योग ?: धुब्र थापाको विचार

विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसले सिमेन्ट उद्योगलाई पनि असर गरेको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा २ महिनासम्म सिमिेन्ट उद्योगहरु बन् अवस्थामा नै रहे । अहिले पनि मुलुकमा कोरोनाको महामारी बढ्दै छ । अघिल्ला वर्षहरुमा यो समयमा धेरै भौतिक संरचनाहरु निर्माण हुँदा सिमेन्टको माग पनि राम्रै हुन्थ्यो । तर अहिले निर्माणको काम ठप्प हुँदा सिमेन्टको माग पनि ह्वात्तै घटेको छ । सिमेन्ट दुई महिनाभन्दा बढी समय स्टोर गर्न नमिल्ने हुँदा पनि मूल्य घटेको हो । निर्माणको सिजन सुरु भएपनि विकास निर्माणका काम नहुँदा बजारमा सिमेन्टको माग छैन अहिले सिमेन्टको बजार २५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । ठूला परियोजना मात्र होइन कि नयाँ घर बनाउने काम पनि भएको छैन । बजारमा सिमेन्टको माग नभएपछि मूल्य पनि बढिसकेको छैन । सिमेन्ट उद्योगीहरुले परल मूल्यभन्दा ५/१० रुपैयाँ कममै बेच्नु परिरहेको छ । अहिले सिमेन्टको मूल्य प्रतिबोरा ५५० देखि ६५० को हाराहारीमा बिक्री भइरहेको छ । अहिले नेपालमा सिमेन्टको वार्षिक कुल मागभन्दा उद्योगको उत्पादन क्षमता धेरै रहेको छ । बार्षिक एक करोड टन रहेको छ जबकी नेपाली सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता बार्षिक डेढ करोड टन पुगिसकेको छ । माग घटेपछि आपुर्ति पनि घट्छ नै । हामीसँग सिमेन्टको उत्पादन क्षमता धेरै छ । अहिले कोरोनाको काणले उत्पादन र माग पनि कम भएको छ । माग घटेको कारणले सिमेन्ट उद्योगहरुलाई ठूलो असर परेको छ । अघिल्लो वर्ष हामीले १० मिलियन टन सिमेन्ट उत्पादन गरेका थियौं । गत वर्ष ९ मिलियन टन उत्पादन गरेका थियौं । यस वर्ष ७÷८ मिलियन टन मात्र उत्पादन हुन्छ कि भन्ने हाम्रो अनुमान छ । बजारमा प्रतिष्पर्धा धेरै भएको कारणले पनि मूल्य घटेको छ । सिमेन्ट उत्पादन गर्ने उद्योगहरु पनि धेरै छन् । अहिले सबै फ्याक्ट्रीहरुले आफ्नो परल मूल्यभन्दा पनि कममा सिमेन्ट बिक्री गरिरहेका छन् । पहिले अभाव हुने क्लिकंर पनि अहिले प्रयाप्त छ । नेपाली सिमेन्ट उद्योगहरु सँग दैनिक ५० हजार टन उत्पादन गर्ने उत्पादन गर्ने क्षमता छ । तर, अहिले त्यसको आधा पनि माग छैन । नेपाल गुणस्तरको चिन्ह नपाउँदासम्म सिमेन्ट बिक्री गर्न पाइँदैन । नेपाल गुणस्तरको छाप लगाउनु नै त्यसको गुणस्तर भएको प्रमाण हो । गुणस्तर भएको सिमेन्ट सबैले राम्रो नै भन्नुपर्छ । आफुलाई चाहिने आवश्यकता र गुणस्तर अनुसार नै मानिसले प्रयोग गर्छन् । लकडाउन सुरु हुँदा अर्थात चैतमा हामीले कामदारलाई आधा तलब दियौं । त्यसपछि महिनामा पूरै तलब दियौं । सिमेन्ट क्षेत्रमा अहिले अलि बाहेक कामदार वेरोजगार भएका छैनन् । सिमेन्ट उद्योगहरुको शान्ती सुरक्षा, करमा सहज गर्यो भने केही समस्याहरु समाधान पनि हुन्छन् । सिमेन्ट निर्यात गर्न सकिने अवस्था हाम्रो सिमेन्ट विदेशमा निर्यात गर्न पनि सकिन्थ्यो । तर, हाम्रो सिमेन्ट महँगो छ । ट्याक्सदेखि हरेक कूरा महँगो छ । ढुवानी भाडा धेरै छ । हाम्रो लागत बढी नै छ । लागत बढी भएकोे हुनाले हाम्रो प्रतिष्पर्धा विदेशी उद्योगहरुसँग प्रतिष्पर्धी हुने अवस्था छैन । त्यस कारणले पनि विदेशमा सिमेन्ट निर्यात गर्न गाह्रो छ । यो व्यावसायीले मात्रै सोचेर हुने कुरा होइन त्यसको लागि सरकारनै गर्नुपर्छ । निर्यात गर्ने भनेपछि भन्सारको कुरा हुन्छ त्यसका लागि सरकारले निर्यात नीति बनाउनु पर्छ । आफ्नै क्लिंकर आफै उत्पादन गरेर अझै ठूलो मात्रामा सिमेन्ट उत्पादन गर्न सक्छौ । यसका लागि नीतिगत र व्यवाहरिक कठीनाई पनि छन् ।  हामीसँग विदेश निर्यात गर्नको लागि मूल्य, भाडा र करको कुरा मुख्य चुनौति हुन् । यो तीन कुरा सहज भयो भने नेपलबाट सिमेन्ट निर्यात गर्न सकिन्छ । (सिमेन्ट उत्पादक संघका अध्यक्ष थापासँग गरिएकाे कुराकनीमा आधारित)