अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुस २ देखि आयोजना हुने

चितवन । उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा यहाँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौँ संस्करण हो । सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहने छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण शिथिल बनेको उद्योग व्यवसायको प्रवद्र्वन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले बताए । प्रदर्शनी सम्पन्न गर्न दुई करोड ५० लाख हाराहारी खर्च हुने भन्दै संस्थागत रुपमा बचत रकम भने न्यून रहने उनको भनाइ थियो । उनले भने, ‘प्रदर्शनी नाफाको लागि भन्दा पनि देशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेका हौँ ।’ यसबाट चितवन उद्योग सङ्घलाई भन्दा पनि यहाँका अन्य आर्थिक क्षेत्रलाई मद्दत पुग्ने उनको भनाइ छ । यसपटकको प्रदर्शनीबाट पाँच देखि सात लाखसम्म मात्र बचत हुने अनुमान गरिएको छ । प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादक, आधुनिक औद्योगिक प्रविधिबारे जानकारी राख्न इच्छुक उद्योग तथा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले अवलोकन गर्ने बताइएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण चीन, मलेसियाजस्ता देशबाट आउने प्रदर्शकहरु यसपटक आउन नसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सङ्घका उपाध्यक्ष एवं प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन र विश्व बजारका नवीनतम् प्रविधिको अनुशरणमार्फत औद्योगिक उत्पादकत्व वृद्धिसहित दिगो उद्यमशीलताका लागि उपयुक्त माध्यम बन्ने बताए । यसले स्वदेशी तथा विदेशी उद्योगी, व्यवसायीबीच भेटघाट तथा छलफल गर्नमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । भारतको च्याम्बर अफ कर्मसका प्रतिनिधिहरु समेत प्रदर्शनीमा सहभागी हुने कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा सङ्घका गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहठ्ठाले प्रदर्शनीको महत्वका बारेमा जानकारी गराए ।

काेरियाले पोलिटेक्निक इन्स्टिच्युट बनाउन १ अर्ब तीन कराेड सहयाेग गर्ने

सांकेतिक तस्विर काठमाडाैं । नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच नेपालमा निर्माण क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासनी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकले सो सझदारीपत्रमा हस्ताक्षर गरे । प्रदेश नं २ को महोत्तरीमा पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत कोरिया सरकारले ८.६ मिलियन अमेरिकी डलर (करिब एक अर्ब तीन करोड नेपाली रुपैयाँ) अनुदान दिनेछ । उक्त परियोजनापश्चात नेपाल र विश्वबजारमा माग हुने निर्माण क्षेत्रका दक्ष जनशक्तिको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग मिल्नेछ । बढ्दो बेरोजगारी समस्या मुलुकको चुनौतीका रुपमा देखा परेको वर्तमान परिस्थितिमा पोलिटेक्निक इन्स्टिच्युटको स्थापनाले सीपयुक्त जनशक्तिको आवश्यकता परिपूर्ति हुने अर्थ मन्त्रालयले जनाएको छ । हस्ताक्षर समारोहमा अर्थ सचिव मरासनीले मुलुकमा व्याप्त दक्षजनशक्ति अभावको समस्यालाई न्यूनीकरण गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे । सीपयुक्त जनशक्तिको उत्पादनबाट स्वरोजगारको वातावरण बन्ने छ । त्यस्तै वैदेशिक रोजगारीमा जानेले आकर्षक सेवा सुविधा पाउने र मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । प्रदेश नं २ बाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अधिक रहेको अवस्थामा सो प्रदेशमा पोलिटेक्निक इन्स्टिच्युट स्थापनाले सीप सिकेर विदेश जान सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे । समारोहमा नेपालका लागि कोरियाका राजदूत पार्कले नेपालको विकासमा कोरिया सरकारले विभिन्न सहयोग गर्दै आएको बताएका थिए ।

गोंगबुमा खुल्यो होटल ह्वाइट हाउस, घरमा झैं खाना बनाएर खान पनि सकिने

काठमाडौं । गोंगबुमा होटल ह्वाइट हाउसको नयाँ शाखा खुलेको छ । सौराहा, चितवन र नगरकोटपछि होटल ह्वाइट हाउसको शाखा गोंगबु बिजी मलको अपोजिटमा खुलेको हो । बुधबार पूर्व मिस नेपाल उषा खड्गी तथा कलाकार निर्मल शर्माले संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन गरेका छन् । खड्गी र शर्मा होटलको ब्राण्ड एम्बेसडर हुन् । २४ घण्टानै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानि, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको व्यवस्था गरिनुको साथै होटलमा रेस्टुरेन्टको व्यवस्था गरिएको संचालकले जनाएको छ । बुद्ध शाहीले सञ्चालनमा ल्याएको होटलमा जम्मा १२ वटा रुम रहेका छन् । प्रत्येक रुममा फरक फरक इन्टिरियर डिजाइन गरिएको छ । होटलका केही रुममा अपार्टमेन्ट सिस्टममा तयार गरिएको छ जसमा बस्ने गेस्टले आफ्नै घरमा झैँ खाना बनाएर खान सक्नेछन् । ‘टिपिकल्ली नेपाली खाना र शान्त वातावरणमा गेष्टलाई खुसी पार्न होटलले विभिन्न सुविधा समेत राखेको छ,’ सञ्चालक शाहीले भने, ‘स्वास्थ्यलाई मध्यनजर राखेर हामीले मार्बलको ठाउँमा समेत नेपाली काठ प्रयोग गरेका छौ ।’ भिआइपी, एनआरएन र विदेशी पर्यटकको लागि विशेष लक्ष्य गरिएको होटलमा एक बार, एक लवी र एक स्वीट लबी पनि रहेको छ ।