७९ लाख कित्ता आइपीओ ल्याउँदै घोराही सिमेन्ट, बिक्री प्रबन्धकमा हिमालयन र नबिल नियुक्त

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो । कम्पनीले उक्त सेयरकाे निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गसँग सम्झौता गरेको छ । सम्झौता समारोहमा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्रिको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । वि.सं २०६४ सालमा दर्ता भई २०६९ सालदेखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । बिशाल समूहबाट संयुक्त रुपमा प्रवर्धित घोराही सिमेन्ट इन्डस्ट्रि क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योगमा पर्दछ । हाल कम्पनीले सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

लम्बियो आयात प्रतिबन्ध, मोटरसाइकलमा झन कडाई

काठमाडौं । सरकारले विभिन्न दश वस्तुको आयातमा पुनः प्रतिबन्ध लगाएको छ । यसअघि असार मसान्तसम्म विभिन्न १० वस्तुको आयातमा रोक लगाएको सरकारले आयात प्रतिबन्धलाई लम्बाएको हो । आईतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशन गर्दै आगामी भदौ १४ गतेसम्म विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिएसँगै अब कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), दुई पाँग्रे तथा चार पाँग्रे सवारी साधन, सबै प्रकारका खेलौना र तास आयात गर्न पाइनेछैन् । यसअघि ६०० अमेरिकी डलरभन्दा बढीका मोबाइल फोन आयातमा रोक लगाईएकोमा उक्त प्रतिबन्धलाई कडा बनाउँदै ३०० अमेरिकी डलरभन्दा माथिका महँगा फोन आयातमा रोक लगाएको हो । यसअघि २५० सीसी क्षमताका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाईएकोमा अब १५० सीसी माथिका साधन ल्याउन रोक लगाईएको छ । सरकारले उक्त वस्तु साउन १ गतेभन्दा अगाडी नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सुरु भएको अवस्थामा साधन ल्याउन कुनै रोक नभएको जनाएको छ ।

मोरङको पेट्रोल खानी गौचरणमा परिणत, सरकारलाई छैन वास्ता

काठमाडाैं । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहेपनि यकिन गर्न नसक्दा खानीहरु बेवारिसे बनेका छन् पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ । तर कुनैपनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन् । सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ । मोरङको बेलबारी नगरपालीका वडा नम्बर ८ बाहुनीमा रहेको खानीको अवस्था पनि त्यस्तै छ । सरकारले चासो नदिँदा पेट्रोल खानी जिर्ण बन्दै गएको छ । अन्वेषण गर्न बनेका भवन भग्नावशेष भइसकेको छ भने अन्वेषण गर्न ल्याएको कच्चा पदार्थहरु नष्ट भएका छन् । सरकारले बेलाबेला आएर हेर्ने बाहेक अन्य काम गर्न नसकेको बताउँछन् स्थानीय कुलबहादर भण्डारी । उनले सरकारले पूर्ण चासो दिएर काम गर्ने हो भने पेट्रोलका लागि अहिलेको अवस्थाको सामना गर्नु नपर्ने बताए । वि.सं. २०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरेपनि सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेको गुनासो गर्छन् स्थानीय यामप्रसाद तिम्सिना । उक्त कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको बताए । ३४/३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको उनको भनाइ छ । उक्त स्थानको खानी सञ्चालनमा नल्याउन भारतको दबाब दिएको गुनासो रहेको बताए । उनले नेपालको उक्त खानी सञ्चालन गरे भारतको खानी सुक्ने भएकोले भारतले नदिएको गुनासो आउनेगरेको बताए । २०४५ सालमा चाइना कम्पनिले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका पाले कपिलमणी रेग्मीले बताए । अहिले खानी आसपासको क्षेत्र गौचरणमा सिमित भएको उनको भनाइ छ । सरकारको बेवास्थाका कारण हाल उक्त स्थान जंगलमा परिणत तएको छ । सरकारको मुख्य समस्या पेट्रोलियम पदार्थको खानी स्वदेशमा नै रहेपनि आफूसंग भएका खानी सञ्चालन गर्न सकेको छैन । बेलबारी ८ बाहुनीमा रहेको व्यक्तिको ४.९६९ वर्गमिटर जमिन खानी तथा भूगर्भ विभागले किनेको छ । अहिले खानी सञ्चालनका लागि विदेशबाट मगाइएका सामानहरु बेवारिसे भइ खेर गएको स्थानीहरुको भनाइ छ ।