सेयरमा लगाइएको १२ करोडको सीमा हट्नु पर्छ : वरिष्ठ उपाध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले सेयरमा लगाइएको १२ करोडको सीमा हटाउनु पर्ने माग गरेका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै उनले सेयर बजारमा गरिएको कडाइ खुकुलो बनाएर चलायमान गर्नु पर्ने माग गरेका हुन् । उनले अर्थतन्त्र प्रतिस्पर्धी बनाउनका लागि विस्तारकारी मौद्रिक नीति आवश्यक रहेको बताए । साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउँदै लैजानु पर्ने उनको भनाइ छ । ‘विस्तारकारी मौद्रिक नीति आवश्यक छ, अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउनू पर्छ, न्यून ब्याजदर कायम गर्नु पर्छ, निक्षेपको ब्याज घटाउँदै लैजानु पर्छ,’ उनले भने । साथै, बैंकदर पनि कम गर्नु पर्ने उनको भनाइ छ । वैदेशीक रोजगारमा रहेका नेपालीहरुलाई थप सहुलियत दिनु प्रदान गर्नु पर्ने उनले बताए । उनले नगद ओसारपसारमा प्रहरीको हस्तक्षेप रोक्नु पर्ने माग राखे ।
३८ करोड रुपैयाँ तिर्न नसकेपछि श्रीराम सुगर मिल्सको सम्पत्ति लिलामीमा
काठमाडौं । श्री राम सुगर मिल्सले ऋण तिर्न नसकेपछि नेपाल बैंकले लिलामीमा राखेको छ । व्यापारिक घराना गोल्छा अर्गनाइजेसन र विशाल ग्रुपको लगानी रहेको श्रीराम सुगर मिल्सले ३८ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले आज एक सूचता प्रकाशित गर्दै सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको हो । हितेश गोल्छा र विशाल अग्रवाल सञ्चालक रहेको यस सुगर मिल्समा नेपाल बैंकसँगै राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चाय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक)को पनि ऋण लगानी रहेको छ । गरुडा नगरपालिका वडा नम्बर ६ मा रहेको श्रीराम सुगर मिल्सले ३८ करोड ११ हजार ७५५ रुपैयाँ बराबरको मिलमेसिनरी लिलामीमा राखेको बैंकले जनाएको छ । सुगर मिल्ससँग सम्बन्धित मिलमेसिनरी बोलकबोलमार्फत ३५ दिनभित्र लिलाम बिक्री गरिने बैंकले जनाएको छ । मिलले बैंकलाई तिर्नुपर्ने कर्जा तिर्ने विषयमा सर्त बन्देज पालना नगरेको र कर्जा लिखतको सर्त बन्देज उल्लंघन गरेकाले यी बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ ले दिएको अधिकार प्रयोग गर्दै मिलको नाममा रहेका मिलमेसिनरी जेजस्तो अवस्थामा छ, सोही अवस्थामा सहवित्तीयकरण आफैंले लिलाम बिक्री गर्न लागिएको हो । ३६औं दिन अर्थात् साउन ४ गते बोलकबोल खुला गरिनेछ ।
नवलपुरमा साइलेज उद्योग सञ्चालनमा
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकाले दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न पशु आहार (साइलेज) को उत्पादन सुरु गरेको छ । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा हरियो घाँसलाई विशेष रुपमा पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार साइलेजको उत्पादन सुरु गरेको हो । नगरपालिकाले मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमसँगको साझेदारीमा २ करोड ५० लाखको लागतमा उद्योग स्थापना गरी साइलेज उत्पादन सुरु गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । उद्योग स्थापनाले नगरपालिकासहित वरपरका पशुपालक कृषक लाभान्वित हुने तथा पशुपालनमा किसानलाई आकर्षित गर्न सकिने नगरप्रमुख न्यौपानेले बताए । ’उद्योग स्थापनाले हाल पशुपालन गरिरहेका कृषकलाई सबैभन्दा बढी लाभ हुन्छ’, उनले भने, ’पशुपालन गर्न चाहने नयाँ कृषकलाई पनि सुविधा हुने हुँदा पशुपालनतर्फ आकर्षण बढाउन अपेक्षा गरेका छौँ ।’ पशुपालनमा लागत घटाउँदै किसानको आम्दानी बढाउन यो योजनाले सहयोग पुग्ने विश्वास रहेको नगरप्रमुख न्यौपानेको भनाइ छ । नगरपालिकाले उत्पादन गरेको पशु आहार पशुपालक कृषकलाई सहुलियत दरमा बिक्री गरिने नगरप्रमुख न्यौपानेले बताए । पछिल्लो समय कतिपय पशुपालक कृषक पलायन हुने अवस्थामा पुगेका जनाउँन्दै उनले भने, ’पशुपालनमा उत्पादन लागत धेरै हुनु र आम्दानी कम हुने भएकाले कृषक पेसाबाट पलायन हुँदै गएका छन् ।’ देवचुलीमा साइलेज उद्योग स्थापनाले रोजगारीको सिर्जना गराएको नगर प्रवक्ता तिलप्रसाद काफ्लेले बताए। कृषकले बाँझो जमिनमा घाँस लगाएर उत्पादन भएको घाँस उद्योगलाई बेच्न सक्ने भएकाले उनीहरुको आर्थिक अवस्थामा सुधार पुग्ने काफ्लेले बताए । नगरपालिकाभित्रका पशुपालक कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले साइलेजको उत्पादन सुरु गरेको उनको भनाइ छ । कृषकहरुकै सहयोगमा दाना उत्पादन गर्ने र सहुलियत मूल्यमा दिने योजनाअनुसार नगरपालिकाले साइलेज उत्पादन सुरु गरेको उनले बताए। नगरपालिकाले साइलेज बनाउन यसअघि नगरभित्रका कृषकलाई मकै खेतीमा प्रोत्साहन गरेको थियो । मकै खेती गर्न कृषकलाई नगरपालिकाले बीउ, मल तथा सिँचाइका लागि अनुदानसमेत उपलब्ध गराएको नगरप्रवक्ता काफ्लेको भनाइ छ । कृषकले उत्पादन गरेको साइलेजका लागि आवश्यक पर्ने कच्चापदार्थ हरियो मकै नगरपालिकाले खरिद गर्ने उनले बताए । उद्योगमा ल्याएर आफैँले घाँस बेच्ने कृषकलाई प्रतिकिलो पाँच रुपैयाँसम्म तथा नगरपालिकाको आफ्नै स्रोतसाधन प्रयोग गरेर उद्योगसम्म कच्चापदार्थ ल्याउने व्यवस्था गर्नुपरेमा प्रतिकिलो चार रुपैयाँसम्म मूल्य दिनेगरी मापदण्ड तयार पारिएको नगर प्रवक्ता काफ्लेले बताए । उद्योगमा साइलेज उत्पादनपछि पशुपालक कृषकलाई सहुलियत मूल्यमा साइलेज प्रदान गरिने उनले बताए । नगरपालिकाले हाल उद्योगमा ४० देखि ५० किलोसम्मका साइलेज प्याकेज तयार पारिरहेको छ । यसलाई प्लास्टिकले बेरेर राखेको ६० दिनपछि पशुलाई दानाका रुपमा खुवाउन सकिने नगरपालिकाको पशु शाखा प्रमुख श्यामकृष्ण तिवारीले बताए । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईवस्तुका लागि निकै लाभदायक पौष्टिक आहार भएको तिवारीले बताए । गाईभैँसीलाई साइलेज खुवाउँदा गुणस्तरीय दूध उत्पादनसँगै पशुचौपाया पनि स्वस्थ रहने भएकाले साइलेजको प्रयोग गर्न किसानलाई प्रोत्साहित गरिने तिवारीको भनाइ छ । सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने उनले बताए । महँगो मूल्यमा पराल किनेर खुवाउने बाध्यता रहेकामा किसानलाई अब उद्योग स्थापनापश्चात् राहत पुग्ने तिवारीको भनाइ छ । रासस