यी हुन् महासंघको निर्वाचनमा पक्का जित्ने एक दर्जन व्यवसायी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्य समिति चयनका लागि मतदान सम्पन्न भएको छ । बुधबार १० बजेबाट सुरु भएको मतदानमा ४ बजे नसकिएपछि दुई घण्टाका लागि थप गरिएको थियो । २ घण्टा थप भएको समयमा निर्वाचन सकिएको छ । महासंघको वस्तुगत र जिल्ला नगर संघतर्फको मतदान तोकिएको समय अगावै सम्पन्न भएपनि एसोशिएटका लागि भने ६ बजेसम्मका लागि समय तोकिएको छ । विगतका वर्षहरुमा दुइटा समूहबीच प्रतिस्पर्धा हुने गरेको भएपनि यस पटक भने तीन वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी मैदानमा छन् । महासंघको तीन वटा समूहको वस्तुगत र जिल्लानगरमा तीन/तीन जना उपाध्यक्षहरु प्रतिस्पर्धामा भएपनि एशोसिएट तर्फको उपाध्यक्षमा भने दुई जना प्रतिस्पर्धामा छन् । एशोसिएट उपाध्यक्ष पदका लागि जोत्सना श्रेष्ठ र भरत राज आचार्यबीच प्रतिस्पर्धा हुनेछ । आचार्य उमेश र अञ्जनका साझा उम्मेदवार हुन् भने ज्योत्सना संघई समूहबाट चुनावी मैदानमा छिन् । यी दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएपनि एसोशिएटतर्फको सदस्यमा भने १३ जनाको जित सुुनिश्चित जस्तै देखिन्छ । एसोसिएटतर्फको १९ सदस्य पदका लागि २९ जनाले उम्मेदवारी दिएका छन् । एशोसिएट सदस्यमा अम्बिका पौडेल, अविनाश बोहरा, आनन्द कुमार अग्रवाल (बगडिया), उज्वल कुमार श्रेष्ठ, ऋषी अग्रवाल (चैनवाला), कृष्णलाल महर्जन, गोपाल खनाल, चन्द्र प्रसाद ढकाल, चिराग गोयल, जुना माथेमा, डा. रामशरण थपलिया, देशबन्धु बस्नेत र निराजन बहादुर चलाउनेले उम्मेदवारी दिएका छन् । यस्तै, प्रवलजंग पाण्डे, बाबुकाजी कार्की, भरत रानाभाट, मनोज पौडेल, मुकुन्द प्रसाद तिमिल्सिना, रतनलाल केडिया, राज्यलक्ष्मी महर्जन शाक्य,राजेश कुमार अग्रवाल, रामशरण भण्डारी, शक्ति कुमार बेगानी, शुसिल थापा, शैलेन्द्र गुरागाईं, सन्दीप कुमार अग्रवाल, शुनिल नारायण श्रेष्ठ, हरिप्रसाद पाठक र हेमन्त गोल्छाले पनि एसोशिएट सदस्यका लागि उम्मेदवारी दिएका छन् । एसोसिएटतर्फको १९ पदका लागि २९ जनाले उम्मेदवारी दिए पनि १३ जनाको जित भने सुनिश्चित भएको धेरैले अनुमान गरेका छन् । २९ जनामध्ये १३ जनाको नाम सबै प्यानलमा छन् । तीनवटै समूह आ–आफ्नो प्यानल अगाडि सारेर सदस्यहरु पनि छुट्याएका छन् । १३ जना उम्मेदवारको नाम तीनवटै समूहमा छ । त्यसैले पनि उनीहरुको जित सुनिश्चित जस्तै भएको हो । जित सुनिश्चत हुनेमा अम्बिका पौडेल, आनन्द कुमार अग्रवाल, गोपाल खनाल, डा. रामशरण थपलिया, मनोज पौडेल, शुसिल थापा, शैलेन्द्र गुरागाईं, शुनिल नारायण श्रेष्ठ, हेमन्त गोल्छा, अविनाश बोहरा, देशबन्धु बस्नेत, पवलजंग पाण्डे र राजेश कुमार अग्रवाल देखिएका छन् । यस्तै, १३ जनाको जित सुनिश्चित हुँदा ६ जना बाँकी रहन्छन् । त्यसमा पनि ६ जनाको नाम दुइटै प्यानलमा देखिन्छ । दुइटै प्यानलमा पर्नेहरुमा जुना माथेमा, भरत राना भाट, बाबुकाजी कार्की, उज्वल कुमार श्रेष्ठ, कृष्णलाल महर्जन र रामशरण भण्डारी छन् । यी ६ जनाले पनि जित्ने सम्भावना बढी देखिन्छ ।

महासंघ निर्वाचनः वस्तुगत र जिल्लानगरको मतदान सम्पन्न, एशोसिएटको समय थप

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको दुई वटा संघतर्फको मतदान सकिएको छ । महासंघको वस्तुगत तर्फ र जिल्ला नगर तर्फ तोकिएको समय अगावै मतदान सम्पन्न भएको निर्वाचन मुख्य निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिएका छन् । । पछिल्लो विवरण अनुसार दुवै संघमा शत प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी बताए । उनका अनुसार महासंघको वस्तुगत तर्फको १२३ वटा मत रहेकोमा पुरा मत खसेको हो । यस्तै, जिल्ला/नगरतर्फ पनि शत प्रतिशत मत खसेको छ । जसमा ११७ मतदाता रहेकोमा सम्पूर्ण मत खसेको निर्वाचन अधिकृतले जानकारी गराए । पौडेलका अनुसार एशोसिएट तर्फको मतदान प्रक्रिया भने जारी रहेको छ । बिहान मतदान शुरु गर्न ढिला भएका कारण २ घण्टा समय थप गरिएको उनले बताए । उनका अनुसार १ हजार ७४८ मतदाता रहेकोमा हालसम्म ८७६ मत मात्रै खसेकाे छ । मंगलबार सुरु भएको महासंघको ५७ औँ वार्षिक साधारणसभामा नेतृत्व चयनका लागि बुधबार ढिलागरी मतदान शुरु भएको थियो । महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी मैदानमा छन् । कूल ६४ पदका लागि ११६ जनाले उम्मेदवारी दिएका छन् । जसमा जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी दिएका हुन् । महासंघको जिल्ला नगरको उपाध्यक्षमा तीन जना, वस्तुगत उपाध्यक्षमा तीन जना र एशोसिएट उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर उपाध्यक्षका लागि सुरकृष्ण उपाध्याय, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल र एशोसिएट उपाध्यक्षका लागि जोत्यसना श्रेष्ठ र भरत राज आचार्यले उम्मेदवारी दिएका हुन् । यस्तै, महासंघको जिल्ला नगर संघको १८ सदस्यका लागि ३२ जना, वस्तुगत संघको १४ सदस्यका लागि २८ जना र एशोसिएटतर्फ १९ सदस्यका लागि ३० जना गरी कूल ९० जनाको उम्मेदवारी परेको छ । महासंघको विधान अनुसार प्रत्येक प्रदेशबाट एक/एक जना सदस्य हुन पाउने व्यवस्था छ । जसमा लुम्बिनी प्रदेशबाट निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य प्रदेशमा निर्वाचन हुने भएको छ । सुदूरपश्चिम प्रदेशबाट २ जना, कर्णाली प्रदेशबाट ३ जना, गण्डकी प्रदेशबाट २ जना, बाग्मती प्रेदशबाट २ जना, कोशी प्रदेशबाट ३ जना र मधेश प्रदेशबाट २ जनाले उम्मेदवारी दिएको पौडेलले बताए ।

रोकिएको उद्योग वाणिज्य महासङ्घको मतदान पुनः शुरु, बेलुका ४ बजेसम्म हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । आज बिहान ८ बजे मतदान शुरु भएको केही समयमै हल्ला भएपछि रोकिएको मतदान प्रक्रिया अहिले फेरि शुरु भएको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए । “गैर मतदाता र बाहिरका व्यक्तिले हल्ला गरेपछि केहीबेर मतदान प्रक्रिया प्रभावित भएको थियो । अहिले शान्तिपूर्ण रुपमा चलिरहेको छ”, कर्णले भने । बिहान ८ बजे शुरु भएको निर्वाचन बेलुका ४ बजेसम्म चल्नेछ । निर्वाचनले आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहित कार्यकालका लागि नयाँ नेतृत्व चुँनिदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासङघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व सम्हाल्दै छन् भने वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ । संघई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहेका छन् । अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् साथै उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन् । एसोशिएटतर्फको उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानल र उमेशलाल श्रेष्ठ प्यानलबाट संयुक्त उम्मेदवारका रुपमा भरतराज आचार्य रहेका छन् । महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक-एक जना सदस्य रहन्छन् । जसका लागि कोशी प्रदेश सदस्यमा टङ्कप्रसाद दुलाल, नरेन्द्र कुमार खड्का र तारानाथ घिमिरेले उम्मेदवारी दिएका छन् । मधेश प्रदेश सदस्यका लागि विजय कुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारीपरेको छ । साथै बागमती प्रदेशबाट कृष्णप्रसाद अवाल र सबिन श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जंगबहादुर मल्लको उम्मेदवारी छ । संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकालको उम्मेदवारी छ । उनीहरुमध्ये एकजना निर्वाचित हुनेछन् । वस्तुगत संघतर्फको सदस्यमा २८ जनाको उम्मेदवारी परेकामा १४ जना निर्वाचित हुनेछन् । त्यस्तै जिल्ला नगर सङ्घ सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ । जसमा १८ जना निर्वाचित हुनेछन् । एशोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ । महासङ्घकाअनुसार जिल्ला नगर समूह र वस्तुगत सङ्घ समूहका लागि एउटा-एउटा मतदान केन्द्र तोकिएको छ भने एशोसिएटतर्फ तीनवटा मतदान केन्द्र तोकिएका छन् । जिल्ला नगर समूहका सबै पदका लागि रातो रङको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रङको मतपत्र र एशोसिएट समूहका सबै पदका लागि सेतो रङको मतपत्र बनाइएको छ । प्रदेश सदस्य र संस्थापक समूह सदस्य पदको मतपत्र पहेलो रङको छ । रासस