सङ्कटग्रस्त अर्थतन्त्रमा आशाको किरण देखिएका छन् : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको सङ्कटग्रस्त अर्थतन्त्रमा विस्तारै आशाको किरण देखिन थालेको बताएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय विप्रेषण र पर्यटक आगमनमा उल्लेख्य वृद्धि आएको बताए । ‘विप्रेषण २५ प्रतिशतले बढेको छ, बैंकको सिडी रेसियो पनि ८५/८६ प्रतिशत छ, ब्याजदर घट्दो क्रममा छ, अर्थतन्त्रमा धेरै समस्या हुँदाहुँदै पनि केही सुधारका सङ्केत देखिँदैछन्,’ उनले भने । अध्यक्ष ढकालले शिथिल बनेको अर्थतन्त्र उकास्न सामूहिक प्रयत्नको खाँचो रहेको उल्लेख गरे । ‘अर्थतन्त्र सङ्कटमा पर्नुमा कुनै एउटा पक्ष मात्र दोषी छैन, यसका बहुआयामिक कारण छन्, यो अवस्थाबाट बाहिर निस्कन निजी क्षेत्र र सरकारले बलियो सहकार्य गर्नुपर्छ,’ उनले भने । अध्यक्ष ढकालले कोभिड-१९, रुस र युक्रेन युद्ध, नीति निर्माणमा भएका त्रुटिलगायतका कारणले आर्थिक क्षेत्रमा सङ्कट देखा परेको बताए । आफू महासङ्घको नेतृत्वमा आएको पहिलो दिनदेखि नै अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि पहल थालेको उनको भनाइ छ । ‘सरकारसँग लगातार संवाद भइरहेको छ, कसरी अर्थतन्त्रलाई गति दिन सकिन्छ भनेर हामी लागिपरेका छौँ, सरकार, नियमनकारी या कुनै संस्थालाई मात्र दोष दिएर पनि हुँदैन, सबै मिलेर सङ्कटको समाधानतिर लाग्नुपर्छ,’ उनले भने । निराशा मात्र बाँडेर नहुने भन्दै सकारात्मक कुराको प्रसार गर्नुपर्ने उनले बताए । निजी क्षेत्र र सरकारले एक अर्कालाई हेर्ने दृष्टिकोण पनि बदल्नुपर्ने उनको धारणा छ । अध्यक्ष ढकालले राज्य सञ्चालनको ठूलो हिस्सा ओगटेको निजी क्षेत्रलाई गृहमन्त्रालयको मयार्दाक्रमसमेत उपेक्षा गरिएको बताए । अर्थतन्त्रको सुधार, लगानी वृद्धि, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महासङ्घले अगुवाइ गर्ने उनको भनाइ छ ।
शुक्रबारदेखि चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु हुँदै
काठमाडौं । सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा सङ्घकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो । उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसियालगायत १० विदेशी कम्पनीले सहभागिता जनाउने सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कक्ष रहनेछन् । औद्योगिक मेसिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इञ्जीनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एन्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन प्रदर्शनीमा राखिने छन् । कक्ष बुकिङलगायत तयारीको काम अन्तिम चरणमा पुगेको बताइएको छ । विभिन्न राष्ट्रका आधुनिक प्रविधि र उत्पादन, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्ति, व्यावसायिक उत्पादक, नेपाली उद्योगका सञ्चालक, लगानीकर्ता तथा व्यावसायिक उत्पादक प्रदर्शनीको अवलोकनकर्ताका रूपमा रहने अध्यक्ष कँडेलले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीको दोस्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर तथा नेपाल उद्योग परिसङ्घका तर्फबाट ‘मेक इन नेपाल’ स्वदेशी अभियान विषयमा गोष्ठी तथा सेमिनार आयोजना गर्न लागिएको छ । आधुनिक प्रविधिको अनुशरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदान–प्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको प्रदर्शनीका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । अध्यक्ष कँडेलले उद्यमी जन्माउनका लागि प्रदर्शनी गर्न लागिएको जानकारी दिए ।
महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुुझाव लिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो । उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरु केशव आचार्य र डा. कल्पना खनाल हुन् । विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बस्यो । विज्ञ समूहको गठनबाट महासंघका सल्लाह सुुझावलाई प्रभावकारी रुपमा सरकारमा पेश गर्न थप सहयोग पुुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यक्त गरे । पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्दीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुु पर्नेमा जोड दिइएको छ ।