हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु

मकवानपुर । करिब डेढ महिनाअघिदेखि बन्द रहेको हेटौँंडा सिमेन्ट उद्योगमा बिहीबारदेखि पुनः उत्पादन सुरु भएको छ । करिब छ हप्ताअघि उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएर समस्या आउँदा क्लिङ्कर उत्पादन गर्ने कार्य बन्द गर्नुपरेको उद्योगको व्यवस्थापनले जनाएको छ । उद्योग व्यवस्थापनले बाहिरबाट विभिन्न उपकरण ल्याएर जडान र मर्मतसम्भार गरी बिहीबार बिहानदेखि सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने क्लिङ्कर उत्पादन पुनः सुरु गरिएको हेटौँडा सिमेन्टका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । कर्णले करिब ४ दशकअघिदेखि सञ्चालनमा रहेको उद्योगमा पटक-पटक प्राविधिक समस्या आएकाले उत्पादन बन्द गर्नुपर्ने बाध्यताले अब सिमेन्ट उत्पादन सञ्चालन गर्न कठिनाइ भोग्नुपर्ने भएको बताए । उनले अब उद्योगलाई नयाँ प्रविधिबाट दीर्घकालीनरूपमा क्षमताअनुसार उत्पादन वृद्धि गर्न उद्योग व्यवस्थापनले प्रधानमन्त्री र उद्योग वाण्ज्यिमन्त्रीलाई ध्यानाकर्षण गराई सरकारको तर्फबाट आर्थिक रकम उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए । अहिले उद्योगमा पर्याप्त चुनढुङ्गा र कोइला आपूर्ति भइरहेको उद्योगको उनले बताए । उनका अनुसार सिमेन्ट उद्योगको उत्पादन बन्द रहेको भए पनि भण्डारणमा रहेको सिमेन्टको प्याकिङ र प्याकिङ गरिएको सिमेन्ट काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, भैरवालगायतको शहरहरुमा बिक्री वितरण नियमितरूपमा भइरहेको छ । हेटौँडा सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २२ देखि व्यावसायिक उत्पादन सुरु गरी सर्वसाधारण र विकासको आयोजनालाई आपूर्ति गर्दै आएको उनले बताए ।

उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानी स्वचालित गर्दै

काठमाडौं । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन लागेको बताए । उनले अब प्रचलित कानून बमोजिम कम्पनी दर्ता,उद्योग दर्ता,विदेशी लगानी स्वीकृतका सेवाहरु स्वाचालित बनाउने व्यवस्था गरेको बताए । उनले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरु गरिएको बताए । उनले वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरु गरेसँगै उद्योग विभागको सम्पूर्ण सेवा स्वाचालित बनाउने विभागको तयारी रहेको बताए । उनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ संशोधानको तयारीमा रहेको भन्दै उक्त नियमावली कार्यान्वयनको लागि विभागले वेबमा आधारित स्वचालित प्रणाली निर्माण गरेमा जोड दिए । उनले विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्नसक्ने,लगानी स्वीकृतको जानकारी लगानीकर्ता,नेपाल राष्ट्र बैंक,कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वचालित प्रणालीमार्फत नै हुने बताए । महानिर्देशक तिवारीले लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने भएको बताए । उनले उक्त प्रणाली लागू भएसँगै नेपालमा लगानीको लागि प्रशासनिक सुधारको चरणमा रहेको भन्ने सन्देश जाने विभागले विश्वास लिएको बताए । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २ करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागेको हो । विभागले नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेसँगै कार्यान्वयन गर्ने बताएको छ । उक्त प्रणाली अन्तर्राष्ट्रिय अभ्यासमा आफैँमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक रहेको भारत,बंगलादेश लगायतका मुलुकहरुमा भएको अभ्यासले देखाएको छ ।

अब १० करोडसम्मको विदेशी लगानी स्वीकृत अनलाईनबाटै

काठमाडौं । अब १० करोड रुपैयाँसम्मका विदेशी लगानी अनलाईनबाटै स्वीकृत हुने भएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ६६ मा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था उल्लेख गरिएको थियो । सोही व्यवस्था अनुसार नै उद्योग विभागले २ करोडदेखि १० करोड रुपैयाँसम्मका विदेशी लगानीको स्वीकृती अनलाईन मार्फत गर्दै आएको छ । साविकमा भौतिक फायल मार्फत् मात्र विदेशी लगानी स्वीकृत गर्ने गरिएकोमा २०७९ श्रावण १ गते देखि अनलाईन प्रणाली मार्फत् विदेशी लगानी स्वीकृत गर्ने कार्य प्रारम्भ गरिएको छ । उक्त प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दै नेपाल सरकारका सम्बद्ध निकायहरुसँग आवद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्ने गरी विभागले तयारी गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन्। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन यस ऐन तथा प्रचलित कानून बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । प्रशासनिक सुधारकै चरणमा निकट भविष्यमा मानवीय संलग्नता विना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने प्रणाली अवलम्बन गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको निर्णय भई नेपाल राजपत्रमा सूचना प्रकाशन हुने क्रममा रहेको छ । सोको कार्यान्वयनका लागि विभागले वेवमा आधारित प्रणाली निर्माण गरेको छ । नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दाकै बखतबाट कार्यान्वयनमा लैजाने गरी विभागले आन्तरिक तयारी पूरा गरेको तिवारीले बताए । उक्त प्रणालीको प्रयोग गरी विदेशबाट पनि विदेशी लगानी स्वीकृत गराउन सकिने र विदेशी लगानी स्वीकृत गराउन उद्योग विभाग आईरहनु नपर्ने हुँदा विदेशी लगानी स्वीकृति प्रक्रिया सरल तथा सहज हुन गई सेवाप्रवाह थप प्रभावकारी हुने आशा विभागले गरेको छ । विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौता मार्फत् लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बद्ध निकायहरूलाई प्रणाली मार्फत् नै स्वचालित रुपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृती लिईरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण हुन् । अन्तराष्ट्रिय अभ्यासलाई हेर्दा पनि अटोमेसन आफैमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक हो । भारत, बङ्गलादेश लगायतका हाम्रा छिमेकी मुलुकहरुमा समेत यो प्रणाली लागू भईसकेको छ । नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रकृयालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको हो ।