भेरी बबई आयोजना: तेस्रो चरणको काम सुरु
कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)सम्बन्धी कार्य सुरुआत गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको जनाएको छ । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँध र विद्युत्गृहका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका खरिद व्यवस्थापन समयमै हुने बताइन् । उनका अनुसार दोस्रो चरणअन्तर्गत हाल सिभिलतर्फका काम भइरहेका छन् । तेस्रो चरणमा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्य पर्दछन् । सिभिल संरचनाअन्तर्गत हेडबक्स, पावर हाउस (विद्युत्गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टलगायतकाकार्यहरु पर्दछन् । ‘बाँधस्थलमा पम्पिङ विधिबाट जम्मा भएको पानी बाहिर निकाल्ने काम भइरहेको छ’, उनले भने, ‘पानी डाइर्भट गरेर मुख्य बाँधस्थलमा ढलान गरिँदैछ, बबई हात्तीखालमा पनि पावर हाउसको जग खन्ने काम सुरु भइसकेको छ ।’ आयोजनाको कूल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १४ अर्ब सात करोड ५९ लाखर कम खर्च भइसकेको छ । आयोजनाले कात्तिक महिनासम्म वित्तीय प्रगति ३८.२४ तथा भौतिक प्रगति ४९ प्रतिशत हासिल भएको जनाएको छ । सरकारले आयोजनाका लागि चालु आवमा पुँजीगततर्फ विनियोजन गरेको बजेट तीन खर्ब चार करोड छ लाखमध्ये १० करोड ९१ लाख ७० हजार मात्र खर्च भएको छ । आयोजनाका सूचना अधिकारी सुवेदीले आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवाद पनि टुङ्गिएको बताए । केही दिनअघिको बसेको मन्त्रिपरिषद् बैठकले अन्य आयोजनाका नजिरलाई आधार बनाई २२.८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए । यसअघि रैकर जग्गाको हकमा मात्र मुआब्जा पाउने निर्णयपछि आयोजनास्थलका बासिन्दा आन्दोलित थिए । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न छ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको हो । उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरी गङ्गा नगरपालिका–११ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ । जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । सङ्घीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । यस आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ । आयोजनाले पहिलो चरणअन्तर्गत सुरुङ निर्माण कार्य पूरा गरिसकेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले निर्माण गरेको उक्त सुरुङको फिनिसिङ कार्यपश्चात् आयोजनालाई हस्तान्तरण गरिएको थियो । दोस्रो चरणका मुख्य काम बाँध र विद्युत्गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै कार्य आव २०७९/८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ । त्यस्तै बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई करिब ८०० मिटर जति डाइभर्सन गरिएको छ । बाँधका कारण सडक डुबानमा पर्न सक्ने हुँदा सडक डाइर्भसन गरिएको हो । रासस
२० करोड लगानीमा भक्तपुरमा व्यापारिक केन्द्र बन्दै, १०० जनाले राेजगारी पाउने
सांकेतिक तस्विर भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा वर्षौ अगाडि जर्मन शैलीमा बनेको एउटा सुन्दर घर, जस्ताको त्यस्तै उभिएको छ । घर वरिपरिमा ठूला रुख र खाली जमिनलाई सम्याएर धमाधम नयाँ संरचना निर्माण भइरहेका छन् । भक्तपुर जिल्लामै फरक शैलीमा निर्माण गरिएको ‘जर्मन होम हस्पिटालिटी’ ले आफ्नो स्वरुपमा पूर्णता पाउन अझै एक महिना लाग्ला तर जर्मन होमको पुरानो आकर्षक संरचना र हस्पिटालिटीको दोस्रो तलासम्मको आकर्षक शैलीमा भने हतार गर्दै रातारात आज निर्माण सम्पन्न गरिएको छ । नेकपा (एमाले)को २५ र २६ गते ३०१ सदस्यीय केन्द्रीय समितिको दोस्रो बैठक यहीँ बस्ने भएपछि यो घर भक्तपुरमा एकाएक चर्चामा आएको छ । बैठकस्थल रातारात आकर्षक र सुन्दर शैलीमा निर्माण गरिएको छ । बैठकस्थलको तयारी र अवस्थाका बारेमा एमाले केन्द्रीय सदस्य एवं सांसदद्वय महेश बस्नेत, राजीव पहारी, एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजा र नेता किरण थापालगायतले आज अनुगमन गरेका छन् । अनुगमन पछि प्रतिक्रिया दिँदै सांसद बस्नेतले भोलिदेखि भक्तपुरमा सुरु हुने एमालेको केन्द्रीय बैठकस्थलको तयारी पूरा भएको बताए । उनले भने, ‘राजधानीनै भए पनि भक्तपुर सधैँ ओझेलमा पर्दै आएको थियो, तर पछिल्लो चार वर्षमा भक्तपुरको विकासले फड्को मारेपछि देशका ठूलो कार्यक्रम पनि भक्तपुरमा हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएर व्यापारिक क्षेत्रमा लगानी बढाइरहेका छन्, भक्तपुर अब पर्यटकीय मात्रै नभई व्यापारिक हवको रुपमा पनि पहिचान बनाउन थालेको छ ।’ त्यसो त हाल ललितपुर निवासी सोमेन्द्र श्रेष्ठको जर्मन शैलीको यो घरलाई यहाँका बासिन्दाले जर्मन घरको नामले चिन्दै आएका थिए । स्थानीय बासिन्दा एवं एमाले भक्तपुरका अध्यक्ष देउजाले भने, ‘मेरै घर अगाडि रहेको यो घरलाई सबैले जर्मन घर भन्ने गर्थे, जर्मन शैलीको घर, फराकिलो हरिया रुखको कम्पाउण्ड, निकै राम्रो थियो, जर्मनमा व्यवसाय सञ्चालन गर्दै आएका र धेरै समय जर्मनमै बस्ने व्यवसायीको यो घरलाई अहिले यहाँका युवा व्यवसायीले भाडामा लिएर नयाँ संरचना थप्दै जर्मन होम बनाएपछि यहाँको विकासमा चमक थपिएको छ ।’ जर्मन होम हस्पिटालिटीका सञ्चालक रामशरण तिमिल्सिनाले २० वर्षभन्दा बढी समयका लागि जर्मन होम भाडामा लिएर काठमाडौंं बिर्साउने गरी व्यावसायिक केन्द्र निर्माण सुरु गरेको बताए । उनले भने, ‘जर्मन हाउस आफैँमा पनि आकर्षक छ, त्यसमाथि पनि भक्तपुरमा एउटा व्यापारिक हवको कमी भइरहेको अबस्थामा त्यसलाई पूरा गर्ने हामीले जमर्को गरेका छौँ, हाम्रो चाहनालाई यो ठाउँले पुरा गरेको छ, यहाँ अब काठमाडौंका ठूला मल भन्दा फराकिलो र ठूला व्यावसायिक एवं व्यापारिक केन्द्रको रुपमा विकास गर्दैछौ ।’ यहाँका हलमा कुमारी, टल्किएका सेता हिमाल, भक्तपुरलगायत उपत्यकाका विभिन्न सम्पदाको सुन्दर पेन्टिङ र ढलौटका चम्किला मूर्तिले आकर्षक बनाएको छ भने बाहिरी सुन्दरतालाई पनि उत्तिकै आकर्षक बनाइएको छ । यहाँ दुई हजार जना अटाउने क्षमताको दुई वटा कार्यक्रम स्थल निर्माण गरेको छ । झण्डै २० करोडभन्दा बढीको लागतमा १०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने गरी जर्मन होम हस्पिटालिटीसँगै सम्पूर्ण व्यापारिक केन्द्रका रुपमा आगामी नयाँ वर्षबाट पूर्णरुपमा सञ्चालनमा आउने गरी भौतिक संरचना निर्माण भइरहेका छन् । ‘हामीले आकर्षक व्यापारिक केन्द्र र मल खोज्दै काठमाडौँ धाउनुपथ्र्यो, अब पर्दैन, पूजाका सम्पूर्ण सामग्रीदेखि बैंक, वित्तीय संस्था, सपिङ सेन्टर, एमआरआइ डाइग्नोस्टिक सेन्टरलगायतका स्वास्थ्य सेवा, विभिन्न कम्पनीका गाडीका शो रुम, लत्ताकपडा, फर्निचर, दैनिक उपभोग्य सामग्रीसहितको सपिङ मल, रेष्टुराँ, नाइट क्लबसम्म सञ्चालन गर्ने गरी तयारी गरेका छौँ’, सञ्चालक तिमिल्सिनाले भने, ‘भक्तपुरमा उपत्यकाकै फरक प्रकृतिको व्यापारिक कम्प्लेक्सका रुपमा यसको विकास गर्दैछौँ, यो सुरु भए पछि कुनै पनि सामानका लागि सपिङ मल खोज्दै अब काठमाडौं जानुपर्दैन ।’ शान्त वातावरण, पारिवारिक एवं मनोरमस्थल, हाइजेनिक खाना, आकर्षक शैलीको भवन, विदेशी पर्यटकलाई समेत आकर्षित गर्दै नगरकोट धुलिखेल जानुअघि वा फर्कदा यहाँ बसेर ब्रेकफास्ट, लन्च लिने सकिने, यहाँ एकछिन रमाउन सकिने गरि व्यवस्थापन गरेको भन्दै उनले भक्तपुरका लागि यो एउटा उदाहरणीय व्यापारिक केन्द्र बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘कोरोना महामारीको जोखिम त छँदैछ, तर त्यसलाई सम्झेर सबै रोक्न र रोकिनु पनि हुँदैन, महामारीले अवसर पनि ल्याएको छ भन्ने हामीले सम्झिएका छाैँ, त्यसैले ठूलो लगानीमा जोखिम मोलेका हौँ ।’ आफूले रोजेको खानको परिकार, रोजेको सामान किन्न, केहीबेर पारिवारिक मनोरञ्जन गर्न यहाँका बासिन्दा लामो सडक जाम छिचोल्दै काठमाडौँ जाने गरेकाले अब त्यसको अन्त्य गर्न भक्तपुरमा व्यापारिक केन्द्र सुरु गरेको उनको भनाइ छ । काठमाडौंबाट आउँदा सल्लाघारीसम्म पुग्दा राम्रो र आकर्षक हस्पिटालिटी नरहेकाले यसतर्फ पनि लगानी गरेको बताउँदै उनले २० वर्ष पछाडिका युवापुस्ताको भावनासमेत बुझेर व्यापारिक केन्द्र निर्माण गरेको बताए । अरनिको राजमार्गसँगै जोडिएको यसस्थलमा जो कोही रमाउन सक्ने, वातावरणमैत्री, फोटो लिन सक्ने, प्रशस्त पार्किङ त छदैँछ, हस्पिटालिटीमा नेवारी परम्परागत रुपमा भोज खाने गरी जर्मन होमको माथिल्लो तलालाई ‘बुइगल नेवारी भ्वयः छेँ’ समेत बनाइएको छ । नेवारी सुकुल भोजको परम्परा लोप हुदैँ गएको अबस्थामा यसको संरक्षण गर्न सम्पूर्ण नेवारी परिकार पाउने गरी नेवारी भ्वयः छेँ तयार गरिएको सञ्चालक तिमिल्सिनाको भनाइ छ । सरकारले व्यवसाय गर्नसक्ने वातावरण बनाइदिए अहिलेका युवा पुस्ताले जमिन भाडामै लिएर भएपनि राम्रो व्यवसाय सञ्चालन गर्न सक्छन् भन्ने सन्देश पनि यसले दिएको छ । यसमा यहाँका युवा व्यवसायी तिमिल्सिनासँगै थानेश्वर बस्याल, प्रविण श्रेष्ठलगायत पाँच जनाले संयुक्त लगानी गरेका छन् । रासस
उद्योगलाई सस्तोमा बिजुली दिन महासंघको माग, ढकाल भन्छन्ः परम्परागत नीतिलाई परिमार्जन गरौं
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन् । महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एशोसिएशनअफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्दै जाँदा आमजनतालाई लाभपुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष पनि हासिल हुने बताए । ‘यो अटोमोबाइल सेक्टरको मात्र होइन, समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीतिनियमहरु परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ,’यसका लागि राज्यले अग्रसरता लिनुपर्छ,’ उनले भने । वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ बिशेष पहलगर्नुपर्ने बताए । ‘अहिले मुलुकभित्र दुईपाँग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन्, यसको विस्तार सँगै चार पाँग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने हुन्छ,’ उनले भने । यस्तै, उनले बिजलुी भारतमा निर्यात शुरु भएको बताउँदै उनले औद्योगिक क्षेत्रलाई सस्तोमा विजुलीउपलब्ध गराउन सके उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए । उनले सार्वजनिक सवारीलाई चुस्त बनाउने तर्फ सरकार र स्थानीयनिकायको ध्यानाकर्षण पनि गराए । सवारी साधन विलासिताको वस्तु मात्र नरहेको बताउँदै उनले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चको लागि महत्वपूर्ण भएको बताए ।